हाउस र सिनेटले आफ्ना छुट्टाछुट्टै संस्करणहरूलाई मिलाएर यो सम्झौता संस्करण तयार पारेका थिए । जसलाई हाउसले गत हप्ता पारित गरेको थियो । ३ हजार पृष्ठभन्दा बढी लामो यो विधेयकमा सैनिकहरूलाई करिव ४ प्रतिशत तलब वृद्धि, पेन्टागनको हतियार खरिद प्रक्रियालाई तिब्र बनाउने सुधार, अमेरिकी गोल्डेन डोम मिसाइल रक्षा प्रणालीको विकास र सैन्य तयारीलाई बढावा दिने प्रावधानहरू समावेश छन् ।

विधेयकअनुसार ट्रम्प प्रशासनले दुई वर्षका लागि वार्षिक ४०० मिलियन डलर गरी कुल ८०० मिलियन डलर युक्रेनलाई हतियार उत्पादनका लागि छुट्याएको छ । यसले युरोप र दक्षिण कोरियामा अमेरिकी सैनिक संख्या घटाउन सहयोगी देशहरूसँग परामर्श अनिवार्य गरेको छ ।
यसबाहेक विधेयकले जहाज निर्माणका लागि २६ अर्ब डलर, विमानका लागि ३८ अर्ब डलर र गोला–बारुद उत्पादन बढाउन २५ अर्ब डलर छुट्याएको छ । विधेयकले पेन्टागनका विविधता, समानता र समावेशिता (डीईआई) कार्यालयहरू खारेज गर्ने, जलवायु सम्बन्धी खर्चमा १.६ अर्ब डलर कटौती गर्ने, १९९१ र २००२ का इराक युद्ध प्राधिकरणहरू खारेज गर्ने र सिरियामाथि अमेरिकी प्रतिबन्धहरू स्थायी रूपमा हटाउने प्रावधान राखेको छ । राष्ट्रपति ट्रम्पले आगामी दिनमा यो विधेयकमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।