दस्ताबेजमा पूँजी बजारकाे दीर्घकालीन मार्गचित्र, व्यवहारमा बजारले खोज्यो 'एक्सन'

May 17, 2026 05:39 PM Merolagani



सुवास निरौला

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेको एक महिना भन्दा बढी भएको छ। यस अवधिमा उनले अर्थ मन्त्रालयको कार्यशैलीमा सुधार ल्याएको र नीतिगत गतिशीलता दिएको दाबी गरिरहेका छन्। 

हालै अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले आफूले मन्त्री बनेको ३० दिनमा ३ सय वटा निर्णय गरेको तथ्याङ्क प्रस्तुत गरे। उनले मन्त्रालयको कामलाई प्राथमिकतामा राख्न बाहिरी तामझाम, उद्घाटन, माला–खादा र समारोहहरूमा सहभागी हुने क्रम लगभग बन्द गरेको समेत बताए। तर, अर्थमन्त्रीले 'एक्सन ओरिएन्टेड' भएको दाबी गरिरहँदा नेपालको पूँजी बजार (शेयर बजार) ले भने अर्कै कथा बोलिरहेको छ। मन्त्रीका ३ सय निर्णयको सूचीमा पूँजी बजारका लगानीकर्तालाई तत्काल राहत दिने वा बजारको आत्मविश्वास बढाउने कुनै ठोस कदम नभेटिएपछि लगानीकर्ताहरू निराश बनेका छन्। 

डा. स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त हुँदै गर्दा लगानीकर्तामा एक प्रकारको उत्साह थियो। अर्थतन्त्र बुझेको र अन्तर्राष्ट्रिय अनुभव बोकेको व्यक्ति अर्थमन्त्री हुँदा नीतिगत गाँठो फुक्ने अपेक्षा गरिएको थियो। उनले आफ्ना हरेक सम्बोधन र दस्ताबेजमा पूँजी बजारलाई प्राथमिकता दिने बाचा गरे।

सबैभन्दा पहिले चुनावी बाचा पत्रमा पूँजी बजारका समस्या समाधान गर्ने सपना देखाइयो। त्यसपछि मन्त्रालय सम्हाले लगत्तै जारी गरिएको प्रतिबद्दता पत्रमार्फत आश्वासन पनि दिइयाे। उनले ल्याएको 'स्थिति पत्र' (Status Paper) मा पूँजी बजारको वर्तमान अवस्था र यसका चुनौतीहरूको बारेमा लामो व्याख्या गरिएकाे छ। सरकारको नीति तथा कार्यक्रममा समेत पूँजी बजारको सुधारका बुँदाहरू समेटिए।  लगानीकर्ताहरू भन्छन्, "मन्त्रीज्यूले धेरै दस्ताबेजमा पूँजी बजार लेख्नुभयो, तर एउटा पनि यस्तो निर्णय गर्नुभएन जसले बजारमा तत्काल सुधार ल्याअाेस्।"

अर्थमन्त्री नियुक्त भएको दिन (गत चैत १३ गते अर्थात् मार्च २७) यताको तथ्याङ्क हेर्ने हो भने बजारले ओरालो यात्रा मात्र तय गरेको देखिन्छ। प्राविधिक विश्लेषण (Chart Analysis) अनुसार, मार्च २७ को आसपासमा बजारले एक पटक २९६९.५० को 'हाई' बिन्दु छोएको थियो। डा. वाग्ले आउने आशामा बजारले जुन गति लिन खोजेको थियो, त्यो आशा व्यवहारमा परिणत हुन सकेन। जेठको पहिलो सातासम्म आइपुग्दा नेप्से सूचक २७३१.९४ को बिन्दुमा ओर्लिएको छ।  अर्थमन्त्रीले ३ सय निर्णय गरेको दाबी गरिरहेको महिनामा बजार २३७ अंकले घट्नुले उनको 'निर्णय' र 'बजारको मनोविज्ञान' बीच ठूलो खाडल रहेको पुष्टि गर्दछ। 

शेयर बजार केवल अंकको खेल मात्र होइन, यो लगानीकर्ताको आत्मविश्वास र मनोविज्ञानको प्रतिबिम्ब पनि हो। पूँजी बजारका विज्ञहरूका अनुसार, बजारले 'वाचा' होइन, 'एक्सन' खोजिरहेको छ। एक लगानीकर्ता भन्छन्, "मन्त्रीले माला-खादा लगाउन छोड्नु राम्रो होला, तर बजारमा रगत बगिरहँदा उनले त्यसलाई रोक्ने ब्यान्डेज पनि लगाउन सक्नु पर्छ। ३ सय निर्णयमा एउटा निर्णय मात्रै पूँजी बजारको लागि भएको भए आज नेप्सेको चित्र अर्कै हुन्थ्यो।"

डा. स्वर्णिम वाग्लेको बौद्धिकता र भिजनमा कसैलाई शंका छैन। तर, राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र सीमित हुँदैन। उनले ३० दिनमा गरेका ३ सय निर्णयमध्ये कति निर्णयले आम नागरिक र लगानीकर्ताको जीवनमा प्रभाव पार्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ। अहिले शेयर बजार खुम्चिँदो क्रममा छ। दैनिक कारोबार रकम (Turnover) घट्दो छ। साना लगानीकर्ताको सम्पत्ति दिनदिनै स्वाहा भइरहेको छ। यस्तो अवस्थामा अर्थमन्त्रीले दीर्घकालीन याेजनाका साथसाथै तत्काल काे धरातलीय यथार्थमा काम गर्नुपर्ने देखिन्छ।

नीति तथा कार्यक्रममा "यसो गरिनेछ" भनेर भविष्यको सपना देखाउनु भन्दा "आज यसो गरियो" भनेर एक्सन देखाउनु पर्ने बेला आएको छ। शेयर बजारका लागि बाधक बनेका नीतिगत प्रावधानहरू हटाउन राष्ट्र बैंकसँगको समन्वय र बजारमा तरलता प्रवाह बढाउने ठोस कार्ययोजना नै अहिलेको आवश्यकता हो।