बुद्धभुमी नेपाल हाइड्रोपावरले चैत २२ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Mar 20, 2026 09:03 AM Merolagani



बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

 

अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा २०८३ बैशाख १३ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक, नुवाकोट र एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।

हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले आयोजना सञ्चालनका लागि लिएको ऋणहरुको आंशिक भुक्तानी गर्न प्रयोग गर्नेछ। हाल कम्पनीको सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंक गरी चारवटा बैंकमा कुल ९६ करोड ९० लाखा ९१ हजार ६०९ रुपैयाँ ऋण बाँकी छ। हकप्रद शेयर निष्काशन गरी प्राप्त रकमबाट भुक्तानी गरेपश्चात कम्पनीको ऋण ५६ करोड ९० लाख ९१ हजार ६०९ रुपैयाँ बाँकी रहनेछ।

 



चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।