बिजुलीबजारबाट तिनकुनेतर्फ जाँदै गरेको बा.२ क ३२२९ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बद्री कोइरालाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
४८ वर्षीय कोइराला भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए। उनी सुनसरीको इनरुवा नगरपालिका–५ का स्थायी बासिन्दा हुन्। कोइराला भक्तपुरस्थित क्षयरोग केन्द्रमा नायब सुब्बा (नासु) पदमा कार्यरत थिए। दुर्घटनामा प्रदेश–३–००१ ब ९४५ नम्बरको स्कुटरमा सवार उनी गम्भीर घाइते भएका थिए।
दुर्घटनामा संलग्न टिपर चालक गोरखाको भुम्लिचोक घर भएका २६ वर्षीय विकास थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उक्त टिपर फोहोर संकलनका लागि प्रयोग हुँदै आएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।