महा-मर्जरपछिको कुमारी बैंकमा रामचन्द्र खनालको ‘संजीवनी बुटी’: यसरी चम्कियो साढे ४ खर्ब सम्पत्ति भएको बैंक

Mar 19, 2026 11:03 AM merolagani



सुवास निरौला 

यति बेला विश्वव्यापी आर्थिक मन्दीको बाछिटा, आन्तरिक बजारमा तरलताको उतारचढाव, घट्दो ब्याजदर र त्यसमाथि कर्जाको न्यून माग अनि बढ्दो निष्क्रिय कर्जा (एनपीएल)को दबाबले ठुला र स्थापित भनिएका वाणिज्य बैंकहरूलाई समेत व्यापार बिस्तार गर्न हम्मे-हम्मे पारिरहेको छ।

विशेषगरी, एकपछि अर्को ठुला मर्जर र एक्विजिसन (प्राप्ति) पछि विशाल आकार ग्रहण गरेका बैंकहरूलाई आफ्नो वासलात (ब्यालेन्स सिट) व्यवस्थापन गर्नु र प्रतिफलमुखी बनाउनु फलामको चिउरा चपाउनु सरह भएको छ। यस्तो कठिन र परीक्षाको घडीमा कुनै पनि वित्तीय संस्थाको बागडोर कस्तो व्यक्तिको हातमा पुग्छ भन्ने कुराले त्यस संस्थाको मात्र नभई समग्र अर्थतन्त्रकै एउटा हिस्साको भविष्य निर्धारण गर्दछ। भनाइ नै छ, शान्त समुद्रमा जो कोही पनि कुशल नाविक बन्न सक्छ, तर असली नाविकको पहिचान त आँधीबेहरीका बिच जहाजलाई सुरक्षित किनार लगाउँदा मात्र हुन्छ। ठ्याक्कै यस्तै आँधीबेहरीका बिच कुमारी बैंक लिमिटेड (KBL)को कमान्ड सम्हाल्न आइपुगे, रामचन्द्र खनाल।

मिति २०८० मंसिर १ गते, कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले एउटा दूरगामी महत्वको निर्णय गर्‍यो। तत्कालीन प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै सोही दिनदेखि लागू हुने गरी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सुम्पिइयो।

खनाल बाहिरबाट ल्याइएका ‘हाइब्रिड’ सिइओ थिएनन्, उनी कुमारी बैंककै माटो र हावापानी बुझेका, संस्थाको नसा-नसा छामेका ‘इन्साइडर’ थिए। जब उनले नेतृत्व सम्हाले, कुमारी बैंक विभिन्न संस्थाहरूको मर्जरपछि बनेको एउटा विशाल ‘मेगा बैंक’ को रूपमा खडा थियो। आकार ठुलो हुनु आफैमा शक्ति त थियो, तर त्यो भीमकाय आकारलाई चलायमान बनाउनु, कर्मचारीहरूको मनोविज्ञानलाई एउटै सूत्रमा बाँध्नु र सबैभन्दा महत्त्वपूर्ण कुरा—खराब कर्जाको व्यवस्थापन गर्दै शेयरधनीलाई उचित प्रतिफल दिनु खनालका अगाडि सगरमाथा जत्तिकै उच्च चुनौतीहरू थिए।

पहिलो वर्ष: जग बलियो बनाउने अभियान

खनालले कार्यभार सम्हालेपछिको पहिलो पूर्ण आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण (अडिटेड) ले नै बैंकमा एउटा नयाँ ऊर्जाको सञ्चार भएको सङ्केत गरिसकेको थियो। उनले नेतृत्व सम्हाल्नु अघिको वर्ष अर्थात् आव २०८०/८१ मा बैंकको खुद नाफा १ अर्ब ९५ करोड ५९ लाख रुपैयाँ रहेकोमा, खनालको नेतृत्वमा आव २०८१/८२ को अन्त्यसम्म आइपुग्दा बैंकले आफ्नो खुद नाफा बढाएर २ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ पुर्‍याउन सफल भयो।

