कृषिजन्य उद्योगपछि देशैभर विस्तार गर्न सकिने ठूलो सम्भावना बोकेको हस्तकला क्षेत्रको विकास, विस्तार र बजार प्रवर्द्धन गर्ने उद्देश्यका साथ ३ दिने मेला आयोजना गर्न लागिएको हो। बिहान ११:०० बजेदेखि साँझ ७:०० बजेसम्म सञ्चालन हुने यस मेलामा सर्वसाधारणका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ।
नेपाली हस्तकलाले देशको कला, संस्कृति र सम्पदाको प्रतिनिधित्व मात्र गर्दैन, यसले आर्थिक रूपमा पनि ठूलो योगदान पुर्याइरहेको छ। हाल यस क्षेत्रले देशका लाखौँ नागरिकलाई स्वरोजगारको अवसर सिर्जना गरेको छ भने भारत, चीन लगायत तेस्रो विश्वका देशहरूमा वार्षिक २८ अर्ब रुपैयाँ बराबरका विभिन्न हस्तकला वस्तुहरू निर्यात भइरहेका छन्।
‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ को अवधारणामा आधारित यस मेलामा हस्तकला लगायत नेपाली निकासी सम्भाव्यता भएका वस्तुहरूको करिब ७० वटा स्टलहरू रहनेछन्। मेलाको मुख्य आकर्षणको रूपमा हस्तकला प्रदर्शनी तथा बिक्री कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति, स्थानीय उद्योगी, कलाकार र कालिगढहरूद्वारा प्रत्यक्ष सीप प्रदर्शन, तथा स्थानीय उत्पादन र परम्परागत रैथाने परिकार (Ethnic Food) को स्वाद पस्कने व्यवस्था मिलाइएको छ। यो मेलाले स्थानीय हस्तकला उद्यमीहरूलाई सिधै बजारसँग जोड्ने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, र कालिगढहरूको मनोबल अभिवृद्धि गर्ने विश्वास लिइएको छ। साथै, यसले जिल्ला संघहरूको सबलीकरण र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउनेछ।
मेलामा काठमाडौं उपत्यका भित्रका जिल्लाहरूका साथै संखुवासभा, मकवानपुर, दाङ्ग, बाजुरा, ताप्लेजुङ्ग, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ्ग, तनहुँ, पाल्पा र बागलुङ लगायतका स्थानीय जिल्ला संघहरूको सक्रिय सहभागिता रहनेछ। मेलाको व्यापक प्रचार–प्रसारका लागि डिजिटल माध्यम (ईमेल, इन्टरनेट, सामाजिक सञ्जाल) का साथै ब्यानर र प्रत्यक्ष पत्राचारलाई व्यापक बनाइएको छ।
मेलालाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न क्षेत्रका प्रतिष्ठित संस्थाहरूले साझेदारी गरेका छन्। जसअन्तर्गत प्रमोटेड पार्टनरको रूपमा हेल्भेटास नेपाल, लजिस्टिक पार्टनरमा एभरेष्ट डि कार्गो प्रा. लि. (FedEx), ट्राभल पार्टनरमा लक्की ट्राभल, प्रिन्टिङ पार्टनरमा विजय अफसेट, इन्स्योरेन्स पार्टनरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, र मिडिया पार्टनरमा आर्थिक अभियान राष्ट्रिय दैनिक रहेका छन्। त्यस्तै नेपाल टेलिकम, एनएमबि बैंक, eNepalasa.com र Hopes International Pvt. Ltd. ले सहयोगी संस्थाको रूपमा साथ दिएका छन् भने कार्यक्रमको इभेन्ट म्यानेजरको जिम्मेवारी इभेन्ट संसार डट कमले लिएको छ।