कम्पनीले हालै एक सूचना जारी गर्दै शेयर बजारमा लगानीकर्ताहरूको पहुँच र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो नयाँ सेवा सुरु गर्न लागेको जानकारी दिएको हो।
मार्जिन ट्रेडिङ सुविधाअन्तर्गत लगानीकर्ताहरूले आफ्नो खातामा रहेको मौज्दातभन्दा बढी रकमको शेयर खरिद गर्न सक्नेछन्। यस प्रक्रियामा ब्रोकर कम्पनीले निश्चित धितो राखेर लगानीकर्तालाई सेयर खरिदका लागि पूँजी उपलब्ध गराउने छ।
यसअघि नासा सेक्युरुटिजले पनि मार्जिन सेवा प्रवाह गर्ने घोषणा गरिसकेको छ। यद्यपि नेपाल धितोपत्र बोर्डले फागुन १ गतेदेखि नै मार्जिन निर्देशिका लागु गरेको भए पनि नेप्सेले आफ्नो तर्फबाट बनाउनु पर्ने कार्यविधि बनाउन विलम्ब गरेका कारण चैत लागे पनि सेवा सूचारु हुन सकेको छैन।सोही कारण कम्पनीहरूले चाँडै आउँदै छ भन्ने सूचना जारी गर्न थालेका हुन्। कोहिनुरले पनि मार्जिन सेवा दिने सूचना निकालेसँगै निकट भविष्यमा सबैभन्दा पहिले सेवा दिनेमा दोस्रो नम्बरमा कोहिनुर देखिएको छ।

सेवा मार्फत लगानीकर्ताले आफ्नो खल्तीमा भएको रकमभन्दा बढी मूल्यको शेयर खरिद गर्न सक्नेछन्। यसमा ब्रोकरले थप पूँजी उपलब्ध गराउँछ। बजारमा मूल्य बढ्ने सम्भावना भएका बेला पूँजी अभावका कारण अवसर गुमाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ। लगानीकर्ताले आफ्नो सीमित पूँजीलाई अधिकतम उपयोग गरी ठुलो परिमाणमा कारोबार गर्न सक्नेछन्। यो सेवा प्राप्त गर्ने प्रक्रिया सरल, पारदर्शी र झन्झटमुक्त हुने कोहिनुरले दाबी गरेको छ। कम्पनीका अनुसार यो सेवा नियामक निकायको निर्देशिका र मापदण्ड बमोजिम प्रदान गरिनेछ। हाल कोहिनुरले आफ्ना काठमाडौँ र पोखरा कार्यालयहरू मार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ। मार्जिन ट्रेडिङको आधिकारिक सुरुवात मिति र थप विस्तृत विवरण चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।