शेयर बजार २ वर्षयताकै न्यून कारोबार, लगानीकर्तामा 'फियर अफ ल'

May 18, 2026 05:57 PM Merolagani



सुवास निरौला

कुनै समय दैनिक झण्डै ३० अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको नेपालको शेयर बजार (नेप्से) यति बेला 'सुकेनास' लागेको बिरामी जस्तो देखिएको छ। 

बजारमा न उत्साह छ, न त परिसूचकमा कुनै ठुलो हलचल। पछिल्लो समय कारोबार रकम लगातार घट्दै जाँदा शेयर बजारको ऐना मानिने नेप्से परिसूचक र कारोबार परिमाण दुवैले बजारलाई 'एनेमिया' (रगतको कमी) भएको संकेत गरेका छन्। सोमबारको बजार तथ्याङ्कले त झन् उदेकलाग्दो चित्र प्रस्तुत गरेको छ। पूरा ४ घण्टाको कारोबार अवधिमा जम्मा २ अर्ब ४५ करोड रुपैयाँको मात्र शेयर किनबेच भयो। प्राविधिक रूपमा भन्नुपर्दा, २०८१ वैशाख २४ गतेयता (करिब २ वर्ष) पूरा समय बजार खुल्दा भएको यो सबैभन्दा न्यून कारोबार हो। यद्यपि, बिचमा सर्किट ब्रेकर लागेर समय अगावै बजार बन्द हुँदा ५५ करोडसम्म कारोबार झरेको रेकर्ड भए पनि, सोमबारको 'सुक्खा' ले बजारमा तरलता र उत्साह दुवैको चरम अभाव रहेको पुष्टि गरेको छ।

शेयर बजारको यो सुस्ततालाई ब्रोकर कार्यालयका सञ्चालकहरूले नजिकबाट नियालिरहेका छन्। भिजन सेक्युरिटीका अद्यक्ष्य राज कुमार तिमिल्सिना अनुसार बजारमा लगानीकर्ताको मनोविज्ञान निकै खस्किएको छ। "आज २ वर्षयताकै सबैभन्दा कम कारोबार देखियो," तिमिल्सिना भन्छन्, "कारोबार रकम सुक्दै जानु भनेको बजारमा लगानीकर्ताको विश्वास गुम्नु हो। ब्रोकर कार्यालयमा आउने लगानीकर्ताहरूमा पहिले जस्तो जोस र जाँगर केही पनि छैन। एक जना साथीले त आज ब्रोकर कार्यालयमा बसेर भन्दै हुनुहुन्थ्यो– बजारको यो हालत हेर्दा आफ्नै घरपरिवारमा कोही मान्छे थला परेको जस्तो पीडा महसुस भइरहेको छ।"

तिमिल्सिना अनुसार बजारलाई यो अवस्थाबाट उकास्न सरकार र अर्थ मन्त्रालयले लगानीकर्ताको आत्मबल बढ्ने गरी काम गर्नुपर्छ। नीतिगत स्पष्टता नभएसम्म र लगानीकर्ताले सुरक्षित महसुस नगरेसम्म बजारमा 'रगत' (कारोबार रकम) फर्किने छाँटकाँट देखिँदैन।

बजार किन घटिरहेको छ र कारोबार किन सुक्यो भन्ने विषयमा अनुभवी लगानीकर्ता केशव कोइरालाको बेग्लै र रोचक विश्लेषण छ। उनी यसलाई 'फियर अफ ल' (कानुनको डर) भन्छन्। कोइरालाका अनुसार ठुला लगानीकर्ताहरू यति बेला पर्ख र हेरको अवस्थामा छन्। किनकि उनीहरूलाई बदलिँदो नियम र कानुनले झस्काएको छ।

कोइरालाले बजारको वर्तमान अवस्थालाई 'बदमास र सरकार' को उदाहरण दिएर प्रस्ट्याएका छन्। उनी भन्छन्, "हाम्रो देशमा अहिलेसम्म धेरै कुरा कानुनभन्दा बाहिरबाट चलिरहेका थिए। अब सबै कुरा कानुनको लिगमा ल्याउन खोजिँदै छ। बाहिर कुद्नेहरू डराएका छन्। बदमासले सबैभन्दा पहिले सरकार र मन्त्रीहरूलाई नै बदमास बनाउन सक्यो भने उसलाई सजिलो हुन्छ र बजार छिट्टै बढ्छ। तर, यदि सरकारले बदमासलाई सुधारेरै लैजान्छु भन्यो भने त्यहाँ समय लाग्छ।" उनको संकेत ठुला खेलाडी र नियामक निकायबिचको शक्ति संघर्षतर्फ छ। "जबसम्म ठुला लगानीकर्ताले सरकारसँग 'सेटिङ' मिलाउन सक्दैनन् वा सरकारले उनीहरूलाई पुरानो कुरा नकोट्याउने आश्वासन दिँदैन, तबसम्म उनीहरूले ठुलो रकम बजारमा हाल्ने छैनन्," कोइरालाले थपे। 

परिसूचकको कुरा गर्दा सोमबार नेप्से १.०३ अंकले घटेर २७३० को बिन्दुमा ओर्लिएको छ। ११९ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घट्यो। १८ कम्पनीको मूल्य भने स्थिर रह्यो। सेक्टरवाइज हेर्दा फाइनान्स, होटेल, बिमा र उत्पादन समूहमा गिरावट देखियो भने बैंकिङ र हाइड्रोपावरमा सामान्य हरियाली देखियो। इङवा हाइड्रोपावरको मूल्य सर्वाधिक ८.४२ प्रतिशतले बढ्दा एसवाई प्यानलको मूल्य ३.६० प्रतिशतले घट्यो। धेरै कारोबार हुनेमा साहस ऊर्जा र रिलायन्स स्पिनिङ मिल्स अगाडि देखिए।

२९ अर्बको कारोबार हुने बजार २ अर्बमा खुम्चिनु भनेको सामान्य समस्या होइन। यो बजारलाई लागेको गम्भीर 'सुकेनास' हो। लगानीकर्ता केशव कोइरालाले भने झैँ, जबसम्म 'फियर अफ ल' हट्दैन वा ठुला लगानीकर्ताहरूले आफू सुरक्षित रहेको महसुस गर्दैनन्, तबसम्म बजारले गति लिन गाह्रो छ।

बजारमा पैसा नभएको होइन, बरु भएको पैसा थन्काएर राखिएको छ। सरकारले पूँजी बजारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी लगानीमैत्री वातावरणको प्रत्याभूति नदिएसम्म नेप्सेको यो सुकेनास निको हुने लक्षण देखिँदैन। बजारलाई फेरि ३० अर्बको उचाइमा पुर्‍याउन 'शेयर बजारका बदमास' र 'नियामक प्रहरी' बिचको यो लुकामारी अन्त्य भई स्वस्थ कानुनको कार्यान्वयन हुनु अनिवार्य छ।