अमेरिकी राष्ट्रपतिले प्रस्ताव पेश नभएसम्म र छलफल निष्कर्षमा नपुगेसम्म युद्धविराम लम्ब्याउने बताए । यद्यपि अमेरिकी सैन्य बलले इरानविरुद्धको नाकाबन्दी जारी रहने ट्रम्पले बताए। यसअघि ट्रम्पले युद्धविराम लम्ब्याउने सम्भावना अत्यन्त कम भएको बताएकाे थिए।
मंगलवार बिहान अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफू युद्धविराम गर्न नचाहेको र इरानसँग कुनै सम्झौता नभएमा पुनः बमबारी गर्ने धम्की समेत दिएका थिए । अमेरिकी उप–राष्ट्रपति जेडी भान्स, जसको पाकिस्तान भ्रमण हाल स्थगित गरिएको छ, ह्वाइट हाउसमा महत्वपूर्ण बैठकहरूमा सहभागी भएको रिपोर्ट गरिएको छ ।
इरानी विदेश मन्त्री अब्बास अराघचीले अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी गरेर युद्धविरामको उल्लंघन गरेको टिप्पणी गरेका छन् । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भनेका छन् कि इरानले अझै शान्ति वार्तामा सहभागी हुने वा नहुने निर्णय गरिसकेको छैन । किनकि उनीहरू वाशिंगटनबाट आएका विरोधाभासी सन्देशहरूबाट असन्तुष्ट छन् ।