यो समय आक्रामक रूपमा कर्जा विस्तार गरेर जोखिम मोल्ने समय थिएन। खनालले यो कुरा राम्रोसँग बुझेका थिए। त्यसैले उनले संस्थाको जग बलियो बनाउनतिर ध्यान केन्द्रित गरे। सो अवधिमा बैंकको कुल सम्पत्ति  ४ खर्ब ४४ अर्ब ६९ करोड रुपैयाँ पुग्यो। ग्राहकको निक्षेप ३ खर्ब ६४ अर्ब ६३ करोड पुग्दा बैंकले २ खर्ब ६२ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

सबैभन्दा महत्त्वपूर्ण कुरा, अर्थतन्त्र शिथिल हुँदाहुँदै पनि उनले निष्क्रिय कर्जा (एनपीएल)लाई अघिल्लो वर्षको ४.९८ प्रतिशतबाट सामान्य सुधार गर्दै ४.९६ प्रतिशतमा सीमित राख्न सफल भए। प्रतिशेयर आम्दानी (इपीएस) ७.४६ रुपैयाँबाट बढेर ८.८४ रुपैयाँ पुग्नुले लगानीकर्ताहरूमा बैंकको नेतृत्व सही दिशामा हिँडिरहेको छ भन्ने विश्वास पैदा गरायो।

चालु आर्थिक वर्षको पहिलो त्रैमास: सुधारको स्पष्ट सङ्केत

कुनै पनि रणनीतिको प्रतिफल रातारात देखिँदैन, तर सही दिशामा चालिएका कदमका डोबहरू भने छिट्टै देखिन थाल्छन्। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्त) को वित्तीय विवरण सार्वजनिक हुँदा कुमारी बैंकले बजारलाई एउटा सुखद सन्देश दियो। असोज मसान्तसम्मको तीन महिनाको अवधिमै बैंकले १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्‍यो। यद्यपि यो अघिल्लो वर्षको सोही अवधिको (१ अर्ब ७ करोड) तुलनामा सामान्य कम थियो, तर अन्य सूचकहरूले भने बैंकले गियर परिवर्तन गरिसकेको प्रस्ट पार्छ।

पहिलो त्रैमासको सबैभन्दा ठुलो सफलता भनेको खराब कर्जाको अभूतपूर्व व्यवस्थापन थियो। असार मसान्तमा ४.९६ प्रतिशत रहेको बैंकको खराब कर्जा (एपीएल) असोज मसान्तमा आइपुग्दा ह्वात्तै घटेर ४.२० प्रतिशतमा झर्‍यो। अझ अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.७५ प्रतिशत थियो। समग्र बैंकिङ क्षेत्र खराब कर्जाको दलदलमा फसेर प्रोभिजनिङ (कर्जा नोक्सानी व्यवस्था)को भारले थिचिरहेका बेला खनालको नेतृत्वमा कुमारी बैंकले गरेको यो सुधार साँच्चिकै प्रशंसनीय थियो। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (वार्षिक) ह्वात्तै बढेर १६.११ रुपैयाँ पुग्यो। बैंकको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ७९.०३ प्रतिशत थियो। जसले बैंकसँग लगानीयोग्य पूँजीको पर्याप्तता रहेको र तरलताको कुनै दबाब नरहेको पुष्टि गर्दथ्यो।

दोस्रो त्रैमास : नाफामा १० गुणाको चमत्कारिक छलाङ

कुनै पनि कम्पनीको वित्तीय इतिहासमा विरलै मात्र यस्ता नतिजाहरू देख्न पाइन्छन्। जसले विश्लेषकहरूलाई समेत आश्चर्यचकित बनाउँछ। प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले आफ्नो जादुयी नेतृत्व क्षमता चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) को वित्तीय विवरणमार्फत प्रमाणित गरिदिए।

पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुमारी बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेर बैंकिङ वृत्तमा तरङ्ग ल्याइदियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा जम्मा २७ करोड ५७ लाख रुपैयाँ मात्र थियो। एक वर्षको अन्तरालमा खुद नाफामा झण्डै १० गुणा (१००० प्रतिशत नजिक) को चमत्कारिक वृद्धि सामान्य विषय पटक्कै होइन।

यति छोटो समयमा यति विशाल नाफा कसरी सम्भव भयो त ? यसको पछाडि खनालको सूक्ष्म व्यवस्थापन र आक्रामक असुली रणनीति लुकेको छ। अघिल्लो वर्षको पुस मसान्तमा बैंकले सम्भावित कर्जा जोखिम बापत ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ छुट्याउनु परेको थियो। जसले बैंकको नाफालाई पूरै खाइदिएको थियो। तर, खनालको नेतृत्वमा बैंकले ऋण असुली र व्यवस्थापनमा यति कडा मेहनत गर्‍यो कि यस वर्षको सोही अवधिमा यस्तो प्रोभिजनिङ रकम घटेर जम्मा २४ करोड ३३ लाख रुपैयाँमा झर्‍यो। 'डेड' भइसकेको वा जोखिममा परेको कर्जालाई उठाएर वा नियमित गरेर प्रोभिजनिङ रिभर्सल गराउन सक्नु नै खनालको सबैभन्दा ठुलो 'मास्टर स्ट्रोक' साबित भयो।

नाफामा भएको यो विस्फोटक वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) अघिल्लो वर्षको २.१० रुपैयाँबाट आकासिएर २०.७४ रुपैयाँ पुगेको छ। यसले शेयर बजारका लगानीकर्ताहरूलाई कुमारी बैंकप्रति आकर्षित गर्न ठुलो भूमिका खेलेको छ।

विशाल आकारको कुशल व्यवस्थापन

रामचन्द्र खनालले नाफा मात्र बढाएका छैनन्, संस्थाको आकारलाई अझै फराकिलो र सुरक्षित बनाएका छन्। पुस २०८२ सम्म आइपुग्दा कुमारी बैंकको कुल सम्पत्ति  ४ खर्ब ५२ अर्ब ९६ करोड रुपैयाँ नाघेको छ। यो आकारले कुमारी बैंकलाई नेपालका प्रमुख र शक्तिशाली बैंकहरूको दाँजोमा उभ्याएको छ।

यस अवधिमा बैंकले ग्राहकबाट ३ खर्ब ७१ अर्ब ३७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ६५ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। ६ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी  ६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको ५ अर्ब ३१ करोडको तुलनामा निकै उत्साहजनक वृद्धि हो। यसले बैंकको मुख्य व्यावसायिक गतिविधि (कोर बैंकिङ) अत्यन्तै सबल र नाफामूलक बन्दै गएको प्रमाणित गर्छ।

बैंकको बेस रेट (आधार दर) अघिल्लो वर्षको ७.१४ प्रतिशतबाट केही बढेर ८.६० प्रतिशत पुगेको भए पनि बैंकको सिडी रेसियो ७६.४० प्रतिशतको अत्यन्तै सुरक्षित र आरामदायी विन्दुमा छ। यसको अर्थ, खनालले बैंकलाई आक्रामक लगानीको जोखिममा धकेलेका छैनन्। बरु प्रशस्त तरलता राखेर अर्थतन्त्रका सुरक्षित र उच्च प्रतिफल दिने क्षेत्रहरूको पर्खाइमा बैंकलाई रणनीतिक रूपमा उभ्याएका छन्।

