राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित रूपमा राम्रो नतिजा ल्याएपछि अब देशमा स्थिर सरकार बन्ने सम्भावना बढेकाे छ। निर्वाचन र निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा आज निर्वाचन पछि पहिलो पटक शेयर बजार खुल्दै छ। आज शेयर बजारको प्रदर्शन कस्तो रहन्छ ? भन्ने चासो आम लगानीकर्तामा देखिन्छ। किनकि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन पूर्व आफ्नो घोषणा पत्र सार्वजनिक गरेको थियो। जसलाई उसले वाचा पत्र नाम दिएको थियो। जुन वाचा पत्रमा उसले जति पूँजी बजारको क्षेत्रमा अरू कसैले त्यति धेरै शब्द खर्च गरेका थिएनन्। उसले पूँजी बजारलाई जुन हिसाबले सम्बोधन गरेको थियो। त्यो सम्बोधनले लगानीकर्तामा अलि बढी नै अपेक्षा जगाएको थियो।
अहिले सोही पार्टीले दुई तिहाइ मत प्राप्त गर्ने सम्भावना बढ्दै गर्दा आज खुल्ने शेयर बजारले त्यसलाई सकारात्मक रुपमा लिन्छ भन्ने अपेक्षा आम लगानीकर्ताको छ। अझै केहीले त दुई चार दिन बजार बढेर हल्ट नै हुन्छ भन्ने अनुमान समेत लगाउन भ्याएका छन्। के लगानीकर्ताले अपेक्षा गरेजस्तै बजारले त्यस्तो परिदृश्य देखाउला ?

अनुभवी लगानीकर्ता नयन बास्तोलाका अनुसार केही लगानीकर्ताहरूले बजार खुल्ने बित्तिकै केही दिन लगातार 'अपर सर्किट' लाग्न सक्ने अनुमान गरेका छन्। तर, उनले धेरै उत्साहित भएर बजारमा लगानी गर्नु जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएका छन्। उनी भन्छन्, "लामो समयदेखि बजारमा सुधारको प्रतिक्षा गरिएको छ। त्यसैले सुरुका दिनहरूमा सकारात्मक प्रतिक्रिया देखिन सक्छ। तर, धेरै उत्साहले बजारलाई अस्वाभाविक रूपमा बढाउन सक्छ।"
यसैगरी इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार पनि बजार खुल्दा लगानीकर्ताहरू नयाँ राजनीतिक स्थिरताको सङ्केतप्रति उत्साहित देखिन सक्छन्। उनी भन्छन्, "यदि बजारमा ठुलो किनमेलको दबाब आयो भने बढेर सर्किट लाग्न पनि सक्छ।" तर, उनले लगानीकर्ताहरूलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनका अनुसार बजार एकै दिनमा तीव्र रूपमा बढ्नु र त्यसपछि तीव्र रूपमा घट्नु भन्दा क्रमिक रूपमा स्थिर वृद्धि हुनु लामो अवधिका लागि राम्रो हुन्छ।
स्थिर सरकारप्रति लगानीकर्ता अलि बढी नै विश्वस्त
पछिल्लो १० वर्षदेखि नेपालको शेयर बजार राजनीतिक अस्थिरता, सरकारको अस्थिर नीति र कमजोर नियमनका कारण धेरै प्रभावित भयो। सरकार बारम्बार फेरिँदा, लामो अवधिको आर्थिक योजना नबन्दा र नियमहरूमा सुधार नहुँदा बजार स्थिर हुन सकेको थिएन। तर, अहिलेको चुनावले दिएको सङ्केतले शेयर बजारमा नयाँ आशा जगाएको छ। शेयर बजारका अनुभवी लगानीकर्ताहरू नयन बास्तोला, अम्बिकाप्रसाद पौडेल र तुलसीराम ढकालसँग कुराकानी गर्दा उनीहरू सबैले नयाँ राजनीतिक अवस्थाले बजारमा राम्रो प्रभाव पार्न सक्ने बताए।
बास्तोला भन्छन्, "चुनावको नतिजा आएपछि लगानीकर्ताहरूमा एउटा बलियो र स्थिर सरकार बन्ने अपेक्षा बढेको छ। यदि दुई-तिहाइ बहुमतसहितको सरकार बन्यो भने नीतिहरूमा बारम्बार परिवर्तन आउँदैन र लामो अवधिको आर्थिक योजनाहरू लागू गर्न सजिलो हुन्छ," उनी थप्छन्, "जनताले स्थिर शासन, सुशासन र भ्रष्टाचार नियन्त्रणको स्पष्ट सन्देश दिएका छन्। यदि नयाँ सरकारले स्थिर र स्पष्ट नीति बनाउन सक्यो भने त्यसले शेयर बजारलाई मात्र होइन, पूरै अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान्छ।" बास्तोलाका अनुसार शेयर बजार विश्वासमा चल्छ। जब लगानीकर्तालाई सरकार स्थिर रहन्छ र आर्थिक नीतिहरूमा निरन्तरता हुन्छ भन्ने विश्वास हुन्छ। तब उनीहरू बजारमा थप सक्रिय हुन्छन्। त्यसैले राजनीतिक स्थिरताको सङ्केतले लगानीकर्ताहरूको मनमा राम्रो प्रभाव पार्ने सम्भावना छ।
