२०८३ को शेयर बजार 'बुलिश कि बियरिश' ?

Apr 14, 2026 05:01 AM merolagani



  • देब गुरागाँई

नेपालको राजनीतिक इतिहासमा २०८२ साल एउटा यस्तो प्रस्थान बिन्दु बन्यो, जसले परम्परागत सत्ता समीकरणलाई भत्काउँदै 'नयाँ जनादेश' र 'नयाँ आशा'को बीजारोपण गर्यो ।

बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको दुई हप्ता मात्र पुग्दा नतिजाहरू सतहमा देखिन थालेका छन् । विशेषगरी पुँजीबजार, जसलाई अर्थतन्त्रको ऐना मानिन्छ, त्यहाँ उत्साह र संशयको एउटा रोचक द्वन्द्व सुरु भएको छ । यसै सन्दर्भमा, नयाँ वर्ष २०८३ को आगमनसँगै नेपालको शेयर बजारले कुन दिशा समात्ला ? के २०८३ साल लगानीकर्ताका लागि 'गोल्डेन इयर' वा 'बुलिश' बर्ष सावित होला ?

१. नयाँ सरकारको 'हनिमुन पिरियड' र बजारको प्रतिक्रिया

निर्वाचनको परिणाम देख्दा नै नेप्से परिसूचकमा देखिएको करिब ३५० अंकको सुधारले लगानीकर्तामा रहेको उच्च मनोविज्ञानलाई प्रतिविम्बित गर्छ । सरकारले कार्यभार सम्हालेको दुई हप्तामै धितोपत्र बोर्ड (SEBON) र नेप्सेमार्फत जुन सुधारका प्रयासहरू थालिएका छन्, ती वर्षौँदेखि थाती रहेका मागहरू थिए ।

शेयर बजारको अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न सर्किट ब्रेकरको सीमा अन्तराष्ट्रिय अभ्यास नजिक पुर्याउँदै ५% र ८% कायम गरिनुले बजारमा तरलता वृद्धि हुने र बजार परिपक्व हुन मद्दत गर्नेछ । आफ्टर मार्केट अर्डर (AMO) ले आज फुर्सद नहुनेले भोलिको लागि राख्ने एड्भान्स अर्डर हो। कार्यालय समयमा व्यस्त रहने लगानीकर्ताका लागि यो व्यवस्थाले बजारमा पहुँच र तरलता दुवै बढाउने निश्चित छ । इन्साइडर ट्रेडिङमा कडाइ गर्ने अर्थ मन्त्रीकाे भनाईले बजारलाई स्वच्छ बनाउन र सूचनाको पहुँचमा हुने बदमासी रोक्न थालिएको संकेत गर्दछ । यो कदमले सबै किसिमका लगानीकर्ताको विश्वास जित्नेछ । सरकारले सुशासनको मामलामा देखाएको 'जिरो टोलरेन्स' नीतिले बजारमा केही अल्पकालीन संशय पैदा गरेतापनि वित्तीय अनियमितता तथा बदमासीका कारण ब्रोकर कम्पनीको लाइसेन्स निलम्बन गर्नु, केही ठूला विवादास्पद व्यापारीलाई गिरफ्तारी गर्नु र नातावादको गन्ध आउनासाथ श्रम मन्त्रीलाई १४ दिनमै बिदाइ गर्नु, मन्त्रीको कार्यसम्पादन प्रभावकारी भएन भनी सचेत गराउनुले 'काम नगरे वा बदमासी गरे कसैलाई छुट छैन' भन्ने बलियो सन्देश दिएको छ ।

