नेपाल बीमा ऐन, २०७९ को दफा ३५ को प्रयोजनका लागि सार्वजनिक गरिएको यस विवरणले बीमा क्षेत्रमा भइरहेको सुदृढीकरण र मर्जरपछिको पूँजीगत वृद्धिलाई प्रस्ट पारेको छ।
विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स ८ अर्ब २० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजीका साथ अग्रस्थानमा देखिएको छ। त्यस्तै हिमालयन लाइफको पूँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ उल्लेख छ। मेट लाइफ (एलिको) भने विदेशी बीमकको शाखाको रूपमा सञ्चालनमा रहेको जानकारी दिइएको छ।
निर्जीवन बीमातर्फ पनि १४ वटै कम्पनीहरू सूचीकृत छन्, जसमा शिखर इन्स्योरेन्सको २ अर्ब ९२ करोड, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। यस क्षेत्रमा दि ओरियन्टल र नेशनल इन्स्योरेन्सले विदेशी शाखाका रूपमा सेवा दिइरहेका छन्। पुनर्बीमातर्फ सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको १३ अर्ब ४२ करोड र निजी क्षेत्रको हिमालयन रि–इन्स्योरेन्सको १० अर्ब ६५ करोड रुपैयाँ पूँजी रहेको छ।
ग्रामीण भेगसम्म बीमाको पहुँच पुर्याउन इजाजत पाएका ७ वटा लघुबीमा कम्पनीहरूको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको छ। जसमा नेपाल माइक्रो, गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफले सर्वसाधारण शेयर निष्काशन गरेर ७५ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएका छन् । स्टार, प्रोटेक्टिभ र ट्रष्ट माइक्रो लाइफले साढे ५२ करोड रुपैयाँको चुक्ता पूँजी कायम गरेका छन् भने सर्वसाधारणमा शेयर निष्काशनको लागि सेबोनमा आवेदन समेत दिएका छन् । सात वटा लघु बीमा कम्पनीहरुले विभिन्न सहरहरूबाट कारोबार गरिरहेका छन्। यो अद्यावधिक सूचीले नेपालको बीमा बजारमा पुँजी वृद्धिको लहर आएको र कम्पनीहरू आर्थिक रूपमा बलियो बन्दै गएको संकेत गर्दछ, जसले बीमितहरूको सुरक्षा र दाबी भुक्तानी क्षमतामा थप विश्वसनीयता प्रदान गर्ने विश्वास लिइएको छ।