नेपालको शेयर बजारले पहिले धेरै पटक राजनीतिक अस्थिरताको असर भोगेको छ। सरकार बारम्बार परिवर्तन हुँदा आर्थिक नीतिहरूमा निरन्तरता आउन सकेन। दोस्रो बजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेल भन्छन्, "यही अस्थिरता शेयर बजारको विकासमा ठुलो बाधक बनेको थियो। कहिलेकाहीँ छ महिनामा, कहिलेकाहीँ एक वर्षमै सरकार फेरिने अवस्था थियो। यस्तो अवस्थामा लामो अवधिको नीति बनाउन र लागू गर्न सम्भव हुँदैन थियो।" उनका अनुसार शेयर बजार जस्तो संवेदनशील क्षेत्र स्थिर नीति र लामो अवधिको योजनामा आधारित हुनुपर्छ। तर, पहिले सरकार परिवर्तनसँगै आर्थिक प्राथमिकताहरू पनि बदलिने गरेको थियो। जसको प्रत्यक्ष असर बजारमा पर्ने गरेको उनले बताए। उनी भन्छन्, "नीतिगत अनिश्चितताका कारण धेरै लगानीकर्ताहरू लामो अवधिको लगानीभन्दा छोटो अवधिको कारोबारमा केन्द्रित भएका थिए, जसले बजारमा धेरै उतारचढाब गराउने गरेको थियो।" अहिलेको चुनावले नेपालको राजनीतिमा नयाँ शक्ति उदाएको छ। नयाँ नेतृत्वले पारदर्शिता, सुशासन र आर्थिक सुधारको कुरा उठाएको छ। जसले गर्दा शेयर बजारका लगानीकर्ताहरू पनि अलि धेरै नै आशावादी देखिएका छन्।
ढकाल भन्छन्, "लामो समयदेखि नीतिगत अनिश्चितता भोगेको बजारका लागि राजनीतिक स्थिरता सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। यदि स्थिर बहुमतसहितको सरकार बन्यो र पाँच वर्षसम्म निरन्तर नीति लागू भयो भने शेयर बजारमा ठुलो सुधार देखिन सक्छ।" उनका अनुसार लगानीकर्ताहरू अहिले नयाँ सरकारबाट शेयर बजारमैत्री नीतिहरू आउने अपेक्षामा छन्।
उत्साहसँगै जोखिम र संशय पनि उत्तिकै
राजनीतिक स्थिरता बजार सुधारको महत्त्वपूर्ण आधार भए पनि नेपालको शेयर बजारमा अझै धेरै समस्याहरू छन्। विशेषज्ञहरूका अनुसार बजारको आकार सानो हुनु, ठुला लगानीकर्ताहरूको अभाव, सीमित वित्तीय उपकरणहरू र नियमहरूमा सुधारमा ढिलाइ जस्ता समस्याहरू अझै कायमै छन्। नेपालमा धेरैजसो लगानीकर्ताहरू साना लगानीकर्ताहरू छन्। ठुला संस्थागत लगानीकर्ताहरूको सहभागिता कम भएकाले बजारमा भावनात्मक उतारचढाब बढी हुने गरेको छ।यसका साथै, शेयर बजारको विकासका लागि आवश्यक लामो अवधिको नीतिगत सुधारहरू पनि पर्याप्त रूपमा अघि बढ्न सकेका छैनन्। कर नीति, वित्तीय नियम र नियामक संरचनामा सुधार आवश्यक रहेको विश्लेषकहरू बताउँछन्।
विश्लेषकहरूका अनुसार सकारात्मक राजनीतिक सङ्केत देखिए पनि बजारमा केही जोखिमहरू कायमै रहन्छन्। सबैभन्दा ठुलो जोखिम धेरै उत्साहित भएर लगानी गर्नु हो। चुनावी परिणामपछि लगानीकर्ताहरूमा देखिने मनोवैज्ञानिक प्रभावका कारण धेरैले बजारलाई आक्रामक रूपमा पछ्याउने सम्भावना हुन्छ। नयन बास्तोलाका अनुसार यस्तो अवस्थामा बजारमा अस्वभाविक मूल्य वृद्धि हुन सक्छ। उनी चेतावनी दिन्छन्, "यदि लगानीकर्ताहरूले केवल भावनाका आधारमा निर्णय गरे भने पछि बजारमा तीव्र गिरावट आउन सक्छ।" ढकालका अनुसार पनि लगानीकर्ताहरूले छोटो अवधिको उतारचढाब भन्दा लामो अवधिको सम्भावनालाई ध्यान दिनुपर्छ।
समग्रमा हेर्दा, पछिल्लो चुनावी परिणामले नेपालको शेयर बजारमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पार्ने सम्भावना देखिएको छ। राजनीतिक स्थिरताको सङ्केतले लगानीकर्ताहरू बिच नयाँ आशा जगाएको छ। तर, बजारको वास्तविक सुधार भने केवल चुनावी परिणाममा निर्भर हुँदैन। लामो अवधिको सुधारका लागि स्थिर शासन, स्पष्ट नीतिगत दिशा र प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ। त्यसैले विशेषज्ञहरूका अनुसार लगानीकर्ताहरूले धेरै उत्साहित भएर निर्णय गर्नुको सट्टा अनुशासित र लामो अवधिको रणनीतिमा आधारित लगानीलाई प्राथमिकता दिनुपर्छ। यदि राजनीतिक स्थिरता र आर्थिक सुधारका कदमहरू सँगसँगै अघि बढे भने नेपालको शेयर बजार आगामी वर्षहरूमा नयाँ उचाइमा पुग्ने सम्भावना भने अवश्य देखिन्छ।