घरमा धारा बिग्रिँदा प्लम्बर खोज्नुपर्ने, बिजुलीको समस्या आएपछि इलेक्ट्रिसियन बोलाउनुपर्ने वा बिउटिपार्लर जान समय नहुँदा बिउटिसियनलाई घरमै बोलाउनुपर्ने अवस्था धेरैको दैनिक जीवनसँग जोडिएको छ। यस्ता सबै सेवा एउटै प्लेटफर्मबाट छिटो र सजिलै उपलब्ध गराउने उद्देश्यले ‘भेटायो एप’ सञ्चालनमा ल्याइएको हो।

पाइप तथा अन्य मर्मतसम्भारका कामका लागि नजिकको हार्डवेयर धाउनुपर्ने झन्झटको समाधान खोज्ने क्रममा जन्मिएको भेटायो एप हाल प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। ‘भेटायो’ शब्दले समस्याको समाधान खोज्नुलाई जनाउँछ। समयमै भरपर्दो सेवा पाउन कठिन भइरहेको अवस्थामा उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गरी ग्राहकसँग सहज रूपमा जोड्ने अनलाइन प्लेटफर्मको रूपमा यस एपको विकास गरिएको हो।
भेटायो एपमार्फत हाल १५ प्रकारका घरेलु सेवा उपलब्ध छन्। एपका सह–संस्थापक रोचन मान महर्जनका अनुसार ग्राहकहरूले खोजिरहेका धेरै घरेलु सेवाहरू औपचारिक संरचनाभित्र नसमेटिएको अवस्थामा रहेकाले ती सेवाहरूलाई व्यवस्थित र पहुँचयोग्य बनाउन एप ल्याइएको हो। साथै दक्ष प्लम्बर र इलेक्ट्रिसियनहरूलाई स्वदेशमै सम्मानजनक आम्दानीसहित काम गर्ने वातावरण सिर्जना गर्नु पनि एपको मुख्य उद्देश्य रहेको उनले बताए। हाल भेटायो एपमा आबद्ध सेवा प्रदायकहरूले मासिक डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गरिरहेको महर्जनको भनाइ छ।
विगत चार वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको भेटायो एप हाल काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका सहरी क्षेत्रमा सञ्चालनमा छ। निकट भविष्यमा पोखरामा पनि सेवा विस्तार गर्ने योजना रहेको छ। हालसम्म एपमार्फत २० हजारभन्दा बढी सेवा प्रदान भइसकेका छन्। तथ्यांकअनुसार करिब १२ हजार ग्राहकले पटक–पटक सेवा लिएका छन्, जसमा अधिकांशले वर्षमा दुईदेखि तीन पटकसम्म सेवा लिने गरेका छन्। हाल एपमा २०० भन्दा बढी सेवा प्रदायक आबद्ध छन्।
भेटायो एपमार्फत कुनै पनि घरेलु सेवाको बुकिङ गर्दा ग्राहकबाट बुकिङ चार्ज लिइँदैन। यसबारे महर्जन भन्छन्, “हामीले सेवा प्रदायकलाई लोकेसन अनुसार नजिकैबाट सेवा दिन मिल्ने व्यवस्था गरेका छौँ, जसले यातायात खर्च घटाउँछ। साथै, हाम्रो प्रोफेसनल कल सेन्टर टिमले पहिलो सम्पर्कमै ग्राहकलाई विश्वास दिलाउने काम गर्छ। यही कारणले प्रदायक र ग्राहक दुवैलाई जोडेर राख्न सफल भएका छौँ।”
सेवाको शुल्कका बारेमा उनले सरकारले तोकेको मूल्यमा पाँचदेखि १० प्रतिशत मात्र थप गरी शुल्क लिइने बताए। गुणस्तर सुनिश्चित गर्न भेटायो एपले प्रमाणित र अनुभवी कामदारलाई मात्रै एपसम्बन्धी तालिम दिएपछि सेवा प्रदान गर्न अनुमति दिन्छ। साथै, सेवा लिएका ग्राहकलाई एक महिनाको सर्भिस वारेन्टी दिइने र सेवा पश्चात रिभ्यु कलसमेत गरिने व्यवस्था छ, जसले एपको विश्वसनीयता थप मजबुत बनाएको छ।
सबै प्रकारका मर्मतसम्भार तथा घरेलु सेवा एउटै एपबाट पाउनु, गुणस्तरीय सेवा, एक महिनाको वारेन्टी र सजिलो प्रक्रिया भएकै कारण ग्राहकहरू भेटायो एपप्रति आकर्षित भएको देखिन्छ। डिजिटल प्रविधिमार्फत घरेलु सेवामा नयाँ अभ्यास स्थापित गर्दै भेटायो एप नेपाली बजारमा भरोसायोग्य प्लेटफर्मको रूपमा अघि बढिरहेको छ।
भिडियाकाे लागि
