जनकपुरमा २ अर्बको लगानीमा पहिलो ५ तारे होटल बन्ने

May 04, 2026 04:04 PM Merolagani



चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालन गरेर हस्पिटालिटी क्षेत्रमा जमेका एनआरएनएका पूर्वउपाध्यक्ष रामेश्वर शाहले जनकपुरधाममा २ अर्ब रुपैयाँको लगानीमा पहिलो पाँच तारे होटल निर्माण सुरु गरेका छन्। मिथिला हस्पिटालिटी अन्तर्गत सञ्चालन हुने यस परियोजनाको २०८३ वैशाख २१ गते मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले भव्य समारोहका बीच भूमि पूजन गरेका हुन्।

साढे २ बिघा जग्गामा फैलिने यस होटलको कूल निर्मित क्षेत्रफल १ लाख २० हजार वर्गफिट रहनेछ भने यसमा ८ विलासी सुइटसहित १२४ कोठा र ३७२ बेडको व्यवस्था गरिनेछ। निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गरी २०८६ सालको वैशाखदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यस परियोजनामा शाहसँगै पूर्व बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना, व्यवसायी काजी लामा, सुदीप कुमार चौधरी र उदयकान्त झाको समेत लगानी रहेको छ। होटलमा अन्तर्राष्ट्रिय स्तरका रेस्टुरेन्ट, क्यासिनो, रूफटप पूल बार, स्पा, हेल्थ क्लब, टेनिस कोर्ट र एम्फीथिएटर जस्ता आधुनिक सुविधाहरू उपलब्ध हुनेछन्। होटल सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा १५० जनाले रोजगारी पाउनेछन् भने यसले जानकी मन्दिर र रामायण सर्किटमा आउने धार्मिक पर्यटकहरूलाई स्तरीय आवास सुविधा प्रदान गर्नेछ। भूमि पूजन कार्यक्रममा मन्त्री कनिश पटेल, सांसद मनिष झा र एनआरएनए संस्थापक डा. उपेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो। यो होटल सञ्चालनमा आएसँगै जनकपुर पाँच तारे सेवा दिने मधेश प्रदेशकै पहिलो शहर बन्नेछ।