चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक बक्स अफिस प्रतिवेदनअनुसार बैशाख २६ गतेदेखि जेठ २ गते मध्यरातसम्म नेपालभर प्रदर्शनमा रहेका चार चलचित्रहरु ‘परालको आगो’, ‘लालीबजार’, ‘मालती’ मंगले र ‘गुरु आमा’ को कारोबार विवरण सार्वजनिक गरिएको हो।
बोर्डअन्तर्गत सञ्चालित ‘सिनेपाः २ बक्स अफिस’को तथ्यांकअनुसार ‘परालको आगो’ले हालसम्म १ लाख ५१ हजार ९२८ टिकट बिक्री गर्दै ४ करोड २२ लाख २३ हजार ४ सय ३५ रुपैयाँ आम्दानी गरेको छ। यो रकम हाल प्रदर्शनरत अन्य चलचित्रहरूको संयुक्त आम्दानीभन्दा समेत बढी रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, प्रदर्शन मिति अगावै विवादमा परेर समयमै रिलिज हुन नसकेको ‘लालीबजार’ले पछिल्लो समय दर्शकको राम्रो साथ पाइरहेको छ। चलचित्रले हालसम्म १ लाख १४ हजार ४८६ टिकट बिक्री गर्दै ३ करोड ४२ लाख ६१ हजार ७ सय ७९ रुपैयाँ आम्दानी गरेको छ।

यता ‘मालती मंगले’ले १३ हजार ८ सय ९० टिकट बिक्री गर्दै ४४ लाख ७८ हजार ६ सय ८ रुपैयाँ कमाइ गरेको छ भने ‘गुरु आमा’ले ८ हजार ९७४ टिकट बिक्रीबाट २८ लाख ४४ हजार ४ सय ५१ रुपैयाँ आम्दानी गरेको तथ्यांकमा उल्लेख छ।
समग्रमा, नेपाली बक्स अफिसमा ‘परालको आगो’ले आफ्नो प्रभाव बलियो बनाउँदै अग्रता कायम राखेको देखिन्छ भने अन्य चलचित्रहरू दर्शक तान्न प्रतिस्पर्धामा रहेका छन्।