खाडी क्षेत्रका विमानस्थल बन्द हुँदा एसिया–युरोप रुटको हवाई भाडामा भारी वृद्धि

Mar 03, 2026 01:13 PM merolagani



जुली झू : हङकङ
रोयटर्स- अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण मध्य पूर्वी क्षेत्रका प्रमुख ट्रान्जिट (हब) हरू बन्द भएपछि एसिया र युरोपबिचको हवाई उडानको भाडा ह्वात्तै बढेको छ।

विभिन्न एयरलाइन्सका वेबसाइटहरू हेर्दा धेरै लोकप्रिय रुटहरूमा आगामी केही दिनका लागि टिकटहरू पूर्ण रूपमा बिक्री (सोल्ड आउट) भइसकेको देखिन्छ।

विश्वकै सबैभन्दा व्यस्त मध्येको दुबई अन्तर्राष्ट्रिय विमानस्थललगायत प्रमुख खाडी ट्रान्जिटहरू लगातार चौथो दिन मङ्गलवार पनि बन्द रहे। सामान्यतया दैनिक एक हजारभन्दा बढी उडान व्यवस्थापन गर्ने यी विमानस्थल बन्द हुँदा अस्ट्रेलियादेखि युरोपसम्मका लोकप्रिय रुटहरूमा उडान क्षमता घटेको छ। यी रुटहरूमा सामान्यतया एमिरेट्स र कतार एयरवेजको वर्चस्व रहँदै आएको थियो।

अस्ट्रेलियास्थित ट्राभल कम्पनी 'फ्लाइट सेन्टर' का ग्लोबल प्रबन्ध निर्देशक एन्ड्रयू स्टार्कका अनुसार, सङ्कट सुरु भएयता कम्पनीको आपतकालीन सहायता लाइन र स्टोरहरूमा आउने कलहरू ७५ प्रतिशतले बढेका छन्। अलपत्र परेका यात्रुलाई मद्दत गर्न टोलीहरू चौबीसै घण्टा खटिरहेका छन्।उनले भने, "अस्ट्रेलियाली यात्रुहरू परिस्थितिअनुसार चल्न सक्ने खालका छन्। उनीहरूले अहिले नै चीन, सिंगापुरलगायत अन्य एसियाली ट्रान्जिट वा ह्युस्टन जस्ता अमेरिकी ट्रान्जिट हुँदै बेलायत र युरोप जाने वैकल्पिक रुटहरूबाट उडानहरू रि–बुकिङ गर्न थालिसकेका छन्।"

बढ्दो लागत र लामो बाटो

एसिया र युरोपबिच निरन्तर उडान भरिरहेका एयरलाइन्सहरूले बन्द रहेको मध्य पूर्वी हवाई क्षेत्रलाई छल्दै वैकल्पिक बाटो प्रयोग गरिरहेका छन्। उनीहरू उत्तरतर्फ काकेशस हुँदै अफगानिस्तानमाथिबाट वा दक्षिणतर्फ इजिप्ट, साउदी अरेबिया हुँदै ओमानको बाटोबाट उडान भर्न बाध्य छन्। तर, यसले उडानको समय र इन्धन खपत दुवै बढाएको छ। विश्व बजारमा तेलको मूल्य बढिरहेको बेला इन्धनको खपत बढ्दा एयरलाइन्सको लागत थपिन गई दीर्घकालमा हवाई भाडा अझै महँगो हुनसक्छ।

एसिया प्यासिफिक एयरलाइन्स एसोसिएसनका प्रमुख सुभाष मेननले भने,"अहिले सम्पूर्ण मध्यपूर्वको हवाई क्षेत्र निषेधित जस्तै छ, जसले गर्दा केही एयरलाइन्सहरूले ठूलो मूल्य चुकाउनु परिरहेको छ। यदि उच्च लागतमै युरोपको उडान सञ्चालन गर्नुपर्ने अवस्था आयो भने एयरलाइन्सको नाफा कमजोर हुनेछ। यसको अन्तिम असर विश्वव्यापी कनेक्टिभिटी (सम्पर्क सञ्जाल) मै पर्नेछ।"

कस्तो छ एयरलाइन्सको अवस्था ?