२. शेयर बजारमा भारतको उदाहरण

आर्थिक सुधार तथा सेयरबजार वृद्धिमा भारतको उदाहरण धेरैले दिन थालेका छन्। नरेन्द्र मोदी नेतृत्वमा सन् २०१४ पछि भारतमा स्थिर सरकार रह्यो, जसले नीति निरन्तरता सुनिश्चित गर्यो । यसको परिणामस्वरूप त्यहाँको आर्थिक अवस्था र शेयर बजार (जस्तै BSE Sensex, NEC NIFTY-50) करिब तीन गुणा वृद्धि भयो। तर नेपाल र भारतबीच केही आधारभूत फरक छन् । भारतको बजार ठूलो र विविधीकृत छ । त्यहाँ विदेशी लगानीको प्रवाह उच्च छ। प्रविधि, उत्पादन र सेवा क्षेत्र बलियो छ। नेपालमा भने बजार अझै बैंकिङ र हाइड्रोपावरमा केन्द्रित छ। त्यसैले, भारतको जस्तो तीन गुणा वृद्धि छोटो समयमा अपेक्षा गर्नु यथार्थपरक नहुन पनि सक्छ।

३. आर्थिक आंकडा र प्रक्षेपण

नेपाल राष्ट्र बैंकद्वारा जारी आर्थिक वर्ष २०८२/८३ को पछिल्लो आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका केही महत्त्वपूर्ण सूचकहरू:

मुद्रास्फीति:  ३.६२ प्रतिशत, विदेशी विनिमय सञ्चिति: ३४१३ अर्ब ७७ करोड, यो सञ्चितिले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त, चालु खाता र शोधनान्तर स्थिति:चालु खाता ५५२ अर्ब ८५ करोड र शोधनान्तर स्थिति ६५८ अर्ब ३५ करोडले बचतमा रहेको छ। विप्रेषण आप्रवाह (Remittance): १८८ अर्ब ६४ करोड विप्रेषण भित्रिएको छ। सरकारी खर्च तथा राजस्व:नेपाल सरकारको कुल खर्च ९२६ अर्ब ५९ करोड र राजस्व परिचालन ७४७ अर्ब २८ करोड रहेको छ। निर्यात तथा आयात:कुल निर्यात २०.८ प्रतिशतले र आयात १२.५ प्रतिशतले बढेको छ।

अर्थतन्त्रको बाह्य क्षेत्र सुविधाजनक देखिएतापनि आन्तरिक क्षेत्रमा भने केही चुनौती नभएका होइनन । यो आर्थिक वर्षको आर्थिक वृद्धिका बारेमा विश्वव्यापी वित्तीय संस्थाहरू र स्वदेशी लक्ष्यहरू बीच ठूलो खाडल देखिन्छ । विश्व बैंक र ADBले क्रमशः २.३% र २.६% को न्यून प्रक्षेपण गरेका छन् । त्यस्तै IMF ले ३% देखि ३.३% सम्मको वृद्धि हुने संशोधित प्रक्षेपण गरेको छ । नेपाल सरकारको बजेट २०८२/८३ले ६% को आर्थिक वृद्धिदर अनुमान गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिबद्धता आगामी वर्षहरूमा ७% को आर्थिक वृद्धिदर हुने र ५ वर्षमा १०० अर्ब डलरको GDP पुर्याउने लक्ष्य राखेको छ । बाह्य र आन्तरिक प्रक्षेपण बीच देखिएको यो भिन्नताले के देखाउँछ भने बाह्य जगतले अझै पनि नेपालको संरचनागत समस्यालाई हेरेर प्रक्षेपण गरिरहेका छन्, तर आन्तरिक रूपमा सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधारको योजना सफल भएमा यी प्रक्षेपणहरू फेल हुन सक्छन् । झण्डै दुई तिहाइको स्थिर सरकार ५ वर्षसम्म रहने सुनिश्चितताले नीतिगत अस्थिरताको अन्त्य गरेको छ, जुन शेयर बजारका लागि सबैभन्दा ठूलो 'बुलिश' हुन सक्ने कारक हो ।

४. सरकारको नीति तथा कार्यक्रम, बजेट, मौद्रिक नीति र पुँजीबजारको अन्तरसम्बन्ध

शेयर बजार चल्नका लागि केवल राजनीतिक इच्छाशक्ति मात्र पर्याप्त हुँदैन, यसका लागि देशको आर्थिक अवस्थामा सुधार, तरलता र ब्याजदरको अनुकूलता अनिवार्य छ । हाल निक्षेपको ब्याजदर न्यून र कर्जाको ब्याजदर एकल अंक मुनि झर्नुले पूँजी बजारका लागि 'फ्युल'को काम गरिरहेको छ । यदि सरकारको आगामी फिस्कल पोलिसी र राष्ट्र बैंकको मोनिटरी पोलिसी बीच तालमेल मिलेर त्यसको प्रभाव जनतामा आर्थिक गतिविधि बढाउन उद्धत हुने खालको आएमा नेप्सेले नयाँ रेकर्ड बनाउने निश्चित छ ।

५. २०८३ मा नेप्से परिसूचक कति पुग्ला ?

