युद्धको कारण खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको आयात अवरुद्ध हुन थालेपछि नेपालमा विद्युत खपत उच्च बढ्न थालेपछि प्राधिकरण दवावमा परेको हो । ग्यास अभावका कारण उपभोक्ताहरू विद्युतीय चुलोतर्फ र डिजेल, पेट्रोल अभावका कारण विद्युतीय गाडीतर्फ आकर्षित हुने क्रम बढेको छ । त्यसले गर्दा विद्युत वितरणमा दवाव सृजना हुने र ट्रान्सफर्मरहरु जल्ने क्रम पनि बढन सक्ने अनुमानसहित पूर्व तयारी शुरु गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्राधिकरणका अनुसार यस वर्ष पिक माग २८०० मेगावाट पुग्ने अनुमान गरिएको छ, जबकी गत वर्ष २६०० मेगावाट मात्र थियो । त्यहीक्रममा बढ्दो मागले विद्युत वितरण प्रणालीमा पर्न सक्ने असर रोक्नको लागि प्राधिकरणले एकैसाथ १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्ने भएको छ ।
प्राधिकरणले २५ देखि ५० केभिए क्षमताका ट्रान्सफर्मर किन्ने भएको हो । त्यसको लागि केही दिन भित्रै प्रकृया शुरु गर्न लागिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
साथै प्राधिकरणले हाल पुराना ट्रान्सफर्मरलाई काठमाडौँ, हेटौँडा, नेपालगन्ज, बुटवल र जनकपुरमा रहेका आफ्ना पाँचवटा मर्मत केन्द्रहरूमा मर्मत गरिरहेको छ ।