एकै दिनमा टाटा सियरा एसयूभीको ७० हजार बुकिङ, यस्तो छ मूल्य र विशेषता

Dec 20, 2025 10:42 AM merolagani



नयाँ टाटा सियरा एसयूभीको बुकिङ बिहीबारदेखि खुला भएको छ । नयाँ टाटा सियरा गाडीको अर्डर उल्लेख्य देखिएको कम्पनीले जनाएको छ ।

बुकिङ खुला भएको २४ घण्टामा उक्त एसयूभीको ७० हजार बुकिङ भएको टाटा मोटर्सले जनाएको छ ।

कार निर्माता कम्पनीले लगभग १ लाख ३० हजार सम्भावित ग्राहकहरुले गाडी मन परेको भन्दै निवेदन पेश गरेका थिए । र, हालसम्म ७० हजार बुकिङ प्रक्रिया पूरा भएको हो । कम्पनीका अनुसार, २०२६ जनवरी १५ देखि बुकिङ भएका एसयूभीको डेलिभरी दिन सुरु गरिनेछ । टाटा मोटर्सले भविष्यमा यो एसयूभीको उत्पादनलाई बढाउने समेत जनाएको छ ।

मध्यम आकारको यस एसयूभीले किआ सेल्टोस, मारुती ग्रान्ड भिटारा र भिक्टोरिस, टोयोटा हाइराइडर, होन्डा एलिभेट, स्कोडा कुशाक र फक्सवागन ताइगुनसँगै हुन्डाई क्रेटाजस्ता एसयूभीसँग प्रतिष्पर्धा गर्नेछ ।

यस्ता छन् टाटा सियराको विशेषता

नयाँ १.५ लिटर पेट्रोल र १.५ लिटर टर्बो मोटर रहने अपेक्षा गरिएको छ । टाटाले नयाँ सियरामा ट्रिपल स्किन सेटअप, भेन्टिलेटेड फ्रन्ड सिटहरु, प्यानोरामिक सनरुफ, ४–स्पोक स्टेयरिङ ह्रिवल, एम्बियन्ट लाइटिङ, वायरलेस फोन चार्जरलगायतका विभिन्न सुविधाहरु समावेश गरेको छ । सियरा एसयूभी लाइनअप धेरै पावरट्रेन विकल्पहरूसँग आउनेछ, पेट्रोल–सञ्चालित (एनए) आधार भेरियन्टको लागि अनुमानित मूल्य ११ लाख रुपैयाँदेखि शीर्ष–अन्त भेरियन्टको लागि २१ लाख रुपैयाँसम्म जनाइएको छ ।

एकल मोटरको साथ सानो ब्याट्री ब्याक भएको एन्ट्री–लेभल भेरियन्टको लागि इलेक्ट्रिक संस्करणको मूल्य लगभग १८ लाख रुपैयाँ हुने सम्भावना छ र शीर्ष विशिष्ट ट्रिमको लागि लगभग २५ लाख रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।