अमेरिकी सहायक विदेश मन्त्रीले किन भेटेनन् प्रधानमन्त्री र राष्ट्रपतिलाई ?

Apr 22, 2026 01:49 PM mero lagani



सोमबार ३ दिने भ्रमणको लागि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर बुधबार स्वदेश फर्किएका छन् । 

भ्रमणको क्रममा उनले न त प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटे, न त राष्ट्रपति रामचन्द्र पौडेललाई नै भेटे । अन्य राजनीतिक पार्टीका नेताहरुसँग पनि उनले भेटेनन् । केवल रहँदा उनले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरे । साथै सूचना प्रविधि (आइटी) व्यवसायीसँग अन्तरक्रिया गरेका थिए। अन्य केही व्यक्तिहरुलाई पनि उनले भेटेको बताइए पनि त्यसबारेमा केही खुलाइएको छैन ।

नेपाल भ्रमणमा आएका कुनै पनि विदेशी उच्च अधिकारीले सरकार प्रमुख र राष्ट्र प्रमुखलाई नभेटी फर्किएको सम्भवतः यो पहिलो घटना भएको कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् । त्यसमाथि उनी नयाँ सरकार गठन भए पछि नेपाल भ्रमणमा आएका सबैभन्दा उच्च ओहोदाधारी अतिथि हुन् । त्योभन्दा पनि महत्वपूर्ण कुरा विगतमा अमेरिकाका उच्च अधिकारीहरु दक्षिण एशियाका अन्य मुलुकहरुको भ्रमण गर्दा नेपालमा आउने गरेका थिए । तर, कपुर भने अमेरिकाबाट नेपालको भ्रमणकै लागि मात्र आएका थिए र भ्रमण सकेर फर्किएका छन् । उनी नेपालका लागि मात्र आएकोले अमेरिकाले उनको भ्रमणलाई उच्च महत्व दिएको स्पष्ट हुन्छ । तर, उनले प्रधानमन्त्री र राष्ट्रपतिलाई नभेटी फर्किनुलाई कुटनीतिक वृतले अर्थपूर्णरुपमा लिएको छ ।

नेपालको लागि मात्र आएका उनको भ्रमणलाई अमेरिकाले अति महत्व दिएको स्पष्ट हुन्छ । तर, भ्रमणको क्रममा केवल मन्त्रीहरुलाई भेट्नु, भ्रमणलाई ‘लो प्रोफाइल’मा सिमित गरिनु र भ्रमणका मुख्य एजेण्डाहरुको बारेमा पनि सार्वजनिकरुपमा जानकारी नदिई केवल ‘औपचारिकतामा सिमित’ गर्ने प्रयत्न गरिनुले पनि कुटनीतिक वृतमा थप चर्चा पाएको छ । उनको भ्रमणको अवसरमा ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसिसी)को अवधि एक वर्ष थप गर्नेलगायतका सम्झौता र सहमतिहरु हुने बताइएको थियो । तर, त्योलगायतका अन्य कुनै विषयहरुमा दुई देशबीच कुनै सम्झौता, सहमति भए कि भएनन् भन्ने बारेमा दुवै देशले केही नबताउनु अर्काे रहस्यको विषय हो । ‘उनी फगत अर्थमन्त्री वा परराष्ट्र मन्त्रीलाई बधाई दिन वा मुड फ्रेस गर्न मात्रै पक्कै आएनन् होला, त्यसो भए किन आए ? किन उनले प्रधानमन्त्री, राष्ट्रपति र अन्य नेताहरुलाई भेटेनन् ? यो आफैमा रहस्यको विषय हो । यस बारेमा सरकारले खुलस्तरुपमा जनतालाई वास्तविक कुरा बताउनुपर्छ,’ विगतमा कुटनीतिक क्षेत्रमा काम गरिसकेका एक सांसदले मेरो लगानीसंग भने ।

 




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।