मच्छेनारायणमा एक महिने पुरुषोत्तम मास मेला सुरु

May 17, 2026 12:24 PM Merolagani



काठमाडौँको मच्छेगाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ।

‘मलमास मेला’का रूपमा परिचित यस धार्मिक मेलामा काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाबाट आउने भक्तजनहरूको उल्लेख्य भीड लाग्ने गरेको छ।

हिन्दु धर्मअनुसार पुरुषोत्तम मास भगवान् विष्णुको विशेष उपासना गर्ने पवित्र समय मानिन्छ। यस अवधिमा भगवान् नारायणको पूजा–आराधना, व्रत तथा दान गर्नाले पाप नाश भई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यही आस्थाका साथ हजारौं श्रद्धालुहरू मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन्।

मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडको आकर्षक प्रवेशद्वारले भक्तजनहरूको ध्यान तान्ने गर्दछ। साथै, माछाको मुखबाट प्रकट भएको स्वरूपमा रहेको करिब एक फिट अग्लो भगवान् मत्स्यनारायणको मूर्ति यहाँको प्रमुख आकर्षण हो। 

धार्मिक ग्रन्थहरूका अनुसार भगवान् विष्णुले लिएका दश अवतारमध्ये मत्स्य अवतारलाई पहिलो अवतारका रूपमा लिइन्छ। प्रलयकालमा भगवान् विष्णुले मत्स्यरूप धारण गरी वेदहरूको रक्षा गरेको विश्वास पुराणहरूमा वर्णित छ।