निर्माणको अन्तिम चरणमा २६ मेगावाटको सुपर खुदी जलविद्युत् आयोजना, तीन महिनाभित्र बिजुली बाल्ने तयारी

Apr 22, 2026 10:39 AM merolagani



लमजुङमा निर्माण भइरहेको २६ मेगावाटको सुपर खुदी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । सुपर खुदी हाइड्रोपावर कम्पनीद्धारा प्रवर्द्धित उक्त आयोजना निर्माणको अन्तिम चरणमा पुगेको हो ।

कम्पनीकाअनुसार उक्त आयोजना आगामी तीन महिनाभित्र सम्पन्न भइ व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु गर्नेछ । हाल उक्त जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ८५ प्रतिशत सम्पन्न भइसकेको छ भने पावर हाउस निर्माणसँगै अन्य उपकरण जडानको काम भइरहेको आयोजनाले जनाएको छ ।

‘तीन महिनामा अर्थात जुलाइसम्ममा २६ मेगावाटको सुपर खुदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ विद्युत् उत्पादन गर्ने लक्ष्य छ,’ कम्पनीका एक अधिकारीले भने, ‘अहिले मेसिन जडान, पावर हाउस निर्माणलगायत अन्तिम चरणका कामहरु भइरहेका छन् ।’ उनकाअनुसार टर्बाइन जडानको काम सम्पन्न भइसकेको र अन्तिम चरणका कामहरु बाँकी रहेका हुन् । अन्तिम चरणका बाँकी काम सम्पन्न गरेर आगामी तीन महिनामा आयोजनाले बिजुली उत्पादन गर्ने लक्ष्य लिएको हो ।

आयोजनाको पावरहाउस बतासे ओडार भन्ने स्थानमा बनाइएको छ । हालसम्म हाइड्रो मेकानिकलगायतको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । इलेक्ट्रो मेकानिलकको काम ६० प्रतिशत, प्रसारण लाइन निर्माणको काम ५० प्रतिशत, पावरहाउस लगायत अन्य संरचना ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रसारण लाइनको काम धमाधम

प्रसारण लाइन निर्माणतर्फको काम पनि यतिबेला धमाधम भइरहेको छ । पावरहाउसदेखि आयोजनाबाट उत्पादित बिजुली कुल ५ किलोमिटरको लम्बाइमा रहेको नेपाल विद्युत् प्राधिकरणको तरिकुना सवस्टेशनमा लगेर जडान गरिनेछ ।

१३२ केभी सिंगल सर्किटमार्फत उत्पादित बिजुली उक्त सवस्टेशनमा जोडिनेछ । प्रसारण लाइनका लागि २० वटा टावर निर्माण गर्नुपर्ने हुन्छ । हालसम्म ११ वटा टावर निर्माण तथा ठड्याउने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

२/३ महिनाभित्र उक्त प्रसारण लाइन समेत बनिसक्ने गरी काम भएको आयोजना पक्षको दाबी छ । आयोजनाले व्यवसायिक रुपमा विद्युत् दिने बेलासम्म प्रसारण लाइन नबनेमा बिजुली खेर जाने सम्भावनालाई दृष्टिगत गर्दै प्रसारण लाइनतर्फको काम धमाधम भइरहेको प्राधिकरणले जनाएको छ ।

बैंकको ७० प्रतिशत ऋण लगानी

कुल ५ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाको प्रतिमेगावाट लागत २० करोड पुग्ने अनुमान गरिएको छ । उक्त आयोजना बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशत र ३० प्रतिशत लगानी कम्पनीको इक्विटी(प्रोमोटर र आईपीओ)बाट जुटाएको छ ।

जसमा ग्लोबल आइएमई बैंकको अगुवाईमा हिमालयन बैंक, कुमारी बैंक र कृषि विकास बैंकलगायतको ऋण लगानी रहेको छ । ती बैंकबाट कुल २ अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी जुटाइएको हो । नदी प्रवाहमा आधारित(रन अफ दि रिभर) प्रकृतिको उक्त जलविद्युत् आयोजनाले वार्षिक रुपमा १२९ देखि १३९ गिगावाटसम्म विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ ।

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।