साउनयता ३९३ मेगावाट बिजुली उत्पादन, राष्ट्रिय प्रणालीमा ४ हजार मेगावाटको जडित क्षमता

Dec 28, 2025 01:08 PM merolagani



चालू आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म ३९३ मेगावाट बिजुली उत्पादन भइ राष्ट्रिय ग्रीडमा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, साउनयता अहिलेसम्म १४ वटा जलविद्युत् आयोजनाबाट उक्त बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

चालू आर्थिक वर्षमा सरकारले एक हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये चालू आवमा ६५० मेगावाटका विभिन्न आयोजना निर्माण सम्पन्न भइ विद्युत् उत्पादन हुने अपेक्षा गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।

‘चालू आवको हालसम्म १४ वटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भइ ग्रीडमा जोडिइसकेको छ । त्यसबाट ३९३ मेगावाट बिजुली ग्रीडमा थपिएको छ,’ उनले भने, ‘आउँदो असारसम्म थप ६५० मेगावाट विद्युत उत्पादन हुने अपेक्षा गरेका छौं ।’

योसँगै राष्ट्रिय प्रणालीमा ४ हजार मेगावाट बिजुली जडित भएको छ ।