मध्यपूर्वमा यति बेला "काइनेटिक वार" चलिरहेको छ। जहाँ सयौँ नागरिकहरूले ज्यान गुमाएका छन्। यसैबिच फारसी खाडीबाट उत्पन्न भएको आर्थिक भूकम्पको प्रभाव अहिले विश्वभर महसुस हुन थालेको छ। एट्लान्टिक काउन्सिलका अन्तर्राष्ट्रिय अर्थशास्त्रका अध्यक्ष जोश लिपस्की भन्छन्, "वर्तमान अवस्थामा कोही पनि विजेता छैन।"
विश्वको सबैभन्दा ठुलो प्राकृतिक ग्यास क्षेत्रको एक हिस्सा रहेको इरानको 'साउथ पार्स' सुविधामा इजरायलले आक्रमण गरेको थियो। त्यसको बदला स्वरूप इरानले कतारका 'लिक्विड नेचुरल ग्यास' (तरल प्राकृतिक ग्यास) केन्द्रहरूमा आक्रमण गरेपछि यस हप्ता ऊर्जा सङ्कट थप चर्किएको छ। ग्यासको मूल्यमा भएको भारी वृद्धिका कारण कतिपय सरकारहरूले बिजुली खपतमा नियन्त्रण गर्न सुरु गरिसकेका छन्। पाकिस्तानले दुई हप्ताका लागि विद्यालयहरू बन्द गरेको छ भने भारतले उत्पादकहरूका लागि प्राकृतिक ग्यासको कोटा निर्धारण गरिरहेको छ।
भारतको पुणे सहरमा ग्यासबाट चल्ने शव दाह गृहहरूले समेत आफ्नो सञ्चालन स्थगित गर्नुपरेको छ। यद्यपि संयुक्त राज्य अमेरिकाले इजरायलसँगै युद्ध सुरु गरेको थियो। तर अमेरिकी अर्थतन्त्रलाई सबैभन्दा कम क्षति पुग्ने सम्भावना देखिएको छ। यसको मुख्य कारण अमेरिकाको विश्व-अग्रणी घरेलु तेल र प्राकृतिक ग्यास उत्पादन हो।
'आरएसएम'का प्रमुख अमेरिकी अर्थशास्त्री जो ब्रुसुएलासले बिहीबार 'सीएनएन'लाई बताएअनुसार, "फ्र्याकिङको विकास र जीवाश्म इन्धनबाट अन्य विकल्पतर्फ लाग्ने प्रक्रियाले अमेरिकी अर्थतन्त्रका लागि एक 'बफर' (प्रतिरोधक) तयार गरेको छ। जसले यस्ता ऊर्जा झट्काहरूलाई थेग्न मद्दत गर्छ।" यद्यपि, उनले यो सुरक्षा कवचको पनि निश्चित सीमा हुने चेतावनी दिएका छन्। ब्रुसुएलास थप्छन्, "यदि युद्ध लम्बियो भने हामीले यहाँ पनि उल्लेखनीय आर्थिक सुस्तता भोग्नुपर्नेछ। तर अहिले नै हामी एसियाको जस्तो अवस्थामा छैनौँ। जहाँ मागमा ठुलो गिरावट आएको छ र जसले धेरै अर्थतन्त्रहरूलाई छिट्टै मन्दीतर्फ धकेल्ने निश्चित छ।"

एसियामा तनावको प्रभाव
दक्षिण कोरियाले गत हप्ता ३० वर्षमा पहिलो पटक इन्धनको थोक मूल्यमा सीमा तोकेको छ। पाकिस्तानले विद्यालयहरू बन्द गर्नुका साथै बजेट सन्तुलन मिलाउन सरकारी कर्मचारीहरूको तलबमा कटौती गरेको छ। थाइल्यान्डले कर्मचारीहरूलाई 'वर्क फ्रम होम' (घरबाटै काम गर्न) आदेश दिएको छ भने फिलिपिन्सले हप्तामा चार दिन मात्र काम गर्ने नियम लागू गरेको छ। बङ्गलादेशमा इन्धन खरिदमा लगाइएको सीमाका कारण मोटरसाइकल चालकहरू ट्याङ्की भर्न घण्टौँसम्म लाइनमा बस्न बाध्य छन्।
अनुसन्धान संस्था 'वुड म्याकेन्जी'का अनुसार बङ्गलादेशभरि प्राकृतिक ग्यासको व्यापक अभाव देखिएको छ। जसका कारण तयारी पोसाक (गार्मेन्ट) उत्पादकहरूले उत्पादनमा ठुलो कटौती गर्नुपरेको छ।
