रवि–बालेनलक्षित काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन्

Dec 28, 2025 01:05 PM Merolagani



नेपाली काँग्रेसका नेता किशोर सिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरुलाई चुनौति दिएका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो चुनौति दिएका हुन् ।

उनले केही वर्षअघि मात्रै खुलेका जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीहरुको उदाहरण दिँदै १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौति दिए। उनले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुले जनताको अधिकार, विकास दिएको बताउँदै सहकारी ठग र गँजेडीहरुले देश चलाउन नसक्ने टिप्पणी गरे ।

उनले भने, ‘यि नयाँ पार्टीहरु कुरा ठूला गर्छन्, चर्काचर्का कुरा गर्छन् । १० वर्ष पार्टी चलाएर देखाउन् । त्यसपछि कुरा गरौँला । ५ वर्ष चलाउन सकेका छैनन् । सबैले राजनीति गर्न पाउने अवस्था सिर्जना गर्न नै हामीले यति लामो संघर्ष गरेका हौँ । युक्रेनमा हिजो एउटा पपुलिस्ट कलाकारलाई राष्ट्रपति बनाउँदाको परिणाम आज जे भोगिरहेको छ, नेपालमा पनि यि गैरजिम्मेवार पार्टी, सहकारी ठग, दलाल, गँजेडीहरुले हामी ८० वर्ष लामो संघर्ष गरेको पार्टीले विकास, जनतालाई अधिकार दियौँ । भ्रष्टाचार नियन्त्रण मात्रै हामीले गर्न सकेका छैनौँ । भ्रष्टाचार नियन्त्रण अहिले पनि हुन सकेको छैन । भोलि आउने सरकारले पनि गर्न सक्दैन । ’

उनले पार्टीको १४ औं महाधिवेशनमा पराजय व्यहोरेकाहरुले चिच्याएर बोल्न जरुरी नरहेको बताए । फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने चेतावनी दिए ।