रिलायन्स स्पीनिङ मिल्सका बारेमा छानबिन समिति गठन गरिएपनि आईपीओ निष्कासन प्रक्रिया भने नरोकिने

Dec 19, 2025 01:13 PM merolagani



रिलायन्स स्पीनिङ मिल्सको शेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निष्कासन गर्ने सम्बन्धमा भएका काम कारबाहीका सम्बन्धमा निष्पक्ष छानबिन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समिति गठन गरेको छ।

छानबिन समिति गठन गरे पनि निष्कासन प्रक्रिया भने नरोकिने नेपाल धितोपत्र बोर्डले जनाएको छ। “बोर्डले छानबिन समिति मात्रै गठन गरेको हो। समिति गठन हुँदैमा निष्कासन रोकिँदैन,” बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले मेरो लगानीसँग भने।

विनोद कुमार भट्टराईको संयोजकत्वमा बोर्ड सदस्यहरू आनन्द राज शर्मा वाग्ले र पीताम्बर भण्डारी सदस्यसहितको एक समिति बोर्डले गठन गरेको हो। समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ। समितिले आवश्यकता अनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने गरी समिति गठन गरिएको बोर्डले जनाएको छ।

अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले कम्पनीको शेयर निष्कासन प्रक्रियाका सन्दर्भमा प्रश्न उठाउँदै छानबिन गर्न हिजो नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको थियो। सोही पत्रको आधारमा बोर्डले समिति गठन गरेको हो।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि भने हालै आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ। सर्वसाधारणको लागि भने आउने सोमबारबाट शेयर निष्कासन गर्दै छ।

कम्पनीले संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री गर्दा डेडिकेटेड लाइन प्रयोग गरेबापत प्राधिकरणलाई तिर्नुपर्ने ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ दायित्व लुकाएको आरोप छ। जबकि कम्पनीले अहिले दायित्व स्वीकार गरेर प्राधिकरणलाई किस्ता बुझाउन थालिसकेको छ।