चीन इरानी तेलको सबैभन्दा ठुलो खरिदकर्ता हो र उसको कुल कच्चा तेल आयातको करिब आधा हिस्सा 'स्ट्रेट अफ हर्मुज' (हर्मुजको जलडमरूमध्य)बाट आउँछ। यति हुँदाहुँदै पनि चीन आफ्ना छिमेकीहरूभन्दा सुरक्षित देखिन्छ। यसको मुख्य कारण चीनको ऊर्जा आवश्यकता अझै पनि कोइलामा बढी निर्भर हुनु हो। 'क्यापिटल इकोनोमिक्स'का चीन प्रमुख जुलियन इभान्स-प्रिचर्डका अनुसार चीनले विद्युतीय सवारी साधन र नवीकरणीय ऊर्जामा गरेको लगानीले पनि उसलाई उच्च इन्धन मूल्यबाट जोगाएको छ। मार्च १० को एक नोटमा इभान्स-प्रिचर्डले लेखेका छन् कि बेइजिङसँग करिब १२० दिनका लागि पुग्ने कच्चा तेलको भण्डार छ। यसले गर्दा विश्वव्यापी व्यापारमा चिनियाँ उत्पादकहरूलाई फाइदा पुग्न सक्छ। किनभने अन्य देशका प्रतिस्पर्धीहरूले बढ्दो उत्पादन लागतको सामना गरिरहेका छन्।
युरोपमा झट्कामाथि झट्का
युरोपेलीहरूका लागि यो ऊर्जा सङ्कट निकै कष्टकर र पुरानै समस्याको पुनरावृत्ति जस्तो भएको छ। चार वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली देशहरूले रुसी ऊर्जाको विकल्प खोज्दै फारसी खाडीका देशहरूसँग सम्बन्ध बढाएका थिए। तर अहिले त्यही क्षेत्र युद्धको चपेटामा परेको छ। "युरोपका लागि यो 'फेरि त्यही समस्या' भन्ने जस्तो भएको छ," लिपस्कीले प्रागबाट भने, जहाँ उनी विभिन्न देशका अर्थमन्त्री र केन्द्रीय बैंकरहरूसँग छलफलमा थिए।
युरोपेली युनियन (ईयू) का घरपरिवारका लागि प्राकृतिक ग्यास ऊर्जाको मुख्य स्रोत हो। युद्ध सुरु भएयता यसको मूल्य झन्डै दोब्बर भएको छ। बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले ईयू शिखर सम्मेलनमा भने, "यदि यो मूल्य वृद्धि स्थायी भयो भने हामी गहिरो सङ्कटमा पर्नेछौँ।" यद्यपि ईयूले आफ्नो अधिकांश 'एलएनजी' (तरल प्राकृतिक ग्यास) अमेरिकाबाट किन्ने गर्छ। तर कतारी आपूर्तिमा आएको अवरोधले विश्वव्यापी बजारमै मूल्य बढाएको छ। 'केप्लर'का वरिष्ठ निर्देशक गिलियन बोकाराका अनुसार युद्ध सुरु भएयता युरोपतर्फ जान लागेका कम्तीमा ११ वटा ग्यास ट्याङ्करहरूलाई एसियातिर मोडिएको छ। जहाँ खरिदकर्ताहरूले युरोपेलीहरूभन्दा बढी मूल्य तिर्न तयार भएका छन्। 'बेरेनबर्ग बैंक'का मुख्य अर्थशास्त्री होल्गर स्मिडिङका अनुसार यदि यो द्वन्द्व केही महिनासम्म जारी रह्यो भने युरोपेली युनियनमा उपभोक्ता मुद्रास्फीति एक प्रतिशत विन्दुभन्दा बढीले बढ्न सक्छ र आर्थिक वृद्धि दर आधा प्रतिशत विन्दुले घट्न सक्छ।
लुक्ने ठाउँ कतै छैन
विश्वव्यापी बजारको प्रकृतिका कारण अमेरिका जस्तो ऊर्जा निर्यात गर्ने देश पनि उच्च मूल्यबाट पूर्ण रूपमा जोगिन सक्दैन। अमेरिकाले पर्याप्त ऊर्जा उत्पादन गरे पनि त्यहाँका 'रिफाइनरी' (शुद्धीकरण केन्द्र) हरू अमेरिकी तेल क्षेत्रबाट निस्कने विशेष प्रकारको कच्चा तेल प्रशोधन गर्न पूर्ण रूपमा सक्षम छैनन्। फलस्वरूप, गत महिना अमेरिकामा ग्यासको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेर औसत २.९२ डलरबाट ३.८८ डलर पुगेको छ। यो सर्वसाधारणका लागि आर्थिक बोझ मात्र नभई मध्यावधि निर्वाचनको सङ्घारमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टीका लागि ठुलो राजनीतिक चुनौती पनि हो। तर, विज्ञहरूका अनुसार ऊर्जाको यो झट्काले मात्रै अमेरिकी अर्थतन्त्रलाई मन्दीमा पुर्याउन भने पर्याप्त छैन। "पेट्रोलको मूल्य ३० प्रतिशतले बढ्दैमा ३० ट्रिलियन डलरको विशाल अर्थतन्त्र ढल्दैन," ब्रुसुएलासले भने। उनका अनुसार युद्धका कारण मन्दीको सम्भावना २० प्रतिशतबाट बढेर ३० प्रतिशत पुगेको भए तापनि स्थिति अझै पूर्ण रूपमा नियन्त्रण बाहिर गइसकेको छैन।