परम्परागत बैंकिङ निक्षेपको विकल्पमा होटल, हाइड्रोपावरलगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउँदै सूर्यज्योति लाइफ इन्स्योरेन्स

May 15, 2026 05:24 AM Merolagani



बाबुकृष्ण महर्जन
नेपालको बीमा क्षेत्रमा सुदृढ छवि बनाउँदै गएको सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC)ले आफ्नो ४८ अर्ब रुपैयाँ बराबरको विशाल बीमा कोषलाई सुरक्षित र उच्च प्रतिफलमुखी बनाउन लगानी रणनीतिमा आधारभूत परिवर्तन ल्याएको छ। 

कम्पनीले हालसम्म आफ्नो लगानीको करिब ८० प्रतिशत हिस्सा बैंकिङ प्रणालीमा राख्दै आएको भए पनि पछिल्लो समय वित्तीय बजारमा देखिएको अधिक तरलता र ब्याजदरमा आएको गिरावटले नयाँ क्षेत्र पहिचान गर्न बाध्य बनाएको हो। बैंकहरूको निक्षेपमा मात्र निर्भर रहँदा बीमितलाई दिइने बोनस दरमा समेत संकुचन आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै कम्पनीले ऊर्जा, पर्यटन र भौतिक पूर्वाधार जस्ता ‘वैकल्पिक लगानी’ का क्षेत्रहरूमा आफ्नो ध्यान केन्द्रित गरेको छ।

कम्पनीकाे लगानी रणनीतिबारे प्रस्ट पार्दै सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले भने, –‘बीमा प्राधिकरणको लगानी निर्देशिकाको परिधिभित्रै रहेर आफ्नो लगानीलाई विभिन्न क्षेत्रमा विविधीकरण गरिरहेका छौँ। बैंकहरूमा व्याप्त अधिक तरलता र न्यून ब्याजदरका कारण अहिले बैंकिङ निक्षेपबाट मात्र अपेक्षित प्रतिफल पाउन चुनौतीपूर्ण देखिएको छ। त्यसैले परम्परागत क्षेत्रबाहेक प्राधिकरणले सुझाएका वैकल्पिक लगानीका क्षेत्रहरूमा समेत विशेष ध्यान केन्द्रित गरिरहेका छौँ।’

सीईओ खत्रीको यो भनाइले कम्पनी अब केवल ‘सुरक्षित’ निक्षेपमा मात्र चित्त बुझाएर नबस्ने स्पष्ट संकेत गर्दछ। यसै रणनीतिको प्रतिफलस्वरूप कम्पनीले पर्यटन क्षेत्रमा आफ्नो पदचाप बलियो बनाउन धनगढीमा सञ्चालित पहिलो पाँचतारे होटल ‘होलिडे इन’ मा २५ प्रतिशतको महत्वपूर्ण शेयर हिस्सा लिएको छ। त्यस्तै, नेपालको तुलनात्मक लाभको क्षेत्र मानिएको जलविद्युतमा पनि कम्पनीले सक्रियता बढाउँदै ‘अपर म्याग्दी’ आयोजनामा ठूलो पुँजी परिचालन गरेको छ। यी लगानीहरूले कम्पनीलाई ब्याजदरको उतारचढावबाट जोगाउनुका साथै दीर्घकालीन रूपमा स्थिर मुनाफा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

लगानीलाई अझ बढी व्यावसायिक, पारदर्शी र संस्थागत बनाउन कम्पनीले छुट्टै ‘सूर्यज्योति इन्भेस्टमेन्ट कम्पनी’ र ५० करोड रुपैयाँको ‘सूर्यज्योति फण्ड’ स्थापना गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ। यस्तो विशेष संरचनाले बजारको प्राविधिक विश्लेषण गरी जोखिम न्यूनीकरण गर्न र उच्च प्रतिफल दिने क्षेत्रमा पुँजी परिचालन गर्न मद्दत पुर्याउनेछ।

यसका साथै, कम्पनीले सातै प्रदेशमा आफ्नै प्रशासनिक भवन निर्माण गर्ने लक्ष्य राख्नुले यसको भौतिक सम्पत्ति र संस्थागत उपस्थितिमा समेत गुणात्मक वृद्धि हुने देखिन्छ। यसरी एकातिर बैंकिङ तरलताको चुनौती र अर्कोतिर बीमितको हित संरक्षण गर्नुपर्ने दायित्वका बीच सूर्यज्योति लाइफले चालेको विविधीकरणको यो कदमले नेपालको समग्र बीमा बजारलाई नै लगानीको नयाँ बाटो देखाएको छ।

दोस्रो त्रैमाससम्मको लगानी पोर्टफोलियो

सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२८३ को दोस्रो त्रैमाससम्म आफ्नो कुल ४५ अर्ब ९६ करोड ९० लाख लगानीलाई विभिन्न क्षेत्रमा रणनीतिक रूपमा परिचालन गरेको छ। कम्पनीको सबैभन्दा ठूलो हिस्सा ‘क’ वर्गका वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा २५ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ रहेको छ भने ख र ग वर्गका वित्तीय संस्थाहरूमा क्रमशः ४ अर्ब ६४ करोड र १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको छ। यसका साथै कम्पनीले सूचीकृत कम्पनीहरूको साधारण शेयरमा ४ अर्ब ६४ करोड करोड १४ लाख रुपैयाँ र ऋणपत्र (डिबेन्चर) मा ७ अर्ब ३६ करोड ५७ लाख रुपैयाँ बराबरको पूँजी परिचालन गरेको देखिन्छ।

त्यस्तै अन्य संस्थापक शेयरमा ५९ करोड ७ लाख रुपैयाँ र नागरिक लगानी कोष तथा म्युचुअल फण्डहरूमा ४० करोड ४५ लाख ७२ हजार रुपैयाँ लगानी रहेको छ। साथै, इन्भेष्टमेन्ट कम्पनीहरूको शेयरमा १० करोड रुपैयाँ र कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायतका अन्य प्राथमिकता प्राप्त क्षेत्रहरूमा १२ करोड २० लाख ६० हजार रुपैयाँ लगानी गर्दै कम्पनीले आफ्नो पोर्टफोलियोलाई सन्तुलित र प्रतिफलमुखी बनाउने प्रयास गरेको छ।