चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेपनि र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ९.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६.६४ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज घटेर ६७ करोड ३७ लाख रुपैयाँमा सीमित भएसँगै सञ्चालन मुनाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८१ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १४ पैसा बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.७७ गुणा रहेको छ।
३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी १५ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