विगतको ट्रेन्ड र वर्तमान उत्साहलाई विश्लेषण गर्दा, २०८३ साल नेप्सेका लागि ऐतिहासिक वर्ष बन्ने सम्भावना छ । ३५० अंकको वृद्धि पछि बजारले अहिले केही समय'करेक्सन' र 'कन्सोलिडेसन'को बाटो रोजेको देखिन्छ । आधारभूत र प्राविधिक दुवै विश्लेषणका आधारमा भन्नुपर्दा न्यूनतम विन्दु छोईसकेर परिसूचक सुधार उन्मुख दिशातर्फ अग्रसर भएको देखिन्छ । १०० दिन भित्र शुरू वा सम्पन्न हुने सरकारको १०० बुँदे शासकीय सुधार र रास्वपाको आर्थिक एजेन्डा कार्यान्वयनमा आएमा, नेप्सेले आफ्नो अघिल्लो उच्च विन्दु (३२००) लाई यही आर्थिक वर्ष भित्र सहजै पार गर्दै आगामी आर्थिक वर्षमा त्यो भन्दा करिव एक हजार विन्दु माथि सम्म पुग्न सक्ने अनुमान गर्न सकिन्छ । बजारको यो बढोत्तरीमा बैंकिङ क्षेत्रको पुनरुत्थान, वास्तविक क्षेत्रका ठूला कम्पनीको शेयर बजारमा आगमन, अर्थतन्त्र सुधार, वैदेशिक लगानीमा वृद्धि, NRNलाई शेयर लगानी खुला र जलविद्युत क्षेत्रको निर्यात क्षमताले मुख्य भूमिका खेल्नेछ ।

६. लगानीकर्ताले बुझ्नैपर्ने कुराहरू:

२०८३ लाई 'बुलिश' बजारका रूपमा स्वागत गरिरहँदा लगानीकर्ताले केही कुरामा ध्यान दिनु जरुरी छ:

क. क्षेत्रगत चयन: अबको बजारमा बिकृत कारोबारले स्थान नपाउने सम्भावना बढेकोले कमसल 'सबै कम्पनी बढ्ने' युग सकिएको छ । राम्रो लाभांश क्षमता भएका र पारदर्शी व्यवस्थापन भएका कम्पनी मात्र छान्नुपर्छ । पर्यटन, उच्च निर्यात सम्भावना भएका, उत्पादनमूलक क्षेत्र, सूचना प्रविधि, एकल बजार स्वामित्व भएका कम्पनीहरू, हरित ऊर्जा क्षेत्रका कम्पनीहरू, खनिज क्षेत्रका कम्पनीहरू तथा व्यापार क्षेत्रका कम्पनीहरू बजारमा प्रवेश गर्ने र अग्रणी भूमिका खेल्ने उच्च सम्भावना रहेको छ।

ख. राजनीतिक स्थिरता:नेपालको पुँजी बजारमा राजनीतिक घटना क्रमको प्रभाव सधैँ गहिरो रहने गरेको छ। हालैको राजनीतिक परिदृश्यमा मन्त्रीहरू फेरिए पनि सत्ता समीकरण नफेरिने सुनिश्चितता देखिनु लगानीकर्ताका लागि सुखद पक्ष हो। यसले नीतिगत निरन्तरताको आभास दिलाउँछ, जसले बजारलाई अनावश्यक 'पेनिक' वा अस्थिर हुनबाट जोगाउनेछ।जब लगानीकर्ताहरूमा सरकारको आयु र नीतिप्रति विश्वास कायम रहन्छ, तब बजारमा मनोवैज्ञानिक त्रास कम हुन्छ। राजनीतिक स्थिरताले नै आर्थिक सुधारका योजनाहरूलाई गति दिने र नियामक निकायहरूलाई निर्धक्क काम गर्ने वातावरण सिर्जना गर्छ। तसर्थ, सत्ता समीकरणको यो स्थिरता बजारमा दीर्घकालीन भरोसा जगाउने र लगानीको वातावरणलाई परिपक्व बनाउने एक बलियो आधार साबित हुने देखिन्छ।

