लामो समयदेखि आम नागरिकले ट्रायल पास गरे पनि वर्षौसम्म लाइसेन्स प्राप्त गर्न सकेका थिएनन् । लाइसेन्स छपाइमा देखिएको ढिलासुस्ती हटाइ आगामी असारभित्र थाँती रहेका सबै लाइसेन्सको छपाइ कार्य सम्पन्न गरेर वितरण गर्ने सरकारको लक्ष्य छ ।
बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि लाइसेन्स छपाइकार्यले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले नयाँ सरकारको निर्देशनअनुसार लाइसेन्स छपाइ कार्यलाई तीव्रता दिइएको जनाएको छ । विभागका अनुसार, आउँदो असार मसान्तसम्म छाप्न बाँकी रहेका सम्पूर्ण लाइसेन्स छापेर वितरण गर्ने लक्ष्य लिइएको छ । त्यस्तै, साउन महिनादेखि भने ट्रायल पास गरेका सेवाग्राहीलाई २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने तयारी रहेको विभागका महानिर्देशक राजीव पोखरले जानकारी दिए ।
उनका अनुसार, हाल दैनिक रूपमा करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ । यसअघि भने दैनिक १५ सयदेखि २ हजार प्रतिमात्र लाइसेन्स छपाइ हुने गरेको थियो, जसका कारण ठूलो संख्यामा लाइसेन्स छपाइ बाँकी रहँदै आएको थियो । ‘नयाँ सरकारको निर्देशनअनुसार सवारी लाइसेन्स छपाइ कार्यमा तीव्रता दिएका छौं । आउँदो असारभित्र बाँकी लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने लक्ष्य छ,’ उनले भने, ‘हाल दैनिक रुपमा ४० हजार नयाँ लाइसेन्स प्रिन्ट भइरहेको छ ।’

विभागका अनुसार अहिले पनि झन्डै ३० लाख लाइसेन्स छपाइ हुन बाँकी रहेको अवस्था छ । यही अवस्थालाई समाधान गर्न सरकारले छपाइ क्षमतामा व्यापक वृद्धि गर्दै कार्यलाई तीव्र बनाएको हो । सरकारले लाइसेन्स छपाइको जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दिएको छ । जसअनुसार, केन्द्रबाट १२ लाख लाइसेन्स छपाइ गरेर दिने सम्झौता भएको थियो ।
त्यसमध्ये हालसम्म केन्द्रले ३ लाख सवारी लाइसेन्स प्रिन्ट गरेर विभागलाई पठाएको छ । बाँकी ४ लाख लाइसेन्स प्रिन्टका लागि विवरण पठाइएको विभागले जनाएको छ । जेनजी आन्दोलनपछि विभागमा लाइसेन्सको डाटा र छाप्ने मेसिनमा क्षति पुगेपछि सरकारले केन्द्रलाई लाइसेन्स छपाइको जिम्मा दिएको थियो ।
सो अनुसार गत २०८२ कात्तिक २१ मा तत्कालीन सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा केन्द्रबाट लाइसेन्स छपाइ कार्य अघि बढेको थियो । सुरुवातमा केन्द्रले छपाइ कार्यमा ढिलाई गर्यो । केन्द्रले त्यतिबेला अति आवश्यक पर्ने वर्गका लाइसेन्सको डेटाअनुसार छपाइ अघि बढेको थियो ।
केन्द्रका अनुसार, सवारी लाइसेन्स छपाइ गर्ने मेसिनको क्षमता प्रतिघण्टा कम्तीमा २५०० लाइसेन्स छपाइ गर्न सक्ने भए पनि त्यसअनुसारको छपाइकार्य भने हुन सकेको थिएन् । किनकी, विभागबाट डेटा र लाइसेन्स छपाइको विवरण प्राप्त नहुनु मुख्य कारण थियो ।
केन्द्रले मात्र होइन्, अहिले यातायात व्यवस्था विभागले समेत मेसिन खरिद गरेर लाइसेन्स छपाइ गर्ने प्रक्रिया अघि बढाइरहेको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत १०० दिनभित्र घरघरमै लाइसेन्स पुर्याउने महत्वाकांक्षी योजना पनि अघि सारेको छ । यस योजनाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घटाउने विश्वास लिइएको छ ।
सरकारको यो कदम सफल भएमा लाइसेन्स प्राप्त गर्न वर्षौँसम्म कुर्नुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।