दुई लाख घुस लिएको आरोपमा मालपोतका सुब्बाविरुद्ध मुद्दा दायर

May 18, 2026 05:01 PM Merolagani



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवास्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा ओमबहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीमाथि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोप लगाउँदै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले केही दिनअघि खाम्चालाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा खाम्चाले जीर्ण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा समेतका काम गरिदिएबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।