शेयर बजारमा रंगको विरोधाभाषः चीन,जापान,कोरियालाई रातो प्यारो हुँदा युरोप-अमेरिका र दक्षिण एशियाली देशहरुलाई हरियो प्यारो, किन ?

Jun 14, 2026 06:27 AM Merolagani



तपाई नेपाल, भारत वा युरोप, अमेरिकाको शेयर बजारको लगानीकर्ता हुनुहुन्छ भने रातो चिन्हले तपाईलाई तर्साउँछ । 

किनकी रातो चिन्हको अर्थ बजार घटेको छ, लगानीकर्ताले पैसा गुमाइरहेका छन् भन्ने हो । अनि हरियो चिन्हको अर्थ बजार बढेको छ र लगानीकर्ताहरुले पैसा कमाइरहेका छन् भन्ने हो ।

तर, चीन, ताइवान, हङकङदेखि जापान वा दक्षिण कोरियामा हुनुहुन्छ भने स्थिति ठ्वाक्कै उल्टो हुन्छ । अर्थात ती देशमा शेयर बजारमा रातो रंगको अर्थ बजार बढ्नु हो, लगानीकर्ताले कमाउनु हो भने हरियो रंगको अर्थ बजार डुब्नु हो, लगानीकर्ताको विचल्ली हुनु हो ।

कतिपय विश्लेषकहरु यसलाई हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्ने पूर्विय र पश्चिमेली दर्शनबीचको लडाईको निरन्तरता भएको दावी गर्ने गर्छन । पृथ्वीको पूर्वी गोलार्ध चीन, जापान, कोरियासहितका देशहरु र युरोप तथा अमेरिकी देशहरुबीच राजनीतिक, आर्थिक र सांस्कृतिकरुपमा मानव सभ्यताको विकास भएदेखि नै प्रतिस्पर्धा रहदै आएको छ । त्यहीक्रममा एउटाको राम्रो पक्षलाई अर्काेले नराम्रो देखाउने र आफूलाई फरक तथा उन्नत देखाउने होड अहिले पनि चलिरहेको छ ।

यसकाे अर्काे मुख्य कारण सांस्कृतिक मान्यता र अर्थतन्त्रको बुझाइ हो । चिनियाँ संस्कृतिमा रातो रंगलाई सौभाग्य, खुशी, समृद्धि र सफलताको प्रतीक मानिन्छ। विवाह, नयाँ वर्ष वा अन्य शुभ कार्यमा रातो खाम दिने चलन छ। त्यसैले स्टक बढ्दा अर्थात् नाफा हुँदा खुशीको प्रतीकको रूपमा रातो रंग प्रयोग गरिन्छ।

 

त्यस्तै चिनियाँ संस्कृतिमा हरियो रंगलाई त्यति शुभ मानिंदैन। यसलाई धोका,असफलता वा बिरामी जस्ता नकारात्मक अर्थमा पनि लिइन्छ। उदाहरणका लागि, चिनियाँ भाषामा कसैको श्रीमतीले धोका दिएमा उसलाई हरियो टोपी लगाएको भनिन्छ।

कम्प्युटर र अनलाइन ट्रेडिङ सुरु हुनुभन्दा अघि, स्टक मार्केटका विवरणहरू छाप्न र देखाउन बुलेटिन वा प्रिन्टेड Ticker Tape प्रयोग गरिन्थ्यो । पश्चिमा देशहरूले ट्राफिक लाइट र डलरको हिसाब किताब (घाटालाई रातो मसीले लेख्ने चलन) बाट प्रभावित भएर रातोलाई घाटा र हरियोलाई नाफा माने। चीन, जापान लगायतका देशहरूले भने आफ्नो सांस्कृतिक पृष्ठभूमिअनुसार नाफालाई रातो र घाटालाई हरियो रंगमा सूचीकृत गरे ।

शेयर बजारमा यसरी शुरु भयो रातो र हरियो रंगको प्रचलन

सन् १८६७ मा अमेरिकामा पहिलो पटक Ticker Tape (मेसिनबाट निस्कने एउटा कागजको पट्टी, जसमा सेयरको मूल्य छापिन्थ्यो) को आविष्कार भयो। सुरुवाती समयमा यी मेसिनहरूले केवल कालो मसी मात्र प्रयोग गर्थे।

त्यसैले, त्यतिबेला मूल्य बढ्यो वा घट्यो भनी देखाउन रङ होइन, अक्षर र चिन्हहरू (जस्तै : जस्तै: U फर Up, D फर Down, वा + र -)  प्रयोग गरिन्थ्यो।

सन् १९७१ मा अमेरिकामा NASDAQ (विश्वकै पहिलो इलेक्ट्रोनिक शेयर बजार) को स्थापना भयो। यसपछि बिस्तारै स्टक मार्केटका फ्लोरहरूमा भित्तामा झुन्ड्याइने ठूला इलेक्ट्रोनिक डिस्प्ले बोर्डहरू प्रयोग हुन थाले।

सुरुवाती इलेक्ट्रोनिक बोर्डहरूमा केवल एउटै रङ (पहेंलो वा हरियो) मात्रै बल्ने प्रविधि  थियो। तर सन् १९७० को दशकको अन्त्य र १९८० को दशकको सुरुवाततिर जब मल्टी कलर LED (Light Emitting Diode) प्रविधि आयो, तब बजारमा पहिलो पटक मूल्यको उतारचढाव देखाउन रङको प्रयोग सुरु भयो।

इलेक्ट्रोनिक स्क्रिनहरूमा रङ राख्ने विकल्प आएपछि पश्चिमा देशहरू (विशेष गरी अमेरिका र युरोप) ले ट्राफिक लाइट र औद्योगिक सुरक्षाको स्थापित नियमलाई अपनाए । जसरी ट्राफिकमा रातोले रोकिए वा खतरा जनाउँछ, त्यसरी नै अकाउन्टिङमा पनि रातो मसीले घाटा जनाउने पुरानो चलन थियो। त्यसैले घट्दो मूल्यका लागि रातो रङ छानियो।

ट्राफिकमा हरियोले अघि बढ्नु वा सुरक्षित अवस्था जनाउने हुनाले बढ्दो मूल्य र नाफाका लागि हरियो रङ तय गरियो।

जब सन् १९८० र १९९० को दशकमा पूर्वी एसियाली देशहरू (चीन, ताइवान, दक्षिण कोरिया) मा आधुनिक इलेक्ट्रोनिक स्टक एक्सचेन्जहरू स्थापना वा अपग्रेड हुन थाले, तिनीहरूले पश्चिमा देशको जस्तै इलेक्ट्रोनिक स्क्रिन त प्रयोग गरे, तर रङ भने आफ्नो संस्कृति अनुसार उल्टो राखिदिए ।

नेपाल, भारतसहित दक्षिण एशियाली देशहरु युरोप र अमेरिकी आर्थिक गतिविधिबाट प्रभावित हुंदै आएकोले त्यसको असर शेयर बजारमा पनि पर्यो । फलस्वरुप रातोलाई खतरा र हरियोलाई उत्साहको रुपमा लिन थालिएको हो भन्नेमा शायद कसैको असहमति देखिदैन ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।