सरकार बन्ने तयारीमा रहँदा शेयर बजार पनि उत्साहित, यी हुन् तीन सय मूल्य मुनिका २३ सस्ता कम्पनी

Mar 19, 2026 06:08 AM Merolagani



नेप्सेमा सूचीकृत कम्पनीहरुमा विस्तारै अहिले २ सय मुनिका कम्पनीहरु गायब भएका छन् । अब नेप्सेमा सूचीकृत २ सय ६५ कम्पनीमध्ये २३ कम्पनी मात्रै ३ सय मुनिका छन् । त्यसमा अधिकांश वाणिज्य बैंक र हाइड्रोपावर समूहका छन् ।

२ सय मुनिका कम्पनीहरु नेप्सेबाट हराउनुले अहिले लगानीकर्ताहरु सस्ता कम्पनीहरुमा आकर्षित भएको बुझ्न सकिन्छ । फागुन २१ गतेको चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा दुई तिहाईको सरकार बन्ने तयारीमा रहँदा शेयर बजार पनि उत्साहित बनेको देखिएको छ । चुनाव लगत्तैको पहिलो शेयर कारोबारमा नेप्से परिसूचकमै ६ प्रतिशत बढेर बजार ‘हल्ट’ भएर बन्द भयो । त्यसपछिको कारोबार दिनमा भने न्यून मूल्यका कम्पनीहरुमा विस्तारै खरिद बढाउँदै लगेको देखिएको छ ।

चुनाव अगाडिसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, हिमालयन बैंक, कुमारी बैंक २ भन्दा मुनिकै मूल्यमा कारोबार भइरहेका थिए भने अपर तामाकोशी, शिवश्री हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर लिबर्टी इनर्जी कम्पनीलगायतका हाइड्रोपावर पनि २ सय मुनि नै कारोबार भइरहेका थिए । अहिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २१३.१ रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेसनल २१४.५ रुपैयाँ, प्रभु बैंक २१५.२ रुपैयाँ, हिमालयन बैंक २१७ रुपैयाँ, कुमारी बैंक २२०.९० रुपैयाँमा गत मंगलबार अन्तिम कारोबार भयो । त्यस्तै अपर तामाकोशी २१९.१ रुपैयाँ, शिवश्री हाइड्रोपावर २३८.८० रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावर २५५ रुपैयाँ, लिबर्टी इनर्जी समेत २६२.९० रुपैयाँमा अन्तिम कारोबार भयो ।

चुनाव अगाडि जेनजी स्टकको कारोबार चम्किएको थियो भने चुनावपछि लगानीकर्ताहरु सस्ता हाइड्रोपावर र वाणिज्य बैंकको शेयरमा झुम्मिएका छन् । अझ गत मंगलबारको कारोबारमा टप १० गेनर सूचीमा रहेका कम्पनीमध्ये ५ वटा हाइड्रोपावर कम्पनी छन् । त्यसमध्ये पनि ५ वटा टप गेनर हाइड्रोपावर मध्ये पनि ३ वटा ३ सय भन्दा मुनि मूल्य भएका हाइड्रोपावर कम्पनी छन् । शिवश्री हाइड्रोपावर, लिबर्टी इनर्जी र घलेम्दी हाइड्रोपावर गत मंगलबार टप गेनरमा परेका ३ सय मुनि कारोबार भइरहेका हाइड्रोपावर कम्पनी हुन ।

गत मंगलबारको कारोबार टप टर्नओभरमा पनि हाइड्रोपावर कम्पनीकै वर्चश्व रहेको छ । त्यसमध्ये पनि नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, अरुण काबेली पावर र घलेम्दी हाइड्रोपावर गरी ६ वटा हाइड्रोपावर टप टर्नओभरमा पर्ने ३ सय मुनिका हाइड्रोपावर हुन् ।

टप भोल्युयममा पनि शिवश्री हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, बलेफी हाइड्रोपावर, लिबर्टी इनर्जी र अरुण काबेली गरी ६ वटा कम्पनी हाइड्रोपावरबाट परेका छन् । टप भोलुममा वाणिज्य बैंक समूहबाट कुमारी बैंक टप भोलुम पर्न सफल भएको छ।

त्यसैगरी टप ट्रान्जेक्सनमा पनि बलेफी, शिवश्री, हिमाल दोलखा, नेसनल, अप्पर तामाकोशी, अरुण काबेली, लिबर्टी इनर्जी, अरुण काबेली पावर र घलेम्दी गरी ८ वटा कम्पनी नै ३ सय भन्दा कम मूल्यको हाइड्रोपावर परेका छन् ।

अहिले ३ सय भन्दा मुनिका कम्पनीहरुमा वाणिज्य बैंक समूहबाट ११ वटा, हाइड्रोपावर समूहबाट ९ वटा, लगानी समूहबाट २ वटा र होटल तथा पर्यटन समूहबाट १ वटा गरी २३ वटा कम्पनी छन् ।

वाणिज्य समूहतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक र नेपाल बैंकको शेयर मूल्य ३ सय भन्दा कम मूल्यका कारोबार भइरहेको छ । वाणिज्य बैंकको नेटवर्थ १ सय भन्दा माथि नै रहे पनि अत्याधिक शेयर सप्लाईका कारण यो समूहका कम्पनीको मूल्य बढ्न नसकेको हो ।

त्यस्तै हाइड्रोपावर समूहमा शिवश्री हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, बलेफी हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, घलेम्दी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेसनल हाइड्रोपावर र अरुण काबेली पावर गरी नौ कम्पनीको शेयर मूल्य ३ सय भन्दा मुनिको मूल्यका कारोबार भइरहेको छ ।

यता लगानी समूह अन्तर्गत रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समेत ३ सय भन्दा मुनिकै मूल्यमा कारोबार भइरहेको छ । २० अर्ब भन्दा धेरै चुक्ता पुँजी रहेको यी कम्पनीहरुको शेयर मूल्य उच्च शेयर सप्लाईकै कारण उच्च मूल्यमा कारोबार हुन नसकेको एक लगानीकर्ताले बताए । अपरेटरहरुले यस्तै उच्च सप्लाई भएका कम्पनीहरुको शेयर मूल्य उचालेर नै नेप्से परिसूचक उचाल्ने प्रयास गर्ने ती लगानीकर्ताको विश्लेषण छ ।

त्यस्तै हालै मात्रै शेयर सूचीकरण भएको होटल फरेष्ट इन लिमिटेड समेत नेप्सेले दिएको रेन्जको न्यून विन्दुबाट कारोबार खोल्दा २ सय भन्दा मुनि कारोबार भइरहेको हो ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।