१ सय कम्पनीले घोषणा गरे लाभांश, कुनकाे कति ?

Dec 28, 2025 05:17 PM Merolagani



कम्पनीले ऐनले दिएको समय सीमा घर्किनै लाग्दा लाभांश घोषणा गर्ने कम्पनीहरुको संख्या १ सय हाराहारी पुगेको छ । साधारण सभा बस्ने समय नजिकिएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रमलाई तीब्रता दिएका हुन।

कम्पनी ऐनअनुसार आर्थिक वर्ष सकेको ६ महिना भित्र साधारण सभा सक्नुपर्छ । साधारण सभा पेश गरिने विभिन्न प्रस्तावहरु मध्ये लाभांश सम्बन्धी प्रस्ताव एक प्रमुख हो । सूचीकृत कम्पनीहरुले सञ्चालक समितिले लाभांश पारित गरेर नियामक निकायबाट स्वीकृत भएपछि साधारण सभाको सूचना प्रकाशित गर्नुपर्छ। सूचना प्रकाशित गर्दा कम्तिमा २१ दिन अगाडि सार्वजनिक सञ्चार माध्यममा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये अहिलेसम्म १ सय वटा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । अहिलेसम्म १३ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ३ वटा फाइनान्स कम्पनी, ४ वटा होटल, ६ वटा लगानी समूहको कम्पनी, २१ वटा हाइड्रोपावर, १० वटा जीवन बीमा समूह, ६ वटा उत्पादनमूलक समूहका कम्पनी, २१ वटा लघुवित्त, ७ वटा निर्जीवन बीमा कम्पनी र २ अन्य क्षेत्रको कम्पनी गरेर १ सय वटा कम्पनीले लाभांश घोषणा गरेका छन्।

वाणिज्य बैंक समूहमा अहिलेसम्म प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी र नेपाल बैंकले लाभांश नदिने घोषणा गरेका छन् । एनआईसी एसिया बैंकले भने अहिलेसम्म लाभांश सम्बन्धी घोषणा सार्वजनिक नगरे पनि गत वर्षको वितरणयोग्य नाफा ऋणात्मक रहेकाले दिन सक्ने अवस्थामा छैन । वाणिज्य बैकमध्ये सबैभन्दा बढी लाभांश एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश गरेर २० प्रतिशत लाभांश घोषणा गरेकाे छ । दोस्रो स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेकाे छ ।

विकास बैक समूहमध्ये अहिलेसम्म मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी १३.५३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगद गरी १८.२ प्रतिशत लाभांश दिएकाे छ । दोस्रोमा १० प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद गरेर कामना सेवा विकास बैंकले कुल १५.८ प्रतिशत लाभांश घोषणा गरेकाे छ । ग्रिन डेभलपमेन्ट बैंकले ८.०४ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरेर विकास बैंकमा सबैभन्दा कम ८.४६ प्रतिशत लाभांश घोषणा गरेकाे छ ।

यता फाइनान्स समुहमा श्री इन्भेष्टमेन्ट, मञ्जुश्री फाइनान्स र आईसीएफसी फाइनान्सले मात्रै लाभांश घोषणा गरेका छन् भने होटल समूहमा सोल्टी, तारागाउँ रिजेन्सी, कालिन्चोक दर्शन र चन्द्रागिरी हिल्सले लाभांश घोषणा गरेका छन् । कालिन्चोक र चन्द्रागिरीले पहिलोपटक लाभांश घोषणा गरेका हुन्।

हाइड्रोपावर समूहमा अहिलेसम्म २१ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । हाइड्रोपावर समूहमा झन्डै १ सय हाराहारीमा कम्पनी सूचीकृत भए पनि लाभांश घोषणा गर्ने कम्पनी भने कमै देखिन्छ । हाइड्रोपावर समूहमा साहस ऊर्जा, माउन्टेन इनर्जी नेपाल जस्ता कम्पनीले २० प्रतिशत भन्दा बढीको लाभांश घोषणा गरेका छन् । मिड सोलु हाइड्रोपावर, रुरु जलविद्युत, सिक्लेस हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रापावरले १५ प्रतिशतको हारारीमा लाभांश दिएका छन् । हाइड्रोपावर समूहमा न्यूनतम ५ देखि २१ प्रतिशतसम्मको लाभांश घोषणा गरेको तथ्यांक छ ।

लगानी समूहमा सीइडीबी होल्डिङ्स लिमिटेडले बाहेक सबै ६ वटै कम्पनीले लाभांश घोषणा गरेका छन् । लगानी समूहमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले ४० प्रतिशत बोनस र २.११ प्रतिशत नगद गरी कुल ४२.१ प्रतिशत लाभांश घोणाा गरेको छ भने सबैभन्दा कम हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले डेढ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी कुल साढे ३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

पछिल्लो समय बीमा कम्पनीहरुले पनि समयमै लाभांश घोषणा गर्न थालेका छन् । गत वर्षसम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स बाहेक कसैले पनि समयमा लाभांश घोषणा गरेर साधारण सभा नगरेकोमा यस वर्ष जीवन बीमा तर्फ १० वटा र निर्जीवन बीमातर्फ ७ वटा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । नेपाल लाइफ, सन नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र सिटिजन्स लाइफले २० प्रतिशतभन्दा माथिको लाभांश घोषणा गर्दा सबैभन्दा कम प्रभु महालक्ष्मी लाइफले ८.४२ प्रतिशत लाभांश दिएकाे छ। यसपटक बीमा कम्पनीहरुले नगद लाभांशलाई बढी जोड दिएको देखिएको छ । जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, सन नेपाल लाइफ, नेसनल लाइफ र प्रभु महालक्ष्मी लाइफले मात्रै बोनस सहित नगद लाभांश घोषणा गरेका हुन् ।

यता निर्जीवन बीमा कम्पनीमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले सबैभन्दा बढी २५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने सबैभन्दा कम शिखर इन्स्योरेन्सले ६.३२ प्रतिशत लाभांश घोषणा गरेको छ । निर्जीवन बीमा कम्पनीमध्ये शिखर र एनएलजीले मात्रै बोनस शेयर घोषणा गरेका छन् ।

लघुवित्त समूहमा सबैभन्दा बढी छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश घोषणा गरेकाे छ। कम्पनीले साढे १२ प्रतिशत बोनस र साढे १२ प्रतिशत नगद गरेर कुल २५ प्रतिशत लाभांश घोषणा गरेको हो । लाभांश घोषणा गरेका २१ लघुवित्तमध्ये ७ वटा कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेका छन् । लघुवित्तमा मेरो, महुली, ग्लोबल आईएमई लघुवित्तले सबैभन्दा कम ५ प्रतिशत मात्रै लाभांश घोषणा गरेका छन् ।

यता उत्पादन तथा प्रशोधन समूह अन्तर्गत ६ वटा कम्पनीमध्ये सबैभन्दा बढी युनिलिभर नेपालले १८ सय ४२ प्रतिशत नगद लाभांश दिएको छ भने सबैभन्दा कम घोराही सिमेन्टले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेकाे छ।

अन्य समूहमध्ये अहिलेसम्म मुक्तिनाथ कृषि कम्पनी र नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश घोषणा गर्दा मुक्तिनाथ कृषि कम्पनीले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ ।