घडीको साेखिनदेखि डिजिटल बजारसम्म अभिन शाक्य र गुडरिस्टको रोचक कथा

Jun 28, 2026 06:09 PM Merolagani



निशा ढकाल

समय कसैका लागि केवल अंकको खेल हो, त कसैका लागि जीवनको गति। तर, अभिन शाक्यका लागि भने समय एउटा कला हो, जुन हातको नाडीमा बाँधिने एउटा सुन्दर घडीमा कैद हुन्छ।

११ वर्षसम्म मिडिया र भिडियो प्रोडक्सनको दुनियाँमा आफूलाई तिखारेका अभिन आज नेपालको एउटा पृथक स्टार्टअप गुडरिस्ट मार्फत नेपाली बजारमा घडी संस्कृतिलाई नयाँ उचाइ दिँदैछन्।

११ वर्षसम्म मिडिया, भिडियो प्रोडक्सन र डिजिटल मार्केटिङ क्षेत्रमा अनुभव बटुलेका अभिनले आफ्नो व्यावसायिक यात्रामा एउटा यस्तो क्षेत्र रोजे, जसलाई धेरैले नेपालमा सीमित सम्भावना भएको बजारका रूपमा हेर्थे। तर, अभिनको विश्वास फरक थियो, यदि विश्वास, पारदर्शिता र गुणस्तर सुनिश्चित गर्न सकियो भने नेपालमा पनि घडीको एउटा सशक्त बजार निर्माण गर्न सकिन्छ।

अभिनका अनुसार घडीप्रतिको आकर्षण उनको बाल्यकालदेखि नै थियो। तर, जब उनले नेपालमा गुणस्तरीय घडी खरिद वा बिक्री गर्न खोजे, उनले एउटा ठूलो समस्या देखे, बजारमा डुप्लिकेट र हाई-कपी उत्पादनहरूको बाहुल्यता, मूल्यमा अपारदर्शिता र उपभोक्तामा विश्वासको अभाव।

यही समस्याको समाधान खोज्ने क्रममा उनको भेट साथी दिकेशसँग भयो। दिकेशको परिवार तीन दशकभन्दा बढी समयदेखि घडी मर्मत, संकलन र मूल्यांकन क्षेत्रमा सक्रिय थियो। दिकेशसँग घडीको प्राविधिक ज्ञान र अनुभव थियो भने अभिनसँग डिजिटल मार्केटिङ, ब्रान्डिङ र व्यवसाय विकासको अनुभव।

यी दुई फरक क्षमताको संयोजनले जन्म दियो,‘गुडरिस्ट’, एउटा यस्तो डिजिटल प्लेटफर्म जसले नेपालमा घडी किन्ने, बेच्ने र प्रमाणीकरण गर्ने प्रक्रियालाई नयाँ परिभाषा दिन थालेको छ।

नेपालको डिजिटल बजारमा एउटा पुरानो चलन छ, मूल्यका लागि इनबक्स गर्नुहोस्। तर, अभिनलाई यो अभ्यास कहिल्यै स्वीकार्य लागेन।

'ग्राहकले आफ्नो पैसा खर्च गर्दा पूर्ण जानकारी पाउने अधिकार राख्छन्। विशेषगरी घडीजस्तो मूल्यवान वस्तु किन्दा पारदर्शिता सबैभन्दा महत्वपूर्ण हुन्छ,' अभिन भन्छन्।

यसैले, गुडरिस्टले सुरुदेखि नै खुला मूल्य प्रणाली अपनाएको छ। ग्राहकले कुनै पनि घडीको मूल्य, अवस्था, इतिहास र प्रमाणीकरण विवरण स्पष्ट रूपमा हेर्न सक्छन्। यो कदमले नेपाली अनलाइन बजारमा पारदर्शिताको नयाँ अभ्यास स्थापित गरेको छ।

गुडरिस्टको सबैभन्दा ठूलो विशेषता यसको अथेन्टिकेसन सिस्टम हो। प्लेटफर्ममा बिक्रीका लागि आउने प्रत्येक घडीलाई विस्तृत परीक्षण प्रक्रियाबाट गुजारिन्छ।

दिकेशका बुबाको तीन दशकभन्दा लामो अनुभवलाई आधार बनाएर प्रत्येक घडीको भित्री मेकानिज्म, बाहिरी संरचना, सिरियल नम्बर, पार्ट्सको मौलिकता र समग्र अवस्थाको मूल्यांकन गरिन्छ।

हाम्रो प्लेटफर्ममा आउने हरेक घडी १०० प्रतिशत सक्कली हुन्छ। चाहे त्यो १० हजार रुपैयाँको होस् वा १० लाख रुपैयाँको,अभिन विश्वस्त भएर भन्छन्।

आजको समयमा, जहाँ नक्कली उत्पादनहरूको बजार दिन प्रतिदिन बढिरहेको छ, यस्तो प्रमाणीकरण प्रणालीले उपभोक्ताको विश्वास जित्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

व्यवसाय सुरु गर्दा अभिनलाई लागेको थियो कि नेपालमा घडीप्रतिको गहिरो रुचि राख्नेहरूको संख्या सीमित होला। तर, वास्तविकता फरक निस्कियो।

स्थापनाको छोटो अवधिमै गुडरिस्टसँग पाँच हजारभन्दा बढी घडी पारखीहरू जोडिएका छन्। काठमाडौं उपत्यकादेखि तराईका दुर्गम क्षेत्र, पूर्वदेखि पश्चिमसम्मका ग्राहकहरूले यो प्लेटफर्मप्रति विश्वास देखाएका छन्।

धेरै ग्राहकहरूले आफ्नो पुरानो र दुर्लभ विन्टेज घडी उचित मूल्यमा बिक्री गर्न सफल भएका छन् भने कतिपयले वर्षौंदेखिको सपना पूरा गर्दै आफ्नो मनपर्ने घडी पहिलो पटक खरिद गरेका छन्।

अभिनको बुझाइमा, घडी केवल गहना वा फेसनको साधन मात्र होइन, यो एउटा वैकल्पिक लगानी पनि हो। अभिनको उद्यमशीलताको यात्रा केवल व्यवसायिक सफलता मात्र होइन, सिकाइको यात्रा पनि हो।

सुरुमा उनलाई लाग्थ्यो, उनीलाई जे मन पर्छ, ग्राहकलाई पनि त्यही मन पर्छ। तर, वर्षौंसम्म विज्ञापन र डिजिटल मार्केटिङ क्षेत्रमा काम गरेपछि उनले एउटा महत्वपूर्ण सत्य बुझे।

'व्यापार संस्थापकको रुचिमा होइन, ग्राहकको आवश्यकतामा चल्नुपर्छ। सफल उद्यमीले जहिले पनि आफ्नो उत्पादनलाई ग्राहकको आँखाबाट हेर्न सिक्नुपर्छ', उनी भन्छन्।

नेपालमा अहिले स्टार्टअप संस्कृतिको चर्चा बढ्दो छ। धेरै युवाहरू नयाँ व्यवसायिक योजना बनाइरहेका छन्। तर, अभिनका अनुसार सबैभन्दा ठूलो चुनौती आइडिया होइन, कार्यान्वयन हो। 'आइडिया सबैसँग हुन्छ। तर, सफलता कार्यान्वयनमा लुकेको हुन्छ। धेरै मानिसहरू अत्यधिक विश्लेषण गरेर कामै सुरु नगर्ने अवस्थाबाट गुज्रन्छन्,' उनी भन्छन्।

उनको सुझाव सरल छ, पहिले सुरु गर्नुस्। गल्ती गर्नुस्। अनि ती गल्तीहरूबाट सिक्दै अगाडि बढ्नुस्।

गुडरिस्टको यात्रा नेपालमा मात्र सीमित रहने छैन। अभिनको लक्ष्य अब दक्षिण एसिया हुँदै सम्पूर्ण एसियाली बजारसम्म नेपाली डिजिटल ब्रान्डलाई पुर्‍याउने रहेको छ।

नेपाल जस्तो सानो बजारमा सफल हुन सकिने मोडललाई अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्न सकिन्छ भन्नेमा उनी विश्वस्त छन्। उनको विश्वास छ,यदि गुणस्तर, विश्वास र प्रविधिलाई सही रूपमा संयोजन गर्न सकियो भने नेपाली स्टार्टअपहरूले विश्व बजारमा पनि आफ्नो पहिचान बनाउन सक्छन्।

समयको घडी निरन्तर टिक-टिक गरिरहेको छ। त्यही समयसँगै अघि बढिरहेका छन् अभिन शाक्य र उनको टोली। उनीहरूले केवल एउटा व्यवसाय निर्माण गरिरहेका छैनन् । उनीहरू नेपालमा घडी संस्कृतिको नयाँ इतिहास लेखिरहेका छन्। किनकि, कहिलेकाहीँ घडीले केवल समय मात्र देखाउँदैन,यसले सपना, धैर्यता र सफलताको कथा पनि सुनाउँछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।