बुक बिल्डिङको सरगर्मी : ११०० देखि १७०० सम्मको मूल्य प्रस्ताव गर्दै तीन ठूला कम्पनी, आज खुल्ने सिलबन्दीमा नर्भिकले ११ सय मूल्य पाउला ?

May 06, 2026 12:44 PM Merolagani



सुवास निरौला 

नेपालको पूँजी बजारमा आउने केही दिनमा तीन वटा ठूला कम्पनीहरूले बुक बिल्डिङ विधिमार्फत आफ्नो प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्‍याएका छन्। 

 

यसरी शेयर निष्कासनको दौडमा रहेका कम्पनीहरूमा नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड, फोनपे पेमेन्ट सर्भिस र जगदम्बा स्पिनिङ मिल्स रहेका छन्। यी तीनवटै कम्पनीहरू अहिले योग्य संस्थागत लगानीकर्तासँगको छलफल र मूल्य निर्धारणको प्रक्रियामा व्यस्त रहेका छन्। जसमा प्रक्रियागत हिसाबले नर्भिक हस्पिटल सबैभन्दा अगाडि देखिएको छ।

बुक बिल्डिङ विधिमा शेयरको मूल्य निर्धारण गर्ने प्रक्रिया अन्य साधारण आईपीओभन्दा निकै भिन्न र प्राविधिक हुन्छ। 'बुक बिल्डिङ निर्देशिका, २०७७' ले तोकेको नियमअनुसार कुनै पनि कम्पनीले शेयर निष्कासन गर्नुअघि एक किसिमको प्रारम्भिक विवरण पत्र (प्रस्पेक्टस) तयार गर्नुपर्ने हुन्छ। यो प्रस्पेक्टसमा कम्पनीको वित्तीय अवस्था, भावी योजना, सञ्चालकहरूको विवरण र शेयरको अनुमानित मूल्य समावेश गरिएको हुन्छ। कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग औपचारिक छलफल चलाउनुअघि नै यो विवरण पत्र तयार भइसकेको हुन्छ र त्यसमा कम्पनीले आफूले पाउन चाहेको एक किसिमको आधार मूल्य (Base Price) पनि तय गरेको हुन्छ। यही प्रस्पेक्टसको आधारमा कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूलाई 'रोड-शो' वा छलफलमा आमन्त्रण गर्दछ। छलफलको क्रममा लगानीकर्ताहरूलाई उक्त विवरण पत्र अध्ययन गर्न दिइन्छ र कम्पनीको प्रस्तावमाथि आफ्नो राय दिन लगाइन्छ। प्रस्पेक्टसमा तय गरिएको मूल्य मान्ने वा नमान्ने र कुन मूल्यमा शेयर खरिद गर्न तयार हुने भन्ने अन्तिम अधिकार योग्य संस्थागत लगानीकर्तामै निहित हुन्छ।

प्रक्रियागत रूपमा निकै अघि बढेको नर्भिक इन्टरनेशनल हस्पिटलले योग्य संस्थागत लगानीकर्तासँगको छलफल र आशय मूल्य सङ्कलनको काम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कम्पनीले गत वैशाख ११ गते काठमाडौँको एक होटेलमा योग्य संस्थागत लगानीकर्ताहरूको भेला बोलाएर आफ्नो वित्तीय अवस्था र भावी योजनाबारे विस्तृत जानकारी गराएको थियो। सोही छलफलको क्रममा कम्पनीले आफ्नो प्रस्पेक्टस सार्वजनिक गर्दै प्रति कित्ता शेयरको मूल्य १ हजार १०० रुपैयाँको हाराहारीमा हुनुपर्ने प्रस्ताव गरेको थियो। निर्देशिकाको नियमअनुसार कम्पनीले ५ दिनको समय दिएर वैशाख २१ गतेसम्म संस्थागत लगानीकर्ताहरूबाट गोप्य रूपमा आशय मूल्य सङ्कलन गरेको थियो। यसरी प्राप्त भएको गोप्य सिलबन्दी आशय मूल्य आज वैशाख २२ गते साँझ ५ बजे नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा खोलिँदै छ। आज खोलिने बिडबाट नर्भिकको शेयरका लागि लगानीकर्ताहरूले कति मूल्य कबोल गरे र वास्तविक 'कट-अफ' मूल्य कति कायम हुनेछ भन्ने कुरा स्पष्ट हुनेछ।

नर्भिक हस्पिटलले आफ्नो जारी पुँजी १ अर्ब २ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने २० लाख ४१ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो। यस कुल कित्तामध्ये ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता शेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बिक्री गरिनेछ। यहाँबाट मूल्य तय भएपछि दोस्रो चरणमा बाँकी रहेको ६० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ। जसमा सर्वसाधारणले संस्थागत लगानीकर्ताले कायम गरेको मूल्यभन्दा १० प्रतिशत सस्तोमा शेयर पाउने कानुनी व्यवस्था रहेको छ। 

नर्भिकसँगै लाइनमा रहेका अन्य दुई कम्पनी फोनपे र जगदम्बा स्पिनिङ मिल्स पनि अहिले संस्थागत लगानीकर्ता फकाउने र मूल्य प्रस्ताव गर्ने चरणमा रहेका छन्। भुक्तानी सेवा प्रदायकको रूपमा स्थापित फोनपेले पनि बुक बिल्डिङका लागि आवश्यक प्रस्पेक्टस तयार पारिसकेको छ। कम्पनीले आफ्नो प्रारम्भिक विवरण पत्रमा प्रति कित्ता शेयरको मूल्य करिब १ हजार ७०० रुपैयाँ प्रस्ताव गरेको बुझिएको छ। फोनपेले आफ्नो प्रविधिमा आधारित व्यवसाय र बजारमा रहेको बलियो उपस्थितिलाई आधार देखाउँदै उच्च प्रिमियमको अपेक्षा गरेको हो। यद्यपि, यो मूल्यमा संस्थागत लगानीकर्ताहरू सहमत हुन्छन् वा हुँदैनन् भन्ने कुरा अब हुने औपचारिक बिडिङले नै तय गर्नेछ।

त्यसैगरी, जगदम्बा स्पिनिङ मिल्सले पनि आफ्नो आईपीओको तयारी गरिरहेको छ। विष्णु न्यौपानेको मुख्य लगानी रहेको यस कम्पनीले आफ्नो प्रस्पेक्टसमा शेयरको मूल्य ६०० देखि ७०० रुपैयाँको बिचमा रहने सङ्केत गरेको छ। उत्पादनमूलक क्षेत्रको कम्पनी भएकाले यसले आफ्नो स्थिर सम्पत्ति र विगतको नाफालाई आधार बनाएर यो मूल्य प्रस्ताव गरेको हो। यी दुवै कम्पनीहरू अहिले निर्देशिकाको दफा ७ र ८ बमोजिम छलफल कार्यक्रम र रोड-शो सञ्चालन गर्ने तयारीमा छन्। उनीहरूले पनि नर्भिककै पदचाप पछ्याउँदै संस्थागत लगानीकर्ताबाट आशय मूल्य सङ्कलन गर्ने र त्यसपछि नेप्सेमार्फत अन्तिम बिडिङ प्रक्रियामा जानेछन्।

बुक बिल्डिङ निर्देशिकाअनुसार कुनै पनि कम्पनीले यो विधिबाट शेयर निष्कासन गर्नका लागि पछिल्लो तीन वर्षसम्म लगातार नाफामा रहेको हुनुपर्दछ। साथै, कम्पनीको नेटवर्थ चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत हुनुपर्ने कडा प्रावधान पनि राखिएको छ। नर्भिक, फोनपे र जगदम्बा यी मापदण्ड पूरा गरेरै यो प्रक्रियामा आएका हुन्। यी कम्पनीहरूले तयार पारेको प्रस्पेक्टसमा उल्लेख गरिएको मूल्य नै अन्तिम मूल्य भने होइन। निर्देशिकाले स्पष्ट भनेको छ कि योग्य संस्थागत लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको मूल्यभन्दा बढी वा कम मूल्यमा पनि बिड गर्न सक्छन्। जब बिडिङ खुल्छ, तब धेरै लगानीकर्ताले जुन मूल्यमा शेयर माग गर्छन् र जहाँ पुगेर कम्पनीको सबै कित्ता शेयर बिक्री हुने अवस्था आउँछ, त्यही मूल्यलाई 'कट-अफ' मूल्य मानिन्छ।

नेपाली शेयर बजारमा हालसम्म सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले मात्र बुक बिल्डिङ विधिबाट शेयर निष्कासनको अभ्यास गरेका छन्। अहिले प्रक्रियामा रहेका नर्भिक,फोनपे र जगदम्बा जस्ता ठुला कम्पनीहरूको प्रवेशले बजारमा नयाँ उत्साह थप्ने छ। विशेष गरी आज हुने नर्भिकको बिड ओपनिङले अन्य कम्पनीहरूका लागि पनि मूल्य निर्धारणको एउटा मानक खडा गर्नेछ। यदि नर्भिकले प्रस्ताव गरेको ११०० रुपैयाँको मूल्यलाई संस्थागत लगानीकर्ताले स्वीकार गरेमा, यसले अन्य सेवामूलक र प्रविधि क्षेत्रका कम्पनीहरूलाई पनि उच्च मूल्यमा शेयर जारी गर्न बाटो खोल्नेछ। यी तीन वटै कम्पनीहरूले आगामी केही समयभित्रै सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने लक्ष्य राखेका छन्। जसले नेपालको पूँजी बजारको आकार र विविधतालाई अझ विस्तार गर्ने निश्चित छ।

 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।