नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी

Mar 19, 2026 04:58 PM merolagani



सङ्घीय संसद सचिवालयले नयाँ निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण आगामी १२ गते गर्नेगरी तयारी अगाडि बढाएको छ ।

बिहीवार संसद सचिवालयका महासचिवले राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधिहरूसँग गरेकाे छलफलमा शपथ ग्रहण र संसदीय दलका कार्यालय व्यवस्थापनबारे चर्चा गरिएको हो । छलफलमा मुख्यतया शपथ ग्रहणको मिति र दलका कार्यालयहरूको व्यवस्थापनमा केन्द्रित रहेर कुराकानी भएको सहभागी सांसदहरुले बताए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले १२ गते सांसदहरुको शपथ गर्नेगरी तयारी अघि बढाइएको बताए। निर्वाचन आयोगले सूची पठाइसकेपछि र राष्ट्रपति कार्यालयबाट समय सुनिश्चित भएपछि समय टुंगो लाग्ने उनको भनाइ छ ।

उनले भने, ‘मुख्यतः १२ गते शपथ ग्रहण गर्ने गरी तयारी भएको छ । निर्वाचन आयोगले सूची पठाएपछि र राष्ट्रपति कार्यालयबाट समय सुनिश्चित भएपछि समय टुङ्गिनेछ । संसदीय दलका कार्यालयहरूको व्यवस्थापन र सेवा सुविधाका विषयमा पनि छलफल भएको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आफूहरु प्रतिपक्षको भुमिकामा बस्ने स्पष्ट पारे । बैठकमा सांसदहरूको डकुमेन्टेसन, फोटो, फारम भर्ने र नयाँ भवनको व्यवस्थापनका विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने, ‘हामी प्रतिपक्षको भूमिका निर्वाह गर्छौं । बैठकमा सांसदहरूको डकुमेन्टेसन, फोटो, फारम भर्ने र नयाँ भवनको व्यवस्थापनका विषयमा छलफल भएको छ । १२ गते शपथको तयारी छ, बाँकी सरकारले के गर्छ हेरौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले दलको आकारअनुसार कार्यालयको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए।

उनले भने, ‘दलको आकार अनुसार कार्यालयहरूको व्यवस्थापन गर्ने तयारी भइरहेको छ । संसदीय दलका कार्यालयहरू कहाँ रहने भन्ने विषयमा छलफल भयो । केही हेरफेरहरू हुन सक्छन्, हामीलाई व्यवस्थापन देखाउने काम भइरहेको छ ।’

संसद सचिवालयकाअनुसार निर्वाचन आयोगले सांसदहरूको अन्तिम नामावली राष्ट्रपति कार्यालय पठाउने प्रक्रिया अघि बढाएकाले शपथको समय केही दिनमै औपचारिक रूपमा सार्वजनिक गरिनेछ । सचिवालयले नयाँ कार्यकालका लागि आवश्यक प्रशासनिक र भौतिक पूर्वाधारको व्यवस्थापनलाई समेत तिब्रता दिएको छ ।