ग. पुनर्संरचना र प्रविधि: सेवन र नेप्सेको पुनर्संरचनाले ल्याउने नयाँ औजार, नयाँ सूचकांक (इन्डेक्स), नयाँ प्रोडक्टहरू(डेरिभेटीभ), नयाँ बजार (वस्तु बजार) तथा आधुनिक प्रविधिको विकास साथ साथै सरकारको डिजिटल अवधारणाअनुसार कार्यान्वयन हुने फेसलेस, पेपरलेस र ह्युमनलेस सेवाहरूले नेपालको शेयर बजारलाई पनि आधुनिक बजारको पंक्तिमा उभ्याउन सक्छ। यस्ता पहलहरूले लगानीकर्ताको आकर्षण बढाउनुका साथै सङ्ख्या वृद्धि र कारोबारको भोल्युम वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउँछ।

निष्कर्ष:

प्रारम्भिक संकेतहरू उत्साहजनक छन् । नीतिगत सुधार, स्थिर सरकार, र लगानीकर्ताको बढ्दो विश्वासका कारण भारतमाझैँनेपालमा पनि त्यसको झल्को देखिन थालेको छ । यद्यपि, 'सफा सुग्घर' गर्ने प्रक्रियामा केही फोहोर बाहिर निस्कँदा बजारमा केही गिरावट आउनु स्वभाविक हो । अवैध धन (Black Money) बाहिरिने डरले बजारमा केही दबाब देखिए पनि दीर्घकालीन रूपमा यसले 'सेतो' र पारदर्शी लगानीलाई मात्र प्रोत्साहित गर्नेछ । नेपालको पुँजीबजार अहिले एउटा यस्तो मोडमा छ, जहाँबाट पछाडि फर्कने बाटो छैन । २०८२ सालले जग बसालेको छ भने २०८३ साल त्यो जगमा 'आर्थिक महल' ठड्याउने वर्ष हुनेछ । बालेन्द्र शाहको नेतृत्व र रास्वपाको आर्थिक भिजनको सफल फ्युजन हुन सकेमा नेपालको शेयर बजारले साँच्चिकै भारतीय बजारको जस्तै रफ्तार समात्न सक्छ ।

यद्यपि, विश्व बैंकको न्यून प्रक्षेपण र आन्तरिक सुशासनका चुनौतीहरूलाई नजरअन्दाज गर्न मिल्दैन । तर, स्थिर सरकार, घट्दो ब्याजदर र प्रविधिमा आधारित सुधारका कारण लगानीकर्ताले २०८३ लाई ढुक्कसँग 'बुलिश' बजारका रूपमा पुकार्न सक्छन् । यो वर्ष केवल परिसूचक बढ्ने वर्ष मात्र हुने छैन, यो त नेपाली पुँजीबजार 'सिस्टम'मा चल्ने र पारदर्शी बन्ने ऐतिहासिक वर्ष हुनेछ । लगानीकर्ताको लागि लेखकको सल्लाह यो छ कि - बजार सधैँ जोखिमको अधीनमा हुन्छ । राजनीतिक स्थिरता र नीतिगत सुधार सकारात्मक हुँदाहुँदै पनि आफ्नो जोखिम वहन गर्ने क्षमता हेरेर मात्र लगानीको निर्णय लिनु बुद्धिमानी हुनेछ ।

नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा सम्पूर्ण लगानीकर्ताहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

 

  • गुरागाँई पूँजीबजारका जानकार हुन्



अब सुचिकृत कम्पनीको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने, प्री ओपन सेसनको सिमा ५ %

Apr 09, 2026 01:14 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ।