'अटो इडिआइएस' कार्यान्वयनका लागि सिडिएससीको अग्रसरता, डब्लुएसिसी बन्यो मुख्य चुनौती

May 14, 2026 05:30 AM Merolagani



सुवास निरौला

नेपालको पूँजी बजारलाई थप प्रविधिमैत्री र सहज बनाउने उद्देश्यका साथ सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले 'अटो इडिआइएस' (Auto eDIS) प्रणाली कार्यान्वयनमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

सिडिएससीले आफ्नो १५औँ वार्षिक साधारण सभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा यसलाई उच्च प्राथमिकताका साथ समावेश गरेसँगै लगानीकर्ताहरूमा उत्साह थपिएको हो। प्रतिवेदनको बुँदा नम्बर १२ मा 'हाल भइरहेका कार्यहरू' र बुँदा नम्बर १३ मा 'आगामी कार्य योजना' अन्तर्गत सिडिएससीले इडिआइएस प्रणालीमा सुधार गरी यसलाई पूर्ण रूपमा स्वचालित बनाउने घोषणा गरेको थियो। यो व्यवस्था लागू भएपछि शेयर बेचेका लगानीकर्ताले पुनः 'मेरो शेयर' पोर्टलमा लगइन गरेर हातैले शेयर ट्रान्सफर (EDIS) गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको अन्त्य गर्ने सिडिएससीको प्रमुख योजना हो।

के हो अटो इडिआइएस ?

हालको व्यवस्थाअनुसार, कुनै लगानीकर्ताले स्टक ब्रोकरमार्फत शेयर बिक्री गरेपछि अनिवार्य रूपमा 'मेरो शेयर' मा गएर 'ट्रान्सफर शेयर' को प्रक्रिया पूरा गर्नुपर्छ। यदि लगानीकर्ताले समयमै (कारोबार भएको भोलिपल्टसम्म) इडिआइएस नगरेमा २० प्रतिशत क्लोजआउट जरिवाना तिर्नुपर्ने बाध्यता छ। 'अटो इडिआइएस' लागू भएपछि शेयर बेच्ने बित्तिकै कारोबार प्रणाली (TMS) बाटै स्वचालित रूपमा शेयर ट्रान्सफर हुनेछ। यसले गर्दा लगानीकर्ताले बिर्सिएर हुने जरिवानाको जोखिम शून्यमा झर्नेछ।

प्राविधिक चुनौती: डब्लुएसिसी (WACC) को अवरोध

योजना उत्साहजनक देखिए तापनि यसको कार्यान्वयनमा एउटा ठुलो प्राविधिक अवरोध देखिएको छ। सिडिएससीका प्रवक्ताका अनुसार, 'अटो इडिआइएस' कार्यान्वयनका लागि अहिले मुख्य चुनौती 'WACC' (औसत खरिद मूल्य) गणनाको तालमेल मिलाउनु हो।हालको नियमअनुसार शेयर बिक्री गर्नुअघि वा लगत्तै लगानीकर्ताले आफ्नो खरिद मूल्य (WACC) गणना गर्नुपर्छ। जसको आधारमा पूँजीगत लाभकर निर्धारण गरिन्छ। अहिले डब्लुएसिसी गणना गर्ने कार्य 'मेरो शेयर' मार्फत हुन्छ भने शेयर कारोबार 'टिएमएस' (TMS) बाट हुने गर्दछ। यी दुई फरक प्रणालीलाई एकै ठाउँमा कसरी जोड्ने र शेयर बेच्ने बित्तिकै कसरी स्वचालित रूपमा डब्लुएसिसी र इडिआइएस प्रक्रिया पुरा गर्ने भन्ने विषय अझै टुङ्गो लाग्न सकेको छैन।

छलफल र अध्ययनको चरणमा

सिडिएससीले यस विषयमा स्टक ब्रोकरहरू र टिएमएस निर्माण गर्ने भेन्डरहरूसँग निरन्तर छलफल गरिरहेको जनाएको छ। प्रवक्ताका अनुसार, "शेयर बेच्ने बित्तिकै टिएमएसबाटै अटोमेटिक इडिआइएस होस् भन्ने हाम्रो चाहना हो। तर, डब्लुएसिसी मेरो शेयरमा हुने र कारोबार टिएमएसमा हुने हुँदा यी दुई प्रणालीबिचको प्राविधिक अन्तरसम्बन्ध (Integration) स्थापना गर्न केही समय लाग्ने देखिएको छ।" यी दुई प्रणालीलाई एकापसमा आबद्ध गराउन सफ्टवेयरमा ठुलो परिमार्जन आवश्यक पर्ने देखिएकाले अहिले यो विषय विस्तृत अध्ययन र छलफलकै क्रममा रहेको सिडिएससीले प्रस्ट पारेको छ।

लगानीकर्तालाई फाइदा

यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउँदा नेपालको शेयर बजारको राफसाफ (Settlement) प्रक्रिया थप छिटो र विश्वसनीय हुनेछ। खास गरी नयाँ र प्रविधिमा कम दक्खल भएका लगानीकर्ताका लागि यो कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। जरिवानाको डर हट्ने र समयको बचत हुने हुँदा यसले समग्र बजारको मनोबल उच्च बनाउने विश्लेषण गरिएको छ। सिडिएससीले आफ्नो आगामी कार्य योजनामा यसलाई समावेश गरिसकेकाले ढिलो चाँडो नेपाली शेयर बजारमा 'अटो इडिआइएस' युगको सुरुवात हुने निश्चित देखिएको छ। तर, यसका लागि डब्लुएसिसीको प्राविधिक गाँठो फुकाउनु नै अहिलेको प्रमुख कार्यभार रहेको छ।