साताको अन्तिम कारोबार दिन बिहीबारको कारोबार सकिएसँगै अब आगामी सोमबार मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नियमित कारोबार सुचारु हुनेछ।
भोलि शुक्रवार (पुस २५ गते) शेयर बजार नखुल्ने र पर्सि शनिवार (पुस २६ गते) साप्ताहिक बिदा परेकाले बजार बन्द रहनेछ। त्यसैगरी, आउँदो आइतबार पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सो दिन पनि शेयर बजारमा कुनै कारोबार हुने छैन। यसअनुसार लगानीकर्ताहरूले अब तीन दिनको बिदापछि अर्थात् आगामी सोमबार पुस २८ गते बिहान ११ बजेदेखि मात्रै शेयर खरिद-बिक्री गर्न पाउनेछन्।
बिदाका कारण शेयर बजारसँगै बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू समेत आइतबारसम्म बन्द रहने भएकाले बजारमा हुने राफसाफका कामहरू पनि सोमबारपछि मात्रै प्रक्रियामा जानेछन्। साताको अन्तिम दिन बिहीबारको बजार परिसूचक र कारोबार रकमको प्रभाव अब सोमबार खुल्ने बजारमा देखिने छ।