५६ अर्ब रुपैयाँ भन्दा बढीको शेयर निष्काशन गर्न ८४ कम्पनी पाइपलाइनमा, सबैभन्दा बढी जलविद्युत र उत्पादनमूलक क्षेत्रका

Dec 20, 2025 05:53 PM Merolagani



बैंक तथा बीमा क्षेत्रमा नयाँ कम्पनी आउने क्रम रोकिएपछि अब जलविद्युत र उत्पादनमूलक क्षेत्रको आईपीओ आउने क्रम बढेको छ । नेपालबाट भारतसँगै बंगलादेशमा समेत विद्युत निर्यात हुन थालेपछि विद्युत उत्पादनमा हाैसिएका छन् । साेही अनुसार धेरै जलविद्युत कम्पनी आईपीओ निष्काशन गर्न तम्सिएका छन्।

नेपाल धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा समेत सबैभन्दा धेरै जलविद्युत क्षेत्रका छन् । ती कम्पनीको सूची लामो छ । कुल ८४ वटा कम्पनी धितोपत्र बोर्डको सूचीमा आईपीओ निष्काशनको प्रतिक्षामा रहेकोमा सबैभन्दा धेरै जलविद्युत क्षेत्रका ३८ वटा कम्पनी रहेका छन् । दोस्रो धेरै आईपीओ माग्ने क्षेत्रमा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी रहेका छन् । यो समूहभित्र २१ वटा कम्पनीले आइपीओ निष्काशनको अनुमति मागेका छन् ।

कोभिडको सन्त्रास कम हुँदै गएपछि पर्यटन क्षेत्रमा पनि विस्तारै लगानी विस्तार हुन थालेको छ । सेबोनको आईपीओ पाइपलाइनमा रहेका कम्पनीमा होटल तथा पर्यटन क्षेत्रबाट समेत ७ वटा कम्पनी रहेका छन् । त्यस्तै लगानी समूहबाट ४, लघु बीमा क्षेत्रमा ३ र अन्य क्षेत्रबाट ११ गरी कुल ८४ कम्पनी आईपीओ निष्काशन अनुमतिको पर्खाईमा रहेका छन् ।

कुल ८४ वटा कम्पनीले ५६ अर्ब १८ करोड ४० लाख २९ हजार ३ सय ६१ रुपैयाँ बराबरको ३९ करोड ६९ लाख ४३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएका हुन। बोर्डमा सन्तोषनारायण श्रेष्ठ अध्यक्ष भएर आएपछि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न नदिएपनि ८४ वटा कम्पनीमा अझै आधा दर्जन भन्दा बढी कम्पनी प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति कुरेर बसेका छन् ।

 

जलविद्युत क्षेत्रबाट नुम्बर हिमालयन हाइड्रोपावरले २१८ रुपैयाँमा र सेञ्चुरी इनर्जी लिमिटेडले २७५.११ रुपैयाँमा आइपीओ निष्काशन गर्न अनुमति मागेको छ भने लगानी समूहबाट शिवम होल्डिङस् लिमिटेडले २१० रुपैयाँमा आइपीओ निष्काशन गर्न अनुमति मागेको छ । यता सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहबाट जगदम्बा स्टिल्सले ३०० रुपैयाँमा, सौर्य सिमेन्ट इन्डस्ट्रिजले २६४.५१ रुपैयाँ, रिद्धि सिद्धि सिमेन्टले २१४.१ रुपैयाँमा र हुलास इन्फ्रा लिमिटेडले ३३३.५६ रुपैयाँमा आईपीओ निष्काशन गर्न आवेदन दिएको छ ।