चुनौतीहरू र आगामी बाटो

यति धेरै सकारात्मक सूचकहरूका बाबजुद कुमारी बैंकका अगाडि चुनौतीहरू नभएका भने होइनन्। पुस मसान्तको वित्तीय विवरण अनुसार बैंकको निष्क्रिय कर्जा (एनपीएल) ६.९६ प्रतिशत पुगेको छ। यद्यपि अघिल्लो वर्षको पुस मसान्तमा पनि यो ठ्याक्कै ६.९६ प्रतिशत नै थियो र बैंकले यसको लागि आवश्यक प्रोभिजनिङ गरिसकेको छ। तर ४ खर्ब ५२ अर्बको सम्पत्ति भएको बैंकमा झण्डै ७ प्रतिशतको खराब कर्जा व्यवस्थापन गर्नु व्यवस्थापनको लागि 'टाउको दुखाइ' को विषय पक्कै हो।

तर, प्रतिवेदनमा व्यवस्थापन पक्षले स्पष्ट पारेको छ कि बैंकले हाल आफ्नो ध्यान ‘कष्ट म्यानेजमेन्ट’ (लागत न्यूनीकरण), लगानीको विविधीकरण, प्रविधिको स्तरोन्नति र जोखिमयुक्त सम्पत्तिको उच्चतम सदुपयोगमा केन्द्रित गरेको छ। सिइओ खनालले एनपीएल घटाउन र खराब कर्जा असुलीको लागि विशेष 'रिकभरी प्रोसेस' लाई तीव्रता दिएको कुरा प्रतिवेदनमा उल्लेख छ। साथै, संस्थागत सुशासन लाई उच्च प्राथमिकतामा राख्दै लेखा परीक्षण समिति, जोखिम व्यवस्थापन समिति जस्ता निकायहरूलाई थप सक्रिय बनाइएको छ। यसले खनाल बैंकको पारदर्शिता र प्रणालीगत विकासमा कति गम्भीर छन् भन्ने देखाउँछ।

निष्कर्ष

कुनै एउटा सानो संस्थाको वित्तीय सूचक रातारात परिवर्तन गर्नु र ४ खर्ब ५० अर्बभन्दा बढीको ब्यालेन्स सिट भएको, हजारौँ कर्मचारी र लाखौँ ग्राहक भएको 'मेगा बैंक' लाई मन्दीको समयमा सही ट्र्याकमा ल्याएर ऐतिहासिक नाफा कमाउनु नितान्त फरक कुरा हुन्।

मिति २०८० मंसिर १ गते कुमारी बैंकको कमान्ड सम्हाल्दै गर्दा रामचन्द्र खनालको काँधमा जुन ऐतिहासिक जिम्मेवारी थियो। त्यसलाई उनले आफ्नो अथक प्रयास, स्पष्ट भिजन र कुशल रणनीतिका कारण प्रमाणित गर्दै लगेका छन्। एक वर्ष अघि २७ करोड नाफा कमाउने बैंकलाई ६ महिनामै २ अर्ब ७२ करोडको नाफामा पुर्‍याउनु, इपिएसलाई २ रुपैयाँबाट २० रुपैयाँमा उकास्नु र प्रोभिजनिङको अर्बौँ रकमलाई रिकभरीमार्फत संस्थाको पूँजीमा रूपान्तरण गर्नु सामान्य 'जादु' होइन। यो त एउटा अनुभवी बैंकरको कठोर मिहिनेत र दूरदर्शी नेतृत्वको परिणाम हो।

निष्क्रिय कर्जाको केही दबाब अझै बाँकी रहे पनि, खनालले जुन गतिमा बैंकको 'अपरेटिङ प्रोफिट' र 'कोर बैंकिङ विजिनेस' लाई माथि उठाएका छन्। त्यसले कुमारी बैंकका शेयरधनी, निक्षेपकर्ता र सरोकारवालाहरूलाई आगामी दिनमा अझ सुरक्षित र उच्च प्रतिफल प्राप्त हुने कुरामा ढुक्क बनाएको छ। महा-मर्जरपछिको अस्तव्यस्तता र आर्थिक मन्दीको दोहोरो चेपुवामा परेको कुमारी बैंकका लागि साँच्चै नै रामचन्द्र खनाल 'संजीवनी बुटी' साबित भएका छन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।