विदेशी लगानीकर्ता नभएकाले इरान अमेरिका युद्धका कारण प्रत्यक्षरुपमा नेपाली शेयर बजारबाट लगानीकर्ता फिर्ता हुने सम्भावना छैन । तर, त्यसले आन्तरिक लगानीकर्ताहरुमा भने मनोवैज्ञानिकरुपमा त्रास सिर्जना गर्ने भने निश्चित छ ।
किनकी युद्धका कारण विश्वभरका लगानीकर्ताहरु आतंकित भइरहेका छन् र विश्वभरका शेयर बजारमा अनिश्चितता देखिएको छ । त्यसको प्रभावबाट नेपाली लगानीकर्ता अछुतो रहन सक्ने सम्भावना निकै कम छ । जब लगानीकर्ताहरु मानसिकरुपमा दबाबमा आउँछन्, तब शेयर बजारमा ‘पेनिक सेलिङ’ अर्थात् जवर्जस्त बिक्री गर्ने प्रवृत्ति हावी हुन्छ । उनीहरुले छिटो–छिटो शेयर बेच्छन् जसले बजारमा ठूलो गिरावट ल्याउँछ । यस्तो अवस्था प्रायः युद्ध, आर्थिक संकट, महामारी, बैंकिङ संकट वा राजनीतिक अस्थिरताका बेला देखिन्छ।
नेपालसहित विश्वका लगभग हरेक देशमा बेला बेलामा यस्ता ‘पेनिक सेलिङ’का अवस्थाहरु सृजना हुन्छन् र बजारलाई अस्तव्यस्त बनाउने गरेका अनेकौं दृष्टान्तहरु छन् । सन् १९८७ को ‘कालो सोमबार’, पहिलो इराक अमेरिका युद्धको समय, इराक इरान युद्धको समय, सन् २००८ को आर्थिक मन्दी, कोरोना महामारीको समयमा शेयर बजारमा आएको गिरावट ‘पेनिक सेलिङ’का प्रमुख दृष्टान्तहरु मानिन्छन् । नेपालमा पनि यस्ता ‘पेनिक सेलिङ’का घटना बेला बेलामा दोहोरिने गरेका छन् । त्यसबाट बिचल्लीमा पर्नेहरुको संख्या पनि ठूलो छ । ‘पेनिक सेलिङ’को लहरले धेरैलाई डुबाएको बेला त्यसलाई मौकाको रुपमा उपयोग गरेर कुस्त कमाउनेहरु पनि नभएका होइनन्, तर तिनीहरु गुमाउनेहरुको तुलनामा थोरै छन् । अर्थात् ‘पेनिक सेलिङ’को प्रवृत्तिले धेरैलाई विचल्लीमा पार्छ भने थोरैलाई मालामाल बनाउँछ ।
अहिले इरान अमेरिका युद्धको कारण विश्वको राजनीतिक र आर्थिक अवस्था अनिश्चियको भूमरीमा परिरहेको बेला नेपालमा चुनाव हुँदैछ । र, त्यहीकारण झण्डै एकसाताको लामो विदा पनि छ । चुनाव पछिको राजनीतिक अवस्था के होला ? प्रधानमन्त्री, अर्थमन्त्री कुन पार्टीको को को होलान र उनीहरुले देशको अर्थतन्त्रलाई कसरी अगाडि बढाउलान् ? कसैले पनि अनुमान गर्न सक्ने अवस्था छैन । त्यसकाे अर्थ के हो भने चुनाव पछि पनि राजनीतिक र आर्थिक क्षेत्रको अन्योल सहजै हट्न सक्ने अवस्था देखिदैन । त्यसैले सबैको एउटै कामना के हो भने अवस्था यहाँ थप नबिग्रिओस्, जुन जुन पार्टीले चुनाव हारे पनि, जिते पनि देश थप अनिश्चिततामा नपरोस् । आम नेपालीले गरिरहेको कामना वा भाकल यति मात्र हो ।
यस्तो अवस्थामा शुरु भएको इरान अमेरिका युद्धले विश्वभर आतंक फैलाइरहेको छ । युद्ध कति समय चल्ला र त्यस्ले कति भयानक अवस्था सृजना गर्ला यसै भन्न सकिदैन, तर चुनाव र होलीको रंगीन वातावरणको बीचमा यो साताको लामो विदा नेपाली लगानीकर्ताहरुको लागि ‘पेनिक सेलिङ’को कारणहरु खोज्ने र त्यसबाट बच्ने तौर तरिका पत्ता लगाउने सुनौलो अवसर बन्न सक्ने देखिन्छ ।
भनिन्छ, एजेण्डा नबुझी बहकाउमा परेर मतदान गर्दा जसरी पछि पछुताउनु पर्ने हुन सक्छ, त्यसैगरि बजारका आरोह अवरोहहरुको सुक्ष्म अध्ययन नगरि ‘पेनिक सेलिङ’ को अवस्थाबाट गुज्रदा त्योभन्दा गम्भिररुपले पछुताउनु पर्ने हुन सक्छ । त्यसैले लामो विदा आत्मचिन्तन गर्ने र ‘पेनिक सेलिङ’बाट बच्ने गम्भिर अवसर पनि हो, यो अवसरलाई अधिकतम उपयोग गर्ने प्रयास गरौं । राजनीतिक अस्थिरताको बीच हुन लागेको चुनावको बेला ‘पेनिक भोटिङ’ र शेयर बजार अस्थिर भएको बेला ‘पेनिक सेलिङ’बाट बच्नु नै बुद्धिमानी हुन्छ ।