रास्वपामा बिच्किएका कुलमानको अलग्गिने तयारी, उपसभापति वाग्लेको बिरोधका बीच राप्रपा प्रवक्ता शाहीलाई पार्टी प्रवेश गराउने तयारी

Jan 07, 2026 04:11 PM mero lagani



बहुमतको सरकार बनाउने दावी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको हलचल कायम छ ।

विवेकशीललगायतका राजनीतिक पार्टीहरुसँग सहजतापूर्वक एकता गरेको रास्वपाले काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साह र उर्जा मन्त्री कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँग एकीकरणको घोषणा गरे पनि टुंगोमा पुग्न नसक्दा पार्टी नेता कार्यकर्ताहरु भने अन्योलमा परेका छन् । समानुपातिक उम्मेदवार चयनमा भएको विवादले पार्टीको एकीकरण प्रकृयालाई समेत ओझेलमा पारेको छ । विवाद बढेपछि समानुपातिक सूचीमा राखिएका ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने अरु केही उम्मेदवारीहरुले फिर्ता लिने सम्भावना रहेको पार्टीका नेता कार्यकर्ताहरु बताउँछन् ।

त्यसक्रममा पछिल्लो समय घिसिङ र उज्यालो नेपाल पार्टीले सम्मानजनक एकता नभएको भन्दै एकता प्रकृयाबाट पछाडि हट्ने तयारी गरिरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा पूर्वसांसद ज्ञानेन्द्र शाही भने रास्वपा प्रवेश गर्ने तयारी गरिरहेका छन् ।

घिसिङ निकट स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछानेले बालेनलाई महत्व दिँदै आफूहरुलाई कम आंकेको भन्दै घिसिङले एकता प्रकृयामै नजाने मनस्थिति बनाएका छन् । त्यहीकारण २ दिन अघि राष्ट्रिय सभागृहमा भएको पार्टी प्रवेश कार्यक्रममा उक्त घिसिङ निकट कुनै पनि नेता कार्यकर्ता उपस्थित भएनन् भने एकता पछि उपाध्यक्ष बनाइएका उनले आफू अहिलेसम्म कुनै पार्टीको सदस्य नरहेको दावी गरेका छन् । ‘समानुपातिकको उम्मेदवारी दर्ता भइसकेकोले मिलेसम्म मिलेरै जाउँ भन्ने हो । तर एकताको नाममा अपमानित हुनुभन्दा समानुपातिक उम्मेदवारी प्रकृयालाई बेवास्ता गरेर पनि जानुपर्छ, झुकेर सम्झौता गर्नुहुदैन भन्ने हाम्रो अडान हो’ उज्यालो नेपालका एक नेताले मेरो लगानीसँग भने ।

उनकाअनुसार रास्वपा सभापति लामिछाने र बालेनले एकताको नाममा आफूहरुलाई अल्मलाएर राजनीतिक अस्तित्व नै समाप्त गरिदिने प्रयास गरेको कुलमान र उनको टीमले ठहर गरेको छ । ‘उनीहरु त्यसमा केही हदसम्म सफल पनि देखिएका छन्, किनकी एकताको नाममा हामी अल्मलियौं, यता न उताका भयौं । यो हामी माथि गरिएको षडयन्त्रको रुपमा बुझेका छौं ।’ उनले भने—एकताको नाममा षडयन्त्रको शिकार भए पनि हामी झुक्दैनौं, अत्तालिंदैनौ । एकदुई दिनभित्रै उज्यालो नेपाल पार्टी एकता प्रकृयाबाट अलग भएर आफ्नो ढंगले अगाडि बढ्ने घोषणा गरे आश्चर्य मान्नु पर्दैन ।

यता, राप्रपा प्रवक्ता तथा पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपा प्रवेश गर्ने तयारी गरिरहेकाछन् । उनले राजसंस्था र धर्म निरपेक्षताको एजेन्डा छोडेर रास्वपा प्रवेश गर्न तयार भएको बताइएको छ ।

शाहीले हालै राप्रपाको समानुपातिक सूचीलाई लिएर सामाजिक सञ्जालमा कडा असन्तुष्टि पोखेका थिए । उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी सरस्वती लामा र युवा नेतृ खुस्बु ओलीलाई बन्दसूचीमा पहिलो प्राथमिकतामा राखिएकोमा आक्रोस व्यक्त गर्दै आएका छन् ।

शाहीले आफूसँग निकट रास्वपाका उच्चस्तरकै नेताहरूसँग ‘एकता’ का विषयमा छलफल गरिरहेको स्रोतहरू बताउँछन् । शाहीको रास्वपा सभापति रवि लामिछानेसँग व्यक्तिगत स्तरमा राम्रो सम्बन्ध छ । रवि कास्की प्रहरीको हिरासतमा रहँदा नै उनी भेट्न पुगेका थिए भने नख्खु कारागारमा गएर पनि रविलाई भेटेका थिए । उनले रविको पक्षमा सार्वजनिकरुपमा बयान पनि दिए । केहीअघि मात्रै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग पनि छलफल गरेका थिए ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसँग भने शाहीको सम्बन्ध राम्रो छैन । शाहीले वाग्लेलाई ‘विदेशी दलाल, ‘एमसीसीका मतियार’ आदि भन्दै कडा आलोचना गर्ने गरेका थिए भने वाग्लेले भने शाहीलाई मन पराउँदैनन् । त्यहीकारण उनलाई रास्वपामा प्रवेश गराउनै नहुनेमा वाग्लेले अडान लिदै आएका छन् । उनको आपत्तिको बावजूद सभापति लामिछाने र बालेनको जोडबलमा उनलाई पार्टी प्रवेश गराउने तयारी भइरहेको बताइएको छ ।