अल्टोन एभिएसन कन्सल्टेन्सीका अनुसार, प्रभावित क्षेत्रभन्दा बाहिरबाट सीधा उडान भर्ने वा वैकल्पिक ट्रान्जिट प्रयोग गर्ने एयरलाइन्सहरूलाई भने तत्कालका लागि फाइदा पुग्न सक्छ। यात्रुहरू खाडी क्षेत्रका एयरलाइन्सबाट विकल्प खोज्दै गर्दा हङकङको क्याथे प्यासिफिक, सिंगापुर एयरलाइन्स र टर्किस एयरलाइन्स जस्ता कम्पनीले लाभ लिन सक्नेछन्। मङ्गलवार रोयटर्सले विभिन्न एयरलाइन्सका वेबसाइटहरूमा गरेको परीक्षणमा एसियाबाट लन्डन जाने उडानहरूको तत्कालको टिकट उपलब्ध नभएको र उपलब्ध भएका टिकटको मूल्य पनि निकै उच्च रहेको पाइएको छ। क्याथे प्यासिफिकको वेबसाइटमा ११ मार्चसम्मका लागि हङकङ–लन्डन रुटमा इकोनोमी क्लासको कुनै पनि सिट खाली थिएन। त्यस दिनको एकतर्फी टिकटको मूल्य कम्तीमा २१,१५८ हङकङ डलर (करिब २,७०५ अमेरिकी डलर) पुगेको थियो। सामान्य अवस्थामा महिनाको अन्त्यतिर यस्तो टिकटको मूल्य ५,०५४ हङकङ डलरको हाराहारीमा हुने गर्दथ्यो।

त्यस्तै, अस्ट्रेलियाको क्वान्टास एयरवेजले सिड्नीबाट लन्डनका लागि पर्थ र सिंगापुर हुँदै जाने नियमित उडानहरूमा १७ मार्चसम्म इकोनोमी क्लासको टिकट उपलब्ध गराउन सकेको छैन। १७ मार्चपछिको एकतर्फी टिकटको मूल्य ३,१२९ अस्ट्रेलियन डलर (२,२२० अमेरिकी डलर) तोकिएको छ। त्योभन्दा अगाडिका मितिमा उडान भर्न चाहनेहरूका लागि लस एन्जलस वा जोहानेसबर्ग जस्ता असामान्य ट्रान्जिट हुँदै जानुपर्ने महँगा विकल्पहरू मात्र बाँकी छन्।

थाइल्यान्डका यातायात मन्त्री फिफाट रत्चाकितप्रकर्णका अनुसार युरोपेली पर्यटकहरूले मध्यपूर्वको ट्रान्जिट छल्दै सीधा उडान रोज्न थालेपछि थाई एयरवेजका युरोप जाने उडानहरू पूर्ण रूपमा बुक भइसकेका छन्। बैंककबाट लन्डन जान थाई एयरवेजको वेबसाइट हेर्दा आगामी साताको अन्त्यसम्मका सबै टिकट बिक्री भइसकेको र त्यसपछिका उडानको भाडा पनि निकै उच्च रहेको देखिन्छ। १५ मार्चमा एकतर्फी इकोनोमी क्लास टिकटको मूल्य ७१,१९० भाट (२,२६५ अमेरिकी डलर) पुगेको छ। जुन १८ मार्चमा घटेर २७,०४५ भाटमा झर्ने देखिन्छ।

ताइवानको इभा एयरवेजले एसियाली र युरोपेली यात्रुहरूले वैकल्पिक रुट खोज्दा आफ्ना युरोप जाने उडानहरूको बुकिङ ह्वात्तै बढेको जनाएको छ।

चिनियाँ एयरलाइन्सका वेबसाइटहरूमा पनि चीन–बेलायत रुटको भाडा सामान्यभन्दा धेरै गुणा बढेको छ भने नजिकको मितिमा इकोनोमी क्लासका सिटहरू उपलब्ध छैनन्। सामान्यतया बेइजिङबाट लन्डनको दोहोरो (रिटर्न) इकोनोमी टिकट १०,००० युआन (१,४५२ अमेरिकी डलर) भन्दा कममा पाइन्थ्यो। तर, अहिले एयर चाइनामा बुधवारका लागि बिजनेस क्लासको मात्र विकल्प बाँकी छ। जसको एकतर्फी भाडा नै ५०,४९० युआन तोकिएको छ




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।