स्थानीय तहबाटै जग्गा प्रशासनको सेवा सुरु हुँदै: पहिलो चरणमा ३५ पालिका छनौट

May 24, 2026 12:08 PM Merolagani



भूमि व्यवस्था मन्त्रालयले जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्न पहिलो चरणमा ३५ वटा पालिका छनौट गरेको छ। यी पालिकामा आवश्यक न्यूनतम जनशक्ति र प्राविधिक पूर्वाधार तयार हुनासाथ सेवा सुरु हुने मन्त्रालयले जनाएको छ।

आज प्रकाशित सूचनाअनुसार प्रत्येक शाखामा प्रशासनतर्फको १ अधिकृत, नापी अधिकृत वा सर्वेक्षक २, अमिन २, सहायक ४ र कम्प्युटर अपरेटर २ सहितको जनशक्ति हुनुपर्नेछ । प्रविधितर्फ नेलिस (NeLIS) प्रणालीका लागि विशेष कम्प्युटर, ८ सेट डेस्कटप, प्रिन्टर, बायोमेट्रिक र थम्ब क्याप्चर डिभाइस अनिवार्य गरिएको छ।

कनेक्टिभिटीका लागि १०० एमबीपीएसको इन्टरनेट र ५ एमबीपीएसको इन्ट्रानेट (L2) चाहिनेछ। यस्तै, स्रेस्ता व्यवस्थापनका लागि सुरक्षित कार्यकक्ष र सेवाग्राही प्रतिक्षालयको व्यवस्था हुनुपर्नेछ । मन्त्रालयले तोकेको मापदण्ड पुरा गरी पालिकाहरूले प्रमाणित पत्र मन्त्रालयको आधिकारिक इमेलमा पठाउनुपर्नेछ। यो व्यवस्थाले नागरिकलाई जग्गासम्बन्धी कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने झन्झट अन्त्य गर्ने विश्वास लिइएको छ।