नाईमाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ईभीको मोटर क्षमता परीक्षण, प्रमाणीकरण र प्राविधिक मूल्याङ्कनका विषयमा स्पष्ट एवं एकरूप व्यवस्थाको आवश्यकता औँल्याएको हो। यसअघि नाईमाले अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँगको छलफलमा पनि यो विषय उठाएको थियो।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधनहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण र प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन्। एउटै मोडलका सवारी साधन पनि बजारको आवश्यकता र नियमनकारी संरचना अनुसार फरक–फरक प्राविधिक विशेषतामा उत्पादन हुने सामान्य अन्तर्राष्ट्रिय अभ्यास हो।’
नाईमाले बाह्य जानकारी वा वेबसाइटमा देखिएका विवरणका आधारमा मात्र मोटर क्षमताको निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने स्पष्ट पारेको छ। हाल नेपालमा ईभीको मोटर क्षमता परीक्षण र प्रमाणीकरणका लागि एकीकृत र स्वीकृत राष्ट्रिय प्राविधिक मापदण्ड नहुँदा फरक–फरक व्याख्या भइरहेको संस्थाको ठहर छ।
‘ईभीको प्राविधिक मूल्याङ्कन उत्पादक कम्पनीले जारी गरेको आधिकारिक विवरण र अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाका प्रमाणपत्रका आधारमा गरिनुपर्छ,’ नाईमाले भनेको छ, 'सम्बन्धित सरकारी निकायहरूबीच एकरूप व्यवस्था र कार्यन्वयनका लागि स्पष्ट प्राविधिक कार्यविधि र पूर्वाधार तत्काल विकास गर्न आवश्यक छ।’
अपूर्ण सूचना र फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना भइरहेको भन्दै नाईमाले यसले उपभोक्ताको विश्वास, लगानीको वातावरण र विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकासमा असर पर्न सक्ने चेतावनी दिएको छ।
नेपालको स्वच्छ ऊर्जा उपयोग र हरित अर्थतन्त्र प्रवद्र्धनमा विद्युतीय सवारीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नाईमाले सरकार र सरोकारवाला निकायसँग समन्वय गरी पारदर्शी र व्यावहारिक प्रणाली विकासका लागि आफू प्रतिबद्ध रहेको जनाएको छ। नाईमाले ‘सबैका लागि गतिशील’को अवधारणालाई आत्मसात् गर्दै सरकारसँग मिलेर आर्थिक र औद्योगिक विकासमा सक्रिय रहने संकल्प समेत रहेको दाबी गरेको छ ।