मोहन डाँगीको नेतृत्वमा इप्पानले पायो नयाँ कार्यसमिति, कोषाध्यक्षबाहेक सबै पदमा सर्वसम्मत

Jun 13, 2026 11:53 AM merolagani



स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन भएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा मोहन डाँगीसहित अन्य पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका हुन् । शुक्रबार सम्पन्न इप्पानको २४ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

कोषाध्यक्षबाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो । इप्पानको विधानमा रहेको व्यवस्था बमोजिम अध्यक्ष पदमा मोहनकुमार डाँगी स्वतः चयन भएका छन ।

सो पदका अर्का आकांक्षी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिँदै लामालाई समर्थन गरेपछि सहमतिको बाटो खुलेको हो । उपाध्यक्ष पदमा पनि सहमति जुटेको छ । भरतबहादुर खत्री र भरतप्रसाद नेपालले आफ्नो दाबी छाडेपछि उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, नरेन्द्र बल्लभ पन्त र विक्रम विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, महासचिवमा टीएन आचार्य र उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत चयन भएका छन् । महासचिवका प्रत्याशी प्रकाशचन्द्र दुलालले उम्मेदवारी फिर्ता लिएपछि आचार्यका लागि बाटो प्रशस्त भएको थियो ।

सचिव पदमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, सुमनकुमारी जोशी, ईशा श्रेष्ठ र विजयमोहन भट्टराई चयन भएका छन् । यसैगरी, कार्यसमितिले कृष्णप्रसाद घिमिरे र दीपक पौडेललाई सचिव पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।

अधिकांश पदमा सहमति भए पनि कोषाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो । सो पदमा शंकर बस्याल र मिथुन पौडेलबीच प्रतिस्पर्धा भएकोमा बस्याल २६७ मतसहित विजयी भए ।

पराजित भएका पौडेलले ८२ मत प्राप्त गरेका थिए ।

कार्यसमिति सदस्यहरूमा जगतबहादुर पोखरेल, अनुप आचार्य, कदम केसी, वर्णन लामिछाने, नारायण कँडेल, मिलन खड्का र जगदीश शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् ।

अन्य तीन जना उम्मेदवारहरू इन्दिरा पन्त, सोमनाथ कँडेल र बाबुराम थापाले उम्मेदवारी फिर्ता लिएपछि सदस्यहरूमा पनि सहमति जुटेको हो । यस्तै, महिला सदस्यतर्फ ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला निर्विरोध चुनिएका थिए ।

नयाँ प्रस्तावित विधान अनुसार सोमनाथ कँडेल, इन्दिरा पन्त र बाबुराम थापालाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको छ । आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको इप्पानले जनाएको छ ।

 




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।