चीनले समुन्द्रमुनी सुनखानी फेला पार्यो, विश्वकै सुन उत्पादन, वितरण प्रणाली र मूल्य प्रभावित हुनसक्ने

Dec 21, 2025 06:21 PM mero lagani



विश्वव्यापीरुपमा सुनको मूल्य आकासिइरहेको बेला विश्वको दोस्रो धनी देश चीनले समुद्रमुनी सुन खानी फेला पारेको छ । यसले विश्वभरको सुन उत्पादन, वितरण प्रणाली र मूल्यको समग्र प्रणालीलाई नै प्रभाव पार्न सक्ने बताइएको छ । 

यो चीनले समुद्र मुनी फेला पारेको पहिलो सुन खानी हो ।

भण्डार सान्दोङ प्रान्तको लाइझोउको समुद्र तटमा फेला परेको सुन खानीमा कति सुन छ भन्ने यकिन नभए पनि त्यो कम्तिमा अहिले ३९०० टनभन्दा बढी रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

 

यस अघि नोभेम्बरमा, चीनले उत्तरपूर्वी प्रान्त लियाओनिंगमा १,४४४.४९ टन भन्दा बढी कम ग्रेडको सुन भण्डार फेला पारेको थियो। यो सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि फेला परेको सबैभन्दा ठूलो सुनको भण्डार भएको बताइएको छ ।

यसबाहेक, नोभेम्बरमा, सिन्जियाङ नजिकै उइघुर स्वायत्त क्षेत्रको पश्चिमी सीमा नजिकै कुनलुन पर्वतमा पनि १००० टन भन्दा बढी सुनको भण्डार फेला पारिएको थियो । यसअघि नोभेम्बर २०२३ मा सान्दोङ प्रान्तले चीनको कुल सुनको भण्डारको एक चौथाइ फेला पारेको र जियाओदोङ प्रायद्वीपमा ३,५०० टन भन्दा बढी सुनको भण्डार फेला परेको बताएको थियो। जियाओदोङ प्रायद्वीप विश्वको तेस्रो ठूलो सुन खानी क्षेत्र हो ।

चीन सबैभन्दा धेरै सुन उत्पादक देशमध्ये एक हो । गत वर्ष यहाँ ३७७ मेट्रिक टन सुन उत्पादन भएको थियो । यद्यपि, चीन अझै पनि सुनको भण्डारको मामिलामा दक्षिण अफ्रिका, अष्ट्रेलिया र रुस जस्ता देशहरूभन्दा पछि छ र उत्पादनमा अगाडि छ । यो खाडल कम गर्न चीनले निरन्तर प्रयास गरिरहेको छ ।