ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा

Jun 28, 2026 12:46 PM Merolagani



ग्लोबल आईएमई बैंक (GBIME)ले मुलुकमा साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

विश्व लघु, साना तथा मझौला व्यवसाय दिवसको अवसरमा आयोजित कार्यक्रम मार्फत् बैंकले उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसनका लागि देशभरका उद्यमी तथा नवप्रवर्तन सोच भएका व्यक्तिहरुबाट आवेदन आह्वान गरेको छ ।

यस उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिहरुलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आवद्ध व्यवसायहरुलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान, सिप तथा परामर्श प्रदान गर्नु रहेको बैंकले जनाएको छ ।

बैंकको प्रधान कार्यालय कमलादी, काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले उद्यमशाला कार्यक्रमको विधिवत् घोषणा गर्दै कार्यक्रमका लागि आवेदन खुला भएको उल्लेख गरे ।

‘लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैंकले यो प्ल्याटफर्म तयार गरेको हो । सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ,’ उनले भने ।

उद्यमशाला कार्यक्रमअन्तर्गत बैंकले मुख्यतया दुईवटा ढाँचामा सहयोग गर्नेछ । पहिलो इन्क्युबेसन र दोस्रो एक्सिलेरेसन । इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवाहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ । यसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायको सञ्जाल विस्तार र मार्गनिर्देशन प्रदान गरिनेछ ।

त्यसैगरी, एक्सिलेरेसन कार्यक्रमअन्तर्गत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीलाई समेटिनेछ । यस अन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिनेछ ।

यस कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंक तथा वित्तीय संस्थासँगको पहुँच जस्ता महत्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकले जनाएको छ।

ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४, २०२५ र २०२६, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।