नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल

Dec 19, 2025 05:22 PM MeroLagani



नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले कर्णलाई निमित्त महानिर्देशकमा नियुक्त गरेको हो।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बनमा परेका थिए। रिक्त पदमा प्राधिकरणको वरिष्ठ कर्मचारीको तर्फबाट कर्णलाई नियुक्त गरेको हो। निमित्त महानिर्देशक कर्णले शुक्रबारदेखि कार्यभार सम्हालेका छन् ।

निलम्बित महानिर्देशक अधिकारीको कार्यकाल आगामी माघ १७ गतेसम्म छ। अदालतबाट दोषी ठहर नभएका कारणले माघ १७ सम्म नयाँ नियुक्ति गर्न नमिल्ने भएकाले कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो।

यसअघि पर्यटन मन्त्रालयका सहसचिव मुकेश ढंगोललाई पनि निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो।  प्राधिकरणकै कर्मचारी योग्य हुँदाहुँदै पर्यटनबाट कर्मचारी पठाउँदा काम गर्न असहज भएको गुनासाे बढेपछि पर्यटन मन्त्री सिन्हाले मन्त्रिस्तरीय निर्णय गर्दै कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकाे हो।