यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM MeroLagani



बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।

गत आवको साधारण सभाको लागि नेप्सेमा सूचीकृत ९७ वटा हाइड्रोपावर कम्पनीमध्ये पुस मसान्तसम्म ७८ वटा हाइड्रोपावर कम्पनीले साधारण सभा गर्ने सूचना प्रकाशित गरेका छन् । १९ वटा कम्पनीले समयमा साधारण सभाको सूचना प्रकाशित गरेका छैनन । कम्पनी ऐन अनुसार कुनै पनि कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्नुपर्छ ।

साधारण सभाको घोषणा गरेका ७८ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले मात्रै लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश दिने अधिकांश हाइड्रोपावर कम्पनीले बोनस लाभांशलाई नै जोड दिएका छन् । अधिकांशले बोनस शेयरको कर प्रयोजनको लागि मात्रै थोरै नगद लाभांश घोषणा गरेका छन्। गत आवको नाफाबाट शेयरधनीले खातामा नगद लाभांश पाउने गरी लाभांश घोषणा गर्ने कम्पनीमा भने भगवती हाइड्रोपावर र चिलिमे हाइड्रोपावर मात्रै रहेका छन् । चिलिमे हाइड्रोपावर हरेक वर्ष बोनस र नगद लाभांश मिश्रित लाभांश दिने कम्पनीमा पर्दछ ।

एक त अधिकांश हाइड्रोपावर कम्पनीले लाभांश नै दिएका छैनन भने दिएका कम्पनीले पनि अधिकतम २२ प्रतिशतसम्म मात्रै लाभांश दिएको छ । गत वर्ष २० प्रतिशतभन्दा बढी लाभांश दिने तीन वटा हाइड्रोपावर कम्पनी रहेका छन् । साहस ऊर्जाले २२.१० प्रतिशत, माउन्टेन इनर्जी नेपालले २१.०५ प्रतिशत र भगवती हाइड्रोपावरले २० प्रतिशत हाइड्रोपावर रहेका छन् । रुरु, सिक्लेस, अप्पर हेवा खोला, मिड सोलु हाइड्रोपावरले १५ प्रतिशतको हाराहारीमा लाभांश बाँड्दा कुथेली बुखारी, सिनर्जी पावर डेभलपमेन्ट, युनिभर्सल पावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स अरुण भ्याली हाइड्रोपावर, र कालिका पावरले ७ देखि १० प्रतिशतसम्म लाभांश दिएका छन्। अपि पावर, विन्द्यवासिनी हाइड्रोपावर, युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपवार र बरुण हाइड्रोपावरले भने ५ प्रतिशतको हाराहारीमा लाभांश दिएका छन् ।

साधारण सभा गर्ने हाइड्रोपावर कम्पनीमध्ये २४ वटा कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभामा राखेका छन् । न्यूनतम चुक्ता पुँजीको ३० प्रतिशतदेखि १५० प्रतिशतसम्म हकप्रद शेयर निष्काशन गरेर पुँजी बढाउने प्रस्ताव गरेका छन् । केहीले पुराना ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेका छन् भने कुनै हाइड्रोपावरले भने हकप्रद शेयरमार्फत संकलन गरेको रकम नयाँ हाइड्रोपावरमा लगानी गर्ने प्रस्ताव गरेका छन् । लाभांंश पनि दिएर हकप्रद शेयर दिने हाइड्रोपावर भने ७ वटा रहेका छन् ।

यी हुन साधारण सभामा हकप्रद प्रस्ताव गर्ने कम्पनीहरु

अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनीले साधारण सभामा १ बराबर १.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनी चुक्ता पुँजी अहिले ५० करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको छ ।

साहस ऊर्जा, सिक्लेस हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रोपावर, युनिभर्सल पावर, विन्द्यवासिनी हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, मेन्छियम हाइड्रोपावर, मायाखोला हाइड्रोपावर र माइखोला हाइड्रोपावरले साधारण सभामा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेका छन् ।

हकप्रद निष्काशनको प्रस्ताव गर्ने हाइड्रोपावर : २४ वटा
लाभांश दिने हाइड्रोपावर कम्पनी:१८ वटा
साधारण सभा आह्वान गर्ने हाइड्रोपावर:७८ वटा
साधारण सभा नगर्ने हाइड्रोपावर: १९ वटा
लाभांशसँगै हकप्रद शेयर निष्काशन गर्ने हाइड्रोपावर कम्पनी:  ७ वटा

 

अपि पावरले ३० प्रतिशत, अरुण काबेली र सुपर मादी हाइड्रोपावरले ५० प्रतिशत, मैलुङ खोला जलविदद्युत कम्पनीले ७० प्रतिशत, सयपत्री हाइड्रोपावले ७४ प्रतिशत, रुरु जलविद्युतले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेका छन् । अधिकांशले ऋण तिर्नको लागि हकप्रद निष्काशन गर्ने बताए पनि केहीले भने नयाँ आयोजनामा लगानी गर्नको लागि हकप्रद निष्काशन गर्न लागेका हुन् ।

गत आवमा हाइड्रोपावरमा सबैभन्दा बढी लाभांश दिएको साहस ऊर्जाले अन्य हाइड्रोपावरमा लगानी गर्नकै लागि १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले ३ सय ४१ मेगावट क्षमताको बुढीगण्डकी अर्ध जलाशययुुक्त जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

रुरु जलविदुत परियोजनाले पनि १० प्रतिशत बोनस शेयर दिएर पुँजी वृद्धि गरेको भए पनि फेरि ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । सो रकम कम्पनीले सुम्निा हाइड्रोपावर अन्तर्गतका अपर पिखुवा जलविद्युत र पिखुवा पशुपति जलविद्युत आयोजना लगानी गर्ने कम्पनीले जनाएको छ । रुरु जलविद्युतले सुम्निाको ५१ प्रतिशत हिस्सा लिनेछ ।

सिक्लेस हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावर दुवैले १५ प्रतिशत बोनस शेयर दिएर पुँजी वृद्धि गरे पनि फेरि १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीका अनुसार हकप्रदबाट उठेको रकम अन्य आयोजनामा लगानी गर्ने जनाएको छ ।

युनिभर्सल पावरले ९ प्रतिशत बोनस शेयर दिएर पुँजी वृद्धि गर्नुका साथै १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन जारी गरेर थप रकम संकलन गर्दैछ । कम्पनीले सो रकम ७०.४४ मेगावाटको छुजुङ खोला जलविदुत आयोजनामा लगानी गर्ने जनाएको छ ।

अपी पावरले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर तथा ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । सो रकम कम्पनीले ५० मेगावटको मरस्याङदी बेसी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।

यता विन्द्यवासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनससँगै शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेर संकलन गरेको रकम ऋण भुक्तानीसँगै अन्य आयोजनामा लगानी गर्ने जनाएको छ । कम्पनीले नयाँ आयोजना भने सार्वजनिक गरेको छैन ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।