हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिमा पहिरो, कामु सीईओले पनि दिए राजीनामा

Jun 24, 2026 12:22 PM Merolagani



सुवास निरौला

हिमालयन रिइन्स्योरेन्स लिमिटेड (हिमालयन री) मा सञ्चालक समिति र उच्च व्यवस्थापनको फेरबदलले संस्थागत संकटलाई झन् गहिरो बनाएको छ। 

कम्पनीले हालै नियुक्त गरेका कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेशकुमार कपुरले पद सम्हालेको ६ दिनमै राजीनामा दिएपछि कम्पनीको नेतृत्व संकट उत्कर्षमा पुगेको हो। नियमित सीईओ निलम्बनमा परेपछि असार २ गते कपुरलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो। तर, आन्तरिक दबाब र अन्योलका बीच उनले असार ८ गते नै राजीनामा बुझाएर बाहिरिएका छन्। यसरी कामचलाउ नेतृत्वकै तत्काल बहिर्गमन भएपछि कम्पनीको प्रशासनिक र व्यावसायिक सञ्चालन प्रणाली पूर्ण रूपमा धर्मराएको छ।

सञ्चालक समितिमा निरन्तर फेरबदलको शृङ्खला

कम्पनीमा गत फागुनदेखि नै सञ्चालक समितिमा तीव्र र लगातार फेरबदल भइरहेको छ। जसले संस्थाको बोर्ड कति अस्थिर छ भन्ने स्पष्ट पार्छ:

  • शेखर गोल्छाको राजीनामा (फागुन २५): तत्कालीन अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिएसँगै सञ्चालक हेरफेरको शृङ्खला सुरु भएको हो। उनको राजीनामा चैत २४ गते स्वीकृत भयो।

  • चैत २४ को पुनर्गठन: गोल्छाको स्थानमा उदयकुमार निरौला नयाँ अध्यक्ष नियुक्त भए। त्यस्तै, साहिल अग्रवालको ठाउँमा शैलेश अग्रवाल र डा. रोहित गुप्ताको ठाउँमा पृथ्वीराज थापालाई बोर्ड सदस्य बनाइयो।

  • चार सञ्चालकको सामूहिक राजीनामा (वैशाख ४): बोर्ड गठन भएको महिना दिन नपुग्दै अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र सुभाष कुमार झुनझुनवालाले सामूहिक राजीनामा दिए। उनीहरूको स्थानमा दीपककुमार मिश्र र आशिषचन्द्र न्यौपाने (स्वतन्त्र सञ्चालक) नियुक्त भए।

  • असार ८ को नाटकीय बैठक: कामु सीईओ कपुरको राजीनामासँगै सोही दिन कालिका फिन्कोर्प प्रालिका प्रतिनिधि दीपककुमार मिश्रले पनि सञ्चालक पदबाट राजीनामा दिए। अर्को संस्थापक शेयरधनी टेली डिरेक्ट प्रालिले आफ्ना प्रतिनिधि पृथ्वीराज थापालाई फिर्ता बोलाउने र आगामी दिनमा हिमालयन रीमा कुनै पनि प्रतिनिधि नपठाउने अप्रत्याशित निर्णय गर्‍यो। सोही बैठकले सञ्चालक समितिमा सागरप्रसाद मुल्मीलाई साधारण शेयरतर्फको सञ्चालक नियुक्त गरेको छ।

बीमा ऐन उल्लंघनको अभियोग र सामूहिक निलम्बन

सञ्चालक समितिमा यसरी निरन्तर पहिरो जानुको मुख्य कारण यसअघि सरकारी स्तरबाट भएको गम्भीर कानुनी कारबाही हो। सरकारी वकीलको कार्यालयले बीमा ऐन, २०७९ को बर्खिलाप हुने गरी आर्थिक हिनामिना गरेको अभियोगमा ४२ जनाविरुद्ध मुद्दा दायर गरेपछि ३२ जना बहालवाला पदाधिकारीहरू एकै पटक निलम्बित भएका छन्। यसैगरी, ८ जना पूर्व पदाधिकारीसहित अन्य व्यवसायीहरू समेत कानुनी कठघरामा तानिएका छन्।यस सामूहिक निलम्बनको चपेटामा परेर हिमालयन रीका साबिकका ८ जना उच्च पदाधिकारीहरू यसअघि नै निलम्बनमा परिसकेका छन्। 

निलम्बनमा परेका पदाधिकारीहरू निम्न रहेका छन्:

१. उपासना पौडेल – प्रमुख कार्यकारी अधिकृत (सीईओ)
२. अमित मोर – सञ्चालक
३. शाहिल अग्रवाल – सञ्चालक समिति सदस्य तथा लगानी समितिका संयोजक
४. रोहित गुप्ता – सञ्चालक समिति सदस्य
.राजीव मोर – सञ्चालक
६. शुभेच्छा खरेल – सञ्चालक
७. सुभाष कुमार झुनझुनवाला – सञ्चालक
८. मनिष कुमार – लगानी समिति सदस्य

कम्पनीका मुख्य हर्ताकर्ता र व्यवस्थापकीय नेतृत्व नै कानुनी कारबाहीमा परेर निलम्बित भएपछि हिमालयन रीको संस्थागत विश्वसनीयता र शेयर बजारमा यसको पूँजीकरणमा ठूलो धक्का पुगेको छ।

प्रतिबन्ध र बेथिति: संकटको सामना गर्दै बिट मारिएको अवस्था

गम्भीर आर्थिक हिनामिना र कानुनी संकटको सामना गरिरहेको यस कम्पनीलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले थप अंकुश लगाएको छ। प्राधिकरणले हिमालयन रिलाई आगामी आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय स्वीकार गर्न पूर्ण रूपमा रोक लगाएको छ। यद्यपि, पुराना बीमितहरूको दाबी भुक्तानी गर्ने कार्य र यसअघि भइसकेका पुनर्बीमा व्यवसायको रेट्रोसेसन गर्ने कार्य भने कम्पनीले जारी राख्न सक्नेछ।

एकातर्फ बीमा प्राधिकरण जस्तो सशक्त नियामक निकायले नयाँ व्यवसाय सञ्चालनमै कडा प्रतिबन्ध लगाएको छ। अर्कातर्फ यस्तो विषम र संकटपूर्ण घडीमा कम्पनीको सञ्चालक समितिमा लगातार भइरहेको सञ्चालकहरूको फेरबदल तथा व्यवस्थापकीय पलायनले संस्थामा चरम बेथिति निम्त्याएको छ। नीतिगत संकट र चरम आन्तरिक अस्तव्यस्तताको यो अनुपम संयोजनले अन्ततः नेपालको पुनर्बीमा क्षेत्रकै साख र संस्थागत सुशासनलाई धराशायी बनाउने जोखिम बढाएको छ।