६ किसिमका परिचयपत्रबाट मतदान गर्न पाइने, अशक्त, गर्भवती र सुत्केरी महिला लाइन बस्नु नपर्ने

Mar 03, 2026 12:20 PM Merolagani



बिहीवार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुनेछ ।

मतदान गर्न जाँदा मतदाताहरुले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

उनकाअनुसार निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गर्नुपर्नेछ । उक्त परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए। उनले मतदातालाई आफ्नो परिचय खुल्ने काजजात लिएर निर्धारित समयमा आफ्नै मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरे ।

आयोगकाअनुसार मतदानमा सहभागी हुनुअघि मतदाताले आफ्नो मतदान केन्द्र सुनिश्चित गरी परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । उनले मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको बताए । मतदाताले सम्बन्धित लाइनमा बसेर आफ्नो पालोअनुसार मतदान गर्नुपर्नेछ । आयोगले शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि विशेष व्यवस्था गरेको छ । यस्ता मतदातालाई लाइनमा बस्न नपर्ने गरी छुट्टै सहजीकरणको प्रवन्ध मिलाइएको सूचना अधिकारी घिमिरेले जानकारी दिए। शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन् । मतदान कार्यमा खटिएका कर्मचारीहरूलाई आयोगले पनि अशक्त तथा विशेष आवश्यकता भएका मतदातालाई सहज र सम्मानजनक वातावरणमा मतदान गराउने व्यवस्था मिलाउन निर्देशन दिएको घिमिरेले जानकारी दिए ।

उनले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि फागुन २१ गते बिहीवारको दिन आफ्नो मतदान केन्द्रमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइन्छ । मतदान जानुभन्दा अगाडी मतदाताहरुले केही कुरामा विचार गर्नुपर्ने हुन्छ । आफ्नो मतदान केन्द्र थाहा भइसके पछाडि आफ्नो परिचय खुल्ने कागजात बोकेर जानुपर्ने हुन्छ । ती कागजातहरुमा सबैभन्दा पहिले निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र छ भने त्यही बोक्नुपर्ने हुन्छ, यदी त्यो छैन भने आफ्नो नागरिकताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एउटा कागजात बोकेर मतदान गर्न जानुपर्ने हुन्छ । मतदान केन्द्रमा गईसकेपछि महिला पुरुषको छुट्टाछुट्टै लाइन हुन्छ, त्यो लाइनमा बसेर मतदान गर्नुपर्ने हुन्छ । विशेष गरी निर्वाचन आयोगले शारीरिक रुपमा अशक्त भएका, वृद्धवृद्धाहरु, गर्भवती महिला, सुत्केरी महिला र शारिरीक रुपमा आफैँले आफ्नो मतदान गर्न नसक्ने व्यक्तिहरुको लागी विशेष व्यवस्था गरिदिएको छ । मतदान केन्द्रमा गएपछि त्यस्ता व्यक्तिहरुले लाईनमा बसिराख्नु पर्दैन । उहाँहरुलाई विशेष रुपमा छुट्टै तरिकाले मतदान गर्ने व्यवस्था मिलाईएको छ । त्यो व्यवस्थाका लागि त्यस्ता व्यक्तिहरुले मतदानको कार्यमा खटिनुभएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य स्वयंसेवक कर्मचारीहरुलाई सहयोग लिन सक्नुहुनेछ । कर्मचारीहरुले पनि निर्वाचन आयोगको निर्देशन बमोजिम असक्त व्यक्तिहरुलाई सजिलो तरिकाले मतदान गर्न सक्ने व्यवस्था मिलाउन हुन पनि हामी हार्दिक अनुरोध गर्दछौँ ।’

निर्वाचन आयोगले सबै मतदातालाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आह्वान गरेको छ ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।