मोवाइलको ‘पावर बैंक’ एयरलायन्स कम्पनीहरुको गम्भीर टाउको दुखाईको विषय बन्दै

May 16, 2026 05:10 PM Merolagani



गत मे ५ मा भारतको हैदरावादबाट चण्डीगढका लागि उडेको फ्लाइट ६ ई–१०८ इन्डिगोको एयसलायन्सको जहाज अवतरण भयो । 

अवतरणपछि जहाजको ढोका खुल्न बाँकी नै थियो जहाजमा १९८ यात्रु र चालक दलका ६ सदस्यहरू थिए। जहाज भित्र अचानक आगोको मुस्लो देखियो । आगोले एक यात्रुलाई लपेटिहाल्यो ।

संयोगले आगो तत्कालै नियन्त्रणमा लिइयो र घाइते यात्रुलाई तत्काल अस्पताल लगियो । उनलाई आगोले हल्का पोले पनि छिटै निको भए, आगो तुरुन्तै नियन्त्रणमा लिइएकोले कुनै मानविय र भौतिक क्षति भएन । ‘त्यही घटना जहाज उडिरहेको बेला भएको भए के हुने थियो होला ? एकदमै ठूलो घटना हुने निश्चित थियो’ चालक दलका एक सदस्य भन्छन् ।

जहाजमा आगलागी कसरी भयो ? खोजी गर्दै जाँदा त्यसको रहस्य पत्ता लाग्यो, कुनै यात्रुले बोकेको मोवाइलको ‘पावर बैंक’का कारण आगलागी शुरु भएको रहेछ । अधिकारीहरुले उक्त ‘पावर बैंक’ पनि फेला पारेका थिए । यात्रुले पावर बैंक चार्जमा राख्दा सर्ट भएर आगलागी भएको रहेछ ।

त्यसअघि २०२५ अक्टोबरमा भारतको राजधानी दिल्लीबाट डिमापुरको लागि उडेको इन्डिगो एयरको जहाजमा अचानक आगोको मुस्लो देखियो । छानबिन पछि त्यसको कारण पनि ‘पावर वैंक’ नै रहेको रहस्य खुलेको थियो । त्यसलगत्तै भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले उडानभित्र पावर बैंकबाट चार्ज गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो । कुनै यात्रुले ‘पावर बैंक’ साथमा लैजान लागेको भए त्यसको बारेमा सम्वन्धित एयरलाइन्सलाई जानकारी दिनु पर्ने अन्यथा ‘पावर बैंक’ जफत गरिने सूचना नै जारी गरेको थियो । तर, त्यसको प्रभावकारीरुपमा पालना भैरहेको छैन भन्ने कुरा मे ५ मा भएको इण्डिगो एयरलाइन्सको घटनाले स्पष्ट पारेको छ ।

जानकारहरु ‘पावर बैंक’मा लिथियम ब्याट्री हुने र त्यसमा अलिकति मात्रै ‘ओभर हिटिङ’ हुने वित्तिकै विस्फोटको खतरा उच्च हुने बताउँछन् । आगलागीको अनुसन्धानमा लिथियम ब्याट्री ओभरहिटका कारण आगलागी भएको खुलासा भएको थियो । यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले विमानको मुनि लगेज पार्ट (कार्गो) मा खुला लिथियम ब्याट्री बोक्न कडा नियम लागू गरेको थियो । आइकाओ र इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) दुवैले यात्रुहरूलाई ह्यान्डब्यागमा दुईवटा ‘पावर बैंक’ बोक्न अनुमति दिन्छन्। तर, त्यसको जानकारी विमान कम्पनीलाई दिनु पर्छ र त्यो हाते झोला (ह्याण्डव्याग) बाहेक अन्यत्र राख्न पाइदैन । 

२०१० को सेप्टेम्बरमा दुबईमा भएको विमान दुर्घटनापछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले विमानको मुनि लगेज पार्ट (कार्गो) र यात्रुको सिट मुनी ब्याट्रीहरु बोक्न कडा रोक लगाएको छ । उक्त दुर्घटनामा यूपीएस एयरलाइन्सको कार्गो विमानको कार्गोमा राखिएको लिथियम ब्याट्रीमा आगलागी भएको थियो । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) ले दुबई घटनापछि नै यात्रुहरुको लागि ‘पावर बैंक’ सम्वन्धि निर्देशन जारी गरेका थिए । त्यो अनुसार १०० वाटसम्मको ‘पावर बैंक’हरूलाई अनुमति बिना ‘क्यारीअन ब्याग’ मा राख्न पाइन्छ । १०० देखि १६० वाटसम्मका ‘पावर बैंक’हरू एयरलाइन्सको अनुमति लिएर बोक्न पाइन्छ । त्योभन्दा माथिका ‘पावर बैंक’हरू भने यात्रुहरुले बोक्न पाउंदैनन् । १६० वाटभन्दा माथिका ‘पावर बैंक’हरू यात्रुले बोक्न सक्दैनन् ।

सन २०२२ मा, युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (EASA) ले सीटको नजिक वा सिटमा लिथियम उपकरणहरू राख्ने सम्बन्धमा आफ्नो सुरक्षा रणनीति सम्वन्धि सूचना जारी गरेको थियो । ‘पावर बैंक’हरूमा वाट र कति घण्टा टिक्छ भनेर उल्लेख गरिन्छ । तर मुख्य समस्या यो हो कि अहिले ‘पावर बैंक’हरू धेरै देशका विमानस्थलका सेक्युरिटी स्क्यानरले पढ्न सक्दैन । किनकी केही केही विकसित देश वाहेक अरु देशहरुमा अहिलेसम्म व्याट्रीहरुको वाट क्षमता जाँच गर्ने प्रविधि नै छैन । त्यहीकारण आइकाओ र आईएटीए जस्ता संस्थाहरु बाहेक ‘पावर बैंक’ सम्वन्धि जहाजहरुका नियमहरु पनि अलग अलग छन् ।

जस्तो कि हङकङको एयरलाइन्स क्याथे प्यासिफिक, युएईको प्रमुख एयरलाइन्स एमिरेट्स र सिंगापुर एयरलाइन्सले यात्रुहरूलाई सीटको खल्तीमा पावर बैंक नराख्न सल्लाह दिएका छन्, किनकि त्यहाँ फोम लगायतका आगो छिटो फैलने वस्तुहरु हुन्